• २२ असार २०८१, शनिबार

अब ड्रोनबाट सुरक्षा निगरानी

blog

सचिन पोख्रेल

सुनसरी, भदौ २१ गते । धरान तथा आसपासमा पर्ने नदी खोला, नाला तथा वन जङ्गल क्षेत्रबाट हुने प्राकृतिक स्रोतसाधनको दोहन, खानेपानीको मुहान साथै बजारलगायतका संवेदनशील क्षेत्रको सुरक्षा निगरानी अब ड्रोनबाट गरिने भएको छ। 

धरान उपमहानगरपालिकाका नगर प्रहरीले धरानको समग्र सुरक्षा संवेदनशील क्षेत्रहरूमा ड्रोनबाट निगरानी गर्ने भएको हो। धरानका प्रमुख हर्कराज राई साम्पाङको अवधारणाअनुसार धरानमा विभिन्न खोला, नाला, वन क्षेत्रलगायत बजारसमेतको निगरानीमा नगर प्रहरीले ड्रोन प्रयोग गर्न थालेको हो। 

धरानको स्थानीय सर्दु, खर्दु र निशाने खोलामा भइरहेको वृक्षारोपण, खानेपानीको मुहान निर्माण तथा सरसफाइ अभियानको निगरानी गर्ने काम ड्रोनबाट गर्न सुरु गरिएको प्रमुख साम्पाङले बताउनुभयो। केही दिनअघि खरिद गरिएको ड्रोनको सर्दु खोला क्षेत्रमा प्रमुख साम्पाङलगायत नगर प्रहरी, नगरपालिकाका प्राविधिकसमेतको उपस्थितिमा परीक्षण उडान गरिएको छ। 

भौगोलिक विकटता भएको विभिन्न स्थानमा नियमित हिँडेर त्यहाँको अवस्था बुझ्न पुग्नुभन्दा ड्रोनबाट हेरेर निगरानी गर्न प्रभावकारी हुने बताइएको छ। यस क्रममा सर्दु, खर्दु, निशाने र पकुवा खोला क्षेत्रका साथै धरानका अन्य भौगोलिक हिसाबले विकटता रहेका वन जङ्गल, डाँडा पाखालगायतका क्षेत्रमा हुने विकृति र विसङ्गतिको निगरानी अबदेखि नगर प्रहरीले ड्रोनबाट गर्ने धरानका नगर प्रहरी प्रमुख विष्णु कोइरालाले बताउनुभयो। 

यसबाहेक धरान बजार क्षेत्रको निगरानी गर्न र आवश्यकताअनुसार अन्य क्षेत्रमा पुगेर भिडियो र तस्बिर लिनका लागि पनि ड्रोनको प्रयोग गरिने बताइएको छ।

धरान उपमहानगरपालिकाले फाइभ के प्रविधिको क्यामरा जडित सो ड्रोन उडाउनका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीबाट अनुमतिसमेत लिइसकेको छ।