• ११ मंसिर २०८१, मङ्गलबार

अध्यक्षको सबभन्दा कडा आलोचक मै हुँ : अर्थमन्त्री शर्मा (भिडियोसहित)

blog

गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २२ गते । 
अर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले सङ्गठन विधि र पद्धतिमा चल्नुपर्ने बताउनुभएको छ । उहाँले पार्टी अध्यक्ष पुष्पकमल दाहालको सबैभन्दा बढी रक्षा  र आलोचक गर्ने पनि आफू भएको  बताउनुभयो ।

उपमहासचिव शर्माले भन्नुभयो, “अध्यक्षको सबभन्दा बढी कडा आलोचक मै हुँ । अध्यक्ष कमरेडको सबैभन्दा बढी रक्षा गर्ने पनि मै हुँ । यो आज तपाईँहरूको अगाडि म भन्न चाहन्छु । नीति र नेतृत्वको रक्षा गर्न सकिएन भने आन्दोलन पनि अगाडि बढ्दैन । आलोचना गर्नुपर्छ । म त प्रचण्ड कमरेडको आलोचक हुँ । आलोचनाले नेतृत्वको रक्षा हुन्छ । चाकडीले रक्षा हुँदैन, लाइनले रक्षा हुँदैन ।”

बुधबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले काठमाडौंमा आयोजना गरेको क्रान्तिकारी फोर्स घोषणा कार्यक्रममा बोल्नुहुँदै अर्थमन्त्री शर्माले पार्टीको विद्यार्थी सङ्गठनमा अलग्गै गतिविधि गर्ने समूहलाई अध्यक्ष पुष्पकमल दाहालले पुल्पुल्याएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो ।

उहाँले अराजकता गर्नेलाई नेतृत्वले पुलपुल्याउने काम खराब भएकाले त्यस्तो कुरा मान्य नहुने बताउनुभयो । पार्टीमा एकले अर्काको विरुद्धमा अध्यक्षसमक्ष कुरा लगाउने प्रवृत्ति रहेको भन्दै उहाँले एउटाको कुरा सुनेर अर्कोप्रति मनमुटाब साँध्ने काम विद्यार्थी सङ्गठनको अध्यक्षले गर्नु नहुने बताउनुभयो । उहाँले चुनावको बेलामा पार्टीभित्र एकले अर्काको भण्डाफोर नगरी एकताबद्ध भएर जानुपर्नेमा जोड दिनुभयो ।

अर्थमन्त्री शर्माले भन्नुभयो, “विद्यार्थी सङ्गठनमा यहाँ त घोषणा गर्दिए हुन्छ, हिजो अर्कै एकनाले गर्दै रहेको अवस्था हो । अब अराजकता गर्ने अनि त्यसैलाई नेतृत्वले पुलपुल्याउने कुरा त्यो खराब कुरा हो, त्यसको आलोचना गरौँ । त्यो कुरा मान्य हुँदैन । सङ्गठन विधिमा बस्नुपर्‍यो । पद्धतिमा बस्नुपर्‍यो । विधि र पद्धतिमा बसेर सङ्गठन गर्ने कुरा हुन सक्दैन ।”

चुनाव नजिकिँदै गएको समयमा कसैको भण्डाफोर गरेर नभई पार्टीमा संयमताका साथ पार्टीलाई एकताबद्ध गर्ने नीति लिएर जनताको जनमत लिनुपर्ने भनाइ उहाँको छ । सही नीति र नेतृत्वको रक्षा गर्ने आफ्नो दायित्व भएको भन्नुहुँदै उहाँले अध्यक्षको सबभन्दा बढी कडा आलोचक र सबैभन्दा बढी रक्षा गर्ने पनि आफू नै भएको दाबी गर्नुभयो ।

उहाँले अहिलेको विद्यार्थी सङ्गठनसँग कुनै मुद्दामा नभएको टिप्पणी गर्नुभयो । उहाँले राष्ट्रको कार्यकारी नेतृत्व, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, राज्यको पुनः संरचना र पहिचानको एजेण्डा पार्टीको भएको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘लोकतन्त्रपछि हाम्रो पार्टीको राजनीतिक एजेण्डा के हो त रु भन्ने कुरा हामीले स्पष्ट हुन जरुरी छ । हुन त, हामीले आठौँ महाधिवेशन गर्‍यौँ । राष्ट्रको नेतृत्व कार्यकारी हुनुपर्छ भन्ने हाम्रो राजनीतिक एजेण्डा हो । दोस्रो, पूर्ण समानुपातिक निर्वाचन प्रणालीको कुरा हो । तेस्रो, हाम्रो राज्य पुनः संरचना भएको छैन । पुनः संरचनाको एजेण्डा हो । चौथो भनेको पहिचानको एजेण्डा हो ।” उहाँले विद्यार्थी सङ्गठनले पनि एजेण्डासहित अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।