• ७ पुस २०८१, आइतबार

खयरमाराको जोखिममा खयरमारा, चौध हजार गाउँले त्रासमा

blog

रवीन्द्र उप्रेती 

बर्दिबास, भदौ २० गते । जिल्लाको सुदूरउत्तरवर्ती खयरमारा गाउँ खोलाको जोखिममा छ। गाउँपूर्वको खयरमारा खोलाबाट कटान, डुबान र भूक्षयजस्ता प्रकोपको चपेटामा परेकाले यहाँको बस्ती अस्तित्वको सङ्कटमा छ। खयरमारा गाउँको शोक बनेको खयरमाराको नदी प्रणाली विगत वर्षदेखि पश्चिम सोझिएको छ। खोलाले गाउँलाई च्याप्दै लगेको छ। 

जोखिममा परेको खयरमारा यसअघि आफैँमा गाउँपालिका थियो। पुनर्संरचनापछि यो बर्दिवास नगरपालिकाको १० र ११ नम्बर वडा बन्यो। दुवै वडा गरी १४ हजारभन्दा बढीको बसोबास छ। गाउँमा सामुदायिक र संस्थागत गरी एक दर्जनभन्दा बढी विद्यालय छन्। मधेश प्रदेशमै उत्कृष्ट मानिएको निर्मल लामा बहुप्राविधिक शिक्षालय र व्यापारिक केन्द्र खयरमारा बजार पनि यही खोला तटमा छ। 

पहिले यहाँको खोला स्थानीयका लागि वरदान थियो। विगतमा यो खोलाबाट सभ्यता बग्ने गरेको गाउँलेको भनाइ छ। यही खोलाको पानीले यताका जग्गा सिञ्चित हुन्थे। प्रशस्त माछा पाइन्थे। बस्तीको तिर्खासमेत यही खोलाले मेट्ने गथ्र्यो। नदी तटका सदाबहार र पौष्टिक घाँसे मैदानले पशुपालन फस्टाएको थियो।

बर्सातका बेला चुरेबाट बगेर आएको पाँगो माटोले यहाँको जग्गा उर्वर बनाएको थियो। रासायनिक मल आवश्यक थिएन। प्रचुर उत्पादनले गाउँको मुहार उज्यालो थियो। सरसफाइदेखि चाडपर्व र मर्दापर्दासम्म यही खोलाको भरोसा थियो। त्यही गुणले गाउँको नामकरण नै यही खोलाको नामले गरियो– खयरमारा। 

लामो कालखण्डपछि भने यो एउटै नामले दुई अर्थ बोक्न थाल्यो। एउटा पीडित खयरमारा र अर्को पीडक खयरमारा अर्थात् बस्ती खयरमारा र खोला खयरमारा। पीडित गाउँलेका अनुसार अहिले ‘खयरमाराको जोखिममा खयरमारा’ भएको छ। 

खयरमारा–११ की लक्ष्मी गेलालको घर पनि खोलाछेउको बस्तीमा छ। जब खोलामा बाढी र वर्षा आउँछ, पूरै गाउँको निद्रा हराउने गरेको उहाँको भनाइ छ। बस्तीतर्फ सोझिएको खोलामा उर्लिएर आएको बाढीले कुन बेला तहसनहस पार्ने हो अनुमान गर्न सकिन्न। उहाँ भन्नुहुन्छ, “खोला नियन्त्रण नगरे खयरमाराको अस्तित्व नै लोप हुने अवस्था छ।”

अर्का गाउँले अर्जुन बस्नेतका अनुसार नदी नियन्त्रण झारा टार्ने हिसाबले गर्दा जोखिम बढ्दै गएको हो। योजनाबद्ध ढङ्गमा नियन्त्रण गर्नुपर्ने उहाँको भनाइ छ। गत वर्षको बाढीले बस्तीतर्फ कटान गर्न थालेपछि मधेश प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवको पहलमा बजार क्षेत्रमुनि करिब १० मिटर तटबन्ध निर्माण गरिएको छ तर यस्तै तटबन्ध गाउँको पुछारसम्म गर्नुपर्ने गाउँलेको माग छ। 

गाउँलेहरू दीर्घकालीन रूपमा खोला नियन्त्रण नगरिए यसको जोखिम दक्षिणवर्ती भेगमा समेत पर्ने बताउनुहुन्छ। चुरे प्रणालीबाट सिर्जित यो खोलामा बस्तीदेखि करिब तीन किमि दक्षिण गएर टुटेश्वर खोलामा मिसिन्छ र त्यो सङ्गमपछि मडाहा खोला सुरु हुन्छ। मडाहा महोत्तरीको जोखिमपूर्ण तीन प्रमुख खोलामध्येको हो; जो चारकोसे झाडी र पूर्वपश्चिम लोक मार्ग छिचोल्दै भारतीय सीमासम्म फैलिएको छ। यसको चपेटामा दक्षिणवर्ती दर्जन बस्ती पर्ने गरेका छन्। 

यसबीच आसारे बाढीले बस्तीतर्फको दुई÷तीन ठाउँमा कटान गरेको छ। बाढीले पारिको टुटेश्वर जाने बाटो बगाएपछि गाउँले घुमाउरो बाटो प्रयोग गर्न बाध्य छन्। “साउनमा खासै पानी नपर्दा जोखिम भएन, बादल लागेपछि रातभर निद्रा लाग्दैन,” गेलालले पीडा पोख्नुभयो। यो पीडा सबै गाउँलेको साझा हो। जोखिम बढेपछि नदी नियन्त्रणका लागि नगरदेखि सदरमुकामसम्म आग्रह गरे पनि सुनवाइ नभएको गाउँलेको दुःखेसो छ। 

यसबीच बर्दिबास नगरप्रमुख प्रह्लाद क्षेत्रीलगायतको टोलीले स्थलगत निरीक्षण गरिसकेको छ। जिल्लाका प्रशासन र सुरक्षा प्रमुखले समेत घटनास्थल अवलोकन गरेकाले गाउँले नदी नियन्त्रण हुने आसमा रहेको बस्नेतले बताउनुभयो। 

नगरप्रमुख क्षेत्रीले ‘च्यानलाइज’ तथा स्पर लगाएर नियन्त्रण गरिने आश्वासन दिनुभए पनि वचन दिएको तीन महिना बित्न लाग्दा पनि काम अघि नबढेको गाउँलेको गुनासो छ।