• २९ असार २०८२, आइतबार

२१२ औं भानुजयन्ती

साढे तीन करोडको लागतमा घाँसीकुवा र पार्कको पुनर्निर्माण हुँदै

blog

घाँसीकवा र पार्कको गुरुयोजनामा समावेश गरिएको नक्सा । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुुँ, असार २९ गते । 
मेरा इनार, न त सत्तल पाटी केही छन्
जे चिज र धनहरू छन् घरभित्र नै छन्
त्यस घाँसीले कसरी आज दियेछ अर्ति
धिक्कार हो मकन बस्नु नराखी कीर्ति ।

माथिको कविता आदिकवि भानुभक्त आचार्यले ससुराली मानहुँ पुगेर पैदल बाटो फक्रिने क्रममा घाँसीले घाँस काटेर भएको आम्दानीबाट कुवा खनाउने कुरा भनेपछि प्रेरणा पाएर रचना गर्नुभएको थियो । न्यून आयस्तर भएको घाँसीको प्रेरणाबाट भानुभक्तले रामायणलाई नेपाली भाषामा अनुवाद गरी नेपाली भाषाको विस्तार गर्नुभएको थियो । पृथ्वीराजमार्गको मुग्लिन–पोखरा विस्तारको क्रममा भत्किएको भानुभक्तलाई आदिकवि बनाउने प्रेरणादायी तथा पुरातात्विक स्थल घाँसीकुवा र भानु–घाँसी स्मारक पार्कको पुर्ननिर्माणको कार्य अघि बढेको छ ।

भानु–घाँसी स्मृति पार्क संरक्षण समितिको अगुवाइमा पार्कको समग्र पुनर्निर्माण र सौन्दर्य बढाउने योजनासहित विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारिएको हो । घाँसीकुवालाई पुनः सुन्दर र व्यवस्थित बनाउन तीन करोड ५३ लाख रुपियाँको (डीपीआर) तयार भई  काम सुरु भएको भानु–घाँसी स्मृति पार्क संरक्षण समितिका अध्यक्ष अमृत पन्थले जानकारी दिनुभयो ।

पृथ्वीराजमार्ग मुग्लिन–पोखरा पूर्वी सडक विस्तार आयोजनाको पूर्वीखण्डले पार्कको पुनर्निर्माण गर्न प्रतिबद्धता जनाएको पन्थले जानकारी दिनुभयो । डीपीआर अनुसार पार्कमा बाटो, बगैँचा, शौचालय, बस्ने स्थान, पर्खाल, साइनबोर्ड, मञ्च, मूर्ति स्थल, पार्किङ लगायत संरचनात्मक विकासका कार्यहरू समावेश गरिएको छ । पन्थले भन्नुभयो, ‘‘पुनर्निर्माणपछि भानु र घाँसीको स्मृतिलाई उजागर गर्दै सिङ्गो तनहुँको पर्यटन र सांस्कृतिक गन्तव्यको रूपमा समेत यस स्थललाई उचाइ दिने विश्वास गरेका छौं ।’’

यस स्थल तनहुँको गौरव मात्र नभई सम्पूर्ण नेपाली भाषी समुदायको शान भएकाले ऐतिहासिक स्थलको संरक्षणमा स्थानीय, प्रदेश सरकार, सङ्घीय सरकार, पर्यटन विभाग, नेपाली साहित्यका अभियन्ता तथा आम जनसमुदाय सबैको गम्भीर ध्यान जानु आवश्यक रहेको पन्थले बताउनुभयो । व्यास नगर पालिकाका प्रमुख न्यौपानेले न्यून आय भएका कमजोर व्यक्तिले पनि प्रेरणा, माया र शिक्षा दिन सक्दा रहेछन् भन्ने सन्देश घाँसीकुवाले दिइरहेकाले घाँसीकुवाको संरक्षण तथा प्रवद्धनका लागि नगरपालिकाले ध्यान दिएको बताउनुभयो ।

हाल रहेको कुवाभन्दा थोरै तल सारेर घाँसीकुवाको मूल्यलाई स्थापित गर्न लागिएको नगर प्रमुख न्यौपानेले जानकारी दिनुभयोे । घाँसीको सम्झना र सम्मानमा तनहुँको एउटा गाविसको नाम नै ‘घाँसीकुवा’ राखिएको थियो । अहिले यो गाविस व्यास नगरपालिकामा समायोजन भई १२ नम्बर वडा कायम भएको छ । सदरमुकाम दमौलीबाट पूर्वतर्फ करिब पाँच किलोमिटरको दूरीमा घाँसीकुवा पर्छ ।

कुवापारिपट्टि पोल्याङ गाउँमा बस्ने पन्थ थरका ब्राह्मणको बस्ती कुवाको नजिक भएकाले पन्थ नै घाँसी भएको अनुमान गरिएको भानु घाँसी स्मारक पार्क संरक्षण समितिका सदस्य प्रेमप्रकाश भट्टराई बताउनुहुन्छ । गुरु योजना प्राप्त भइसकेकोले पुर्ननिर्माणको कार्य चाँडै नै थाल्ने तयारी भईरहेको पूर्वीखण्डका सूचना अधिकारी विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो ।