• २२ असार २०८१, शनिबार

गुल्मीमा नेकपा एस र नेकपा एमालेबीच पार्टी एकता

blog

तिलाचन पाण्डे
तम्घास, भदौ २० गते ।
 गुल्मीमा नेकपा (एकीकृत समाजवादी) र नेकपा (एमाले) बीच पार्टी एकता भएको छ । सोमबार नेकपा एमालेको पार्टी कार्यालयमा पार्टी एकताको घोषण भएको हो ।

पार्टी एकता घोषण कार्यक्रममा बोल्नुहुँदै समाजवादी जिल्लाका अध्यक्ष नरेश भण्डारी र इन्चार्ज गणेश खनालले अहिलेको नेतृत्वले आफूभन्दा पनि अरूलाई बलियो बनाउने गरी लागेकाले पार्टीमा रहनुको औचित्य नभएको बताउनुभयो ।

आफूहरूले स्थानीय तहको निर्वाचनमै एमालेसँग तालमेल गरेर अगाडि बढ्नेभन्दा पनि केही प्राविधिक कारणले सफल बन्न नसकेको उहाँहरूको भनाइ छ ।

नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले गुल्मीबाट एकताको राम्रो सन्देश दिएको बताउनुभएको छ । उहाँले ढिलै भए पनि समाजवादीका साथीहरूले राम्रो सन्देश दिएको भन्दै एमालेमा सबै पार्टी अटने भन्दै सबै गोलबद्ध हुन आग्रह गर्नुभएको छ ।

उहाँले प्रतिपक्षका विरुद्ध सत्ता पक्षले मोर्चावन्दी गरेको पहिलो घटना भएको भन्दै एमाले नै देशको प्रमुख शक्ति भएको दाबी गर्नुभएको छ ।

यता समाजवादीका जिल्ला उपाध्यक्ष राममल्ल ठकुरीले पार्टी अध्यक्ष र इन्चार्जले पदको दुरुपयोग गरेको आरोप लगाउनुभएको छ ।

समाजवादी र एमालेबीच पार्टी एकता भएको भन्ने पूर्णरुपमा भ्रम भएको बताउँदै हल्लाको पछि नलाग्न उहाँले आग्रह गर्नुभएको छ ।

पार्टीका उपाध्यक्षहरू राममल्ल ठकुरी, चन्द्र सुनार र जिल्ला सह इन्चार्ज गणेश विश्वकर्माले एक प्रेस विज्ञप्ति जारी गर्दै खनाल र भण्डारी बाहेक सबै जिल्ला कमिटी गोलबद्ध रहेकाले भ्रममा नपर्न सबै पार्टी सदस्यहरूलाई आग्रह गरिएको छ ।