• २५ असार २०८१, मङ्गलबार

नागरिकता पाउन वर्षौंदेखि सङ्घर्ष

blog

जनार्जन खत्री

सर्लाही, भदौ २० गते । सर्लाहीको चन्द्रनगर गाउँपालिका–२, बबरगञ्जकी मुकेश्री माझी ५५ वर्ष पुग्नुभयो तर अहिलेसम्म उहाँको नागरिकता बनेको छैन। 

मुसहर समुदायकी माझी नागरिकताका लागि वर्षौंदेखि सङ्घर्षरत हुनुहुन्छ। “नागरिकताका लागि कहाँ–कहाँ पुगेँ तर अझै बनेको छैन, अब त आस पनि मरिसक्यो,” माझीले भन्नुभयो, “श्रीमान्को चार वर्षअघि मृत्यु भइसक्यो अब मेरो नागरिकता कसले बनाइदिन्छ ?”  नागरिकता नहुँदा उहाँले चार वर्षअघि श्रीमान् बितेपछि पनि अहिलेसम्म सामाजिक सुरक्षा भत्ता पाउनुभएको छैन। आफू वर्षौंदेखि यहीँ बसोबास गरिरहेको भए पनि श्रीमान्को जन्मसिद्ध नागरिकता भएका कारण नागरिकता नपाएको मुकेश्री गुनासो गर्नुहुन्छ। श्रीमान्–श्रीमती दुवैको नागरिकता नभएकै कारण उहाँका छोराछोरीको पनि नागरिकता बनेको छैन। 

बबरगञ्जकी अर्की एकल महिला तारादेवी माझीले भने ५० वर्ष नाघेपछि केही दिनअघि मात्र जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट नागरिकता पाउनुभएको छ। परिवारका अन्य सदस्यको वंशजकै नागरिकता भए पनि झन्झट रहेको र कागजात जुटाउन नसकेको भन्दै तारादेवी ५० वर्षको उमेर हुँदासम्म पनि नागरिकताविहीन भई बस्नुभएको थियो।  

चेतनाको अभावमा आफू बेलैमा नागरिकता बनाउन नगएको र उमेर ढल्किँदै गएपछि नागरिकता बनाउन जाँदा वडाका कर्मचारीले कागजात नै नहेरिदिएको तारादेवीको भनाइ छ। “बेलैमा नागरिकता बनाउनुपर्छ भन्ने चेतना नै भएन, पछि नागरिकता बनाउनुप-यो भनेर वडामा जन्मदर्ता बनाउन जाँदा यस्तो बूढी मान्छेको जन्मदर्ता बन्छ ? भन्दै हप्काएर कागजात फाल्दिए,” माझीले भन्नुभयो, “अहिले भने बल्लतल्ल जन्मदर्ता बनाएर एक महिनाको सङ्घर्षपछि नागरिकता पाएँ, अब भत्ताका लागि वडा कार्यालयमा गएर कागजात पेस गर्छु।” 

मुसहर समुदायका अगुवा युवा पचुलाल माझीले पहुँचकै अभावमा मुसहर समुदाय नागरिकताविहीनको अवस्थामा रहेका बताउनुभयो। “तारादेवीजस्ता मुसहर समुदायमा नागरिकता बन्ने धेरै परिवार छन् तर उनीहरू जन्मदर्ता बनाउन र अन्य कागजात जुटाएर प्रशासनसम्म पुग्नै मुस्किल छ,” माझीले भन्नुभयो, “दिनहुँ मजदुरी गरेर खाने मुसहरहरू प्रमुख जिल्ला अधिकारीको कार्यालयमा हप्तौँसम्म धाएर नागरिकता बनाउन सक्दैनन्, उनीहरूलाई नागरिकताका लागि धाउने कि पेट भर्न काम गर्न जाने भन्ने समस्या छ।”

पटक–पटक सरकारले जन्मसिद्धको नागरिकता खुलाउँदा पहुँच हुनेहरूले नागरिकता बनाउने गरे पनि मुसहरले नागरिकता बनाउनै नसकेका माझी बताउनुहुन्छ। तत्कालीन अगुवाले अन्यलाई वंशजको नागरिकता दिँदा मुसहरलाई भने नबुझ्ने भएकाले जन्मसिद्ध नागरिकता दिलाएको गुनासो माझीले गर्नुभयो। बरहथवा नगरपालिका–८, टाँडीका अक्लु माझी मुसहरले आफ्नो बस्तीका आधाजसोको नागरिकता नरहेको बताउनुभयो। “हामी ६०/७० घरपरिवार मुसहर २०११ सालदेखि यहाँ आएर बसेका छौँ तर धेरैको नागरिकता छैन। जन्मसिद्ध नागरिकता त सरकारले नै रोकेको छ तर बाबुआमाको वंशजकै नागरिकता भएकाले पनि नागरिकता बनाउन सकेका छैनन्। मुसहरको समस्यामा कसैलाई वास्ता छैन,” माझीले भन्नुभयो।  

बुवाआमाको नागरिकता नभएकै कारण मुसहर बालबालिका जन्मदर्ताबाट वञ्चित हुनु परेको छ। टाँडीका नरेशकुमार माझी ३२ वर्ष पुग्नुभए पनि उहाँको नागरिकता बनेको छैन। नरेशको नागरिकता नभएकै कारण वडा कार्यालयले उहाँका चार सन्तानको जन्मदर्ता गराएको छैन। “यहीँ जन्मिएर ३२ वर्ष पुगेँ तर बुवाआमाको जन्मसिद्ध नागरिकता भएका कारण मैले नागरिकता पाएको छैन। असाध्यै दुःख लाग्छ, दैनिक मजदुरी गरेर खाने हामी मुसहरको समस्या सरकारले बुझिदिनुपर्ने हो,” माझीले गुनासो गर्दै भन्नुभयो, “नागरिकता पाएको दिन त कस्तो पो होला भन्ने लाग्छ।”  संसद्का दुवै सदनबाट शुक्रबार मात्रै पारित भएको नागरिकता विधेयक प्रमाणीकरण भए अब नागरिकताविहीन भएर बस्नु नपर्ने मुसहर समुदायले आस गरेका छन्।