• ७ जेठ २०८१, सोमबार

मुटुरोगीलाई तनहुँ समाज हङकङको सहयोग

blog

विरामीलाई सहयोग रकम हस्तान्तरण गरिदै । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, भदौ २२ गते । तनहुँ समाज हङकङले तनहुँको ऋषिङ गाउँपालिका –७ निवासी ४३ वर्षीया मुटुरोगी चन्द्रमाया नेपालीलाई आर्थिक सहयोग गरेको छ । मङ्गलबार ऋषिङ पोखरीभञ्याङस्थित निवासमा पुगी समाजले नगद १ लाख ७९ हजार ४ सय ६०  रुपियाँ हस्तान्तरण गरेको हो ।  

समाजका पूर्व अध्यक्ष भीमराज गुरुङ र समाजसेवी श्रीराम आलेले संयुक्त रूपमा बिरामी चन्द्रमायालाई नगद रकम हस्तान्तरण गर्नुभयो । १५ वर्षदेखि मुटुसम्बन्धी समस्याबाट ग्रसित भई उपचार गराइरहनुभएका नेपालीलाई हङकङ समाजले सहयोग गरेको छ । सन् २०२२ को जुन १५ देखि जुलाई १५ सम्म सङ्कलन गरेको १० हजार ७ सय हङकङ डलर रुपियाँ हस्तान्तरण गरिएको आलेले बताउनुभयो । 

मुटुमा प्वाल परेर १४ वर्षदेखि निरन्तर औषधि सेवन गर्दै आउनुभएकी उहाँको हालै शल्यक्रिया गरिएको थियो । थप औषधि र अन्य पौष्टिक आहारका लागि आर्थिक अभाव परेपछि समाजलाई सहयोगका लागि अपिल गरेको पीडितका श्रीमान् डोलराज नेपालीले बताउनुभयो । 

पोखरास्थित गण्डकी मेडिकल कलेजबाट रोग पहिचान भएपछि उहाँको काठमाडौँस्थित गङ्गालाल हृदयरोग उपचार केन्द्रमा उपचार भइरहेको उहाँले बताउनुभयो । उपचारमा रकम अभाव भएको खबर स्थानीय टोलबहादुर थापाले हङकङमा रहेका आफ्ना दाजु लालबहादुर थापालाई बताएपछि उहाँको सक्रियतामा हङकङमा रहेका नेपालीबाट रकम सङ्कलन गरिएको थियो । 

विगत १० वर्षदेखि तनहुँको शिक्षा, स्वास्थ्य, खानेपानी र दैवीप्रकोप लगायतका क्षेत्रमा सहयोग गर्दैआएको समाजले पछिल्लो समय विभिन्न गम्भीर प्रकृतिका रोगबाट ग्रसित बनेका बिरामीको उपचारमा सघाउँदै आएको काफ्लेले बताउनुभयो ।