• ८ जेठ २०८१, मङ्गलबार

लेखनकै बलमा उभिएको व्यक्तित्व

blog

नलेखी बस्नै नसक्ने तर लेखेको कुरा छपाउन रुचि नभएको लेखक हतपत पाइँदैन । काठमाडौँको कमलपोखरीमा विगत एक दशकदेखि यस्तै परिचय बनाएर बस्नुभएको छ उहाँ । सामाजिक सञ्जालमा आफ्ना सिर्जना राख्न भने प्रायः छुटाउनुहुन्न । लेखेर नथाक्ने साहित्यकारमा पर्नुहुन्छ उहाँ । सात वर्षको उमेरमै संस्कृतमा चार पङ्क्ति कविता सुनाएर मोहन समशेरबाट चार सय रुपियाँ नगद पुरस्कार पाएको हो उहाँले । नेपालीमा लेख्न थालेकै सात दशक नाघिसक्यो ।  

 जीवन बाँच्ने र परिवार पाल्ने मेसोमा स्थिर आसन गर्न नपाउनुभएका उहाँ अचेल कमलपोखरीस्थित आफ्नै घरमा भेटिनुहुन्छ प्रायः ।  साहित्यिक कर्म र सिर्जनामा रम्नुबाहेक अर्थोक खासै दिनचर्या छैन । साहित्यिक कार्यक्रमहरूमा देखिँदा प्रायले चिनिहाल्छन् । ठिक्कको कद, अलि मोटो शरीर, खुइलिएको तालु, प्रायः हाँसिरहने मान्छेलाई कसैले देख्यो भने रमेश खकुरेल भनेको उहाँ हो भनेर भन्नै पर्दैन । आफैँले बनाएको गर्विलो इतिहास, बाबु बाजेको विरासत, जीवन निर्वाह गर्न सुरु गरेका व्यापार पेसा सबै सुन्ने हो र उल्लेख गर्ने हो भने ८० वर्षीय रमेश खकुरेलका वृत्तान्त एक बसाइमा सुनेर सकिँदैन, न त लेखेरै  ।

बुबा कविराज हरिप्रसाद खकुरेल संस्कृतका ज्ञाता, माता  मनोधरा देवीका छोराका रूपमा वि.सं १९९९ सालको असोज २२ गते काठमाडौँको गणबहालमा जन्मिनुभयो उहाँ । ‘बाबुको काखैमा बसेर मैले संस्कृतका श्लोकहरू सुन्न थालेँ र बुबाले कण्ठाग्र पार्न लगाउनुहुन्थ्यो ।’ झन्डै आठ दशकअघिको विगततिर फर्कनुहुन्छ उहाँ । ‘अक्षरारम्भ नगर्दै विभिन्न स्तोत्र पढाइसक्नु भएको थियो । पाँच वर्षको उमेरमा त ब्रह्मचर्य आश्रम (मृगस्थली पशुपति)मा पढ्न पठाउनुभयो । सात वर्षको उमेरमा त संस्कृतमा कविता लेख्ने भइसकेको थिएँ ।’ आफ्नै विगत सम्झेर रोमाञ्चित बन्नुहुन्छ उहाँ । पुरुषार्थ पत्रिकामा २००७ सालमा नेपालीमा कविता प्रकाशित भएपछि नेपाली काव्य–कवितामा रमेश खकुरेलको कलम रोकिएको छैन । महाकाव्य, शास्त्रीय वार्णिक तथा मात्रिक छन्दको उत्थानका लागि उहाँको योगदान विशिष्ट रहेको छ । 

वि.सं. २०२२ सालमा टक्सारमा अधिकृत भएर थालिएको जागिरे जीवनको दुई वर्षमै विराटनगर कर कार्यालय, राजविराज करमा सरुवा भएर प्रशंसासमेत पाउनुभयो । यसैबखत सरकारी कोटाबाट पढ्नका लागि बेलायत पठाउने निर्णय पनि भयो  । त्यतिबेला महिनाको चार सय तलब खाने उहाँले बेलायत जान दुई हजार रुपियाँ तत्कालीन अञ्चलाधीशले माग गरेपछि दिन नसक्दा भ्रष्टाचार गर्छ भन्ने आरोप लगाएपछि छँदाखाँदाको जागिरबाट खोसुवामा पर्नुभयो । यसपछिको उहाँको जीवन ट्रक चालक, मोटरको पार्टपुर्जाको व्यापारी, वेल्डिङ कारखानाको सञ्चालन आदि गर्दै अचेल कमलपोखरीस्थित घरको बहालबाट जीवन निर्वाह गरिरहनुभएको छ । छोराछोरी अमेरिकामा, हामी दुई जना यहाँँ छौँ जत्ति पनि पुग्छ, बरु बेलाबखत साहित्यका लागि खर्च गर्छु र अरूलाई पनि सहयोग गर्दै आएको छु ।  जीवन निर्वाह गर्न २०३० देखि २०५३ सम्म त्रिशूलीको किनारमा ट्रक हाँकेर हिँड्दा पनि कविता लेखन रोकिएन, बरु त्यही अवधिमा कोरिएका हरफहरूले सरिता नानी महाकाव्य जस्तो कृति जन्मन पुग्यो । 

म किन लेख्छु भन्नेबारे विचार मैले धेरै पटक गरेको छु । यसको जवाफ भने मैले आजसम्म पाउन सकेको छैन, यश, अर्थ आदिका प्राप्ति त हुन सकेको छैन बरु साँचो कुराभन्दा तित्राको मुखै बैरी भनेझैँ कतिपय व्यक्तिलाई चिढ्याउने भने भयो होला । तर कुनै विचार वा तीक्ष्ण अनुभूति हृदयमा उब्जेपछि त्यसका लागि सुहाउँदो शब्दको सँगालोबाट अभिव्यक्त नगरुञ्जेल मनमा छटपट भइरहन्छ । प्रस्तुति लयबद्व रूपमा अझ सके सानुप्रास गर्न सकियो भने ज्यादै आनन्द आउँछ । सबै अभिव्यक्ति पद्यमा गर्न नसक्नु मलाई आफ्नै कमजोरी जस्तो लाग्छ र  गद्य शैलीमा भए पनि भावाभिव्यक्ति गरेर सन्तुष्टि लिन बाध्य भएको ठान्दछु । 

जीवनमा धेरैतिर छरिएर पछिल्ला वर्षहरू साहित्यमा केन्द्रित रमेश खकुरेल आफ्ना लेखनबारे भन्दै हुनुहुन्थ्यो । जागिरे जीवन, व्यापार–व्यवसाय, चालक जीवन,  पत्रकारिता (नारद साप्ताहिकको सम्पादक) उहाँको सङ्गीतप्रतिको रुचि  सबै एकातिर पन्छाएर मात्र लेखनमा केन्द्रित हुँदै आउनुभएको छ  उहाँ  । 

किन टाढिनुभयो त अरू क्षेत्रबाट ? 

साहित्य, सङ्गीत र कला सिक्छु भन्दैमा सिकिने र सिकाउँछु भन्दैमा सिकाउन सकिने कुरा होइनन् । मानव मात्रका यी तीन उत्कृष्टताहरूमध्ये एउटै साहित्यको कण मात्र आलोकको प्राप्तिमा पनि मलाई असन्तोष  भने छैन  । दिमागलाई बिल्कुल खाली गरेर, वाग्देवीको इच्छानुसार स्वतः लेखनीको अग्रसरतामा जेजे लेखिन्छन्, ती सबैलाई मैले प्रसादकै रूपमा ग्रहण गर्ने र समाजमा नैवेद्य बाँड्ने गरेको ठान्दछु । अबको जीवन लेखनमै केन्द्रित गरेर बसेको छु तर आफूले लेखेका कुरा पत्रपत्रिकामा दिन छाडेको छु । हिमाल पत्रिकामा कमल बाबु (कमल दीक्षित) को आग्रहमा कविता पठाइरहन्थेँ र छापिन्थे पनि पछि छापिन छाडेपछि मलाई दिक्क लाग्यो, एक किसिमको घमण्ड पनि । मैले झन्डै एक दशकदेखि आफ्ना रचना अरूलाई दिन छाडेँ, लेख्यो, फेसबुकमा राख्यो । 

रमेश खकुरेलको जीवनमा  संयोग मात्र होइन विरोधाभास पनि त्यत्तिकै छन् । बाबुको काखमा बसेर संस्कृतका श्लोक सुन्दै पढ्दै अघि बढेको जीवन अङ्ग्रेजी साहित्य र विज्ञानको अध्ययनसम्म फैलिन पुग्छ । जागिरे जीवनबाट हटेपछि जीवन निर्वाह गर्न ट्रक हाँकेर बिते उहाँको २४ वर्ष । कहिले व्यङ्ग्यका तीखा वाण वा कहिले मुग्धताका  आवेगका पूर्ण रचनाहरू भेटिन्छन् उहाँका । एक ताका हास्य व्यङ्ग्य साहित्यमा पनि निकै सक्रिय उहाँ अहिले यो क्षेत्रबाट टाढिनु भएको छ । भन्नुहुन्छ– एकनासले हास्य व्यङ्ग्य लेखिरहँदा स्तर खस्कँदो रहेछ । कुनै पनि क्षेत्रमा पनि बाँधिनु हुँदैन, बाँधिएपछि अलि गाह्रो हुने रहेछ । अहिलेको जीवन कतैतिर पनि बाँधिएको छैन र त निरन्तर लेखिरहनुभएको छ । यसै मेसोमा उहाँका सङ्क्षिप्त भौतिकी–२०२५, अँगालो–२०२६, घर भाडामा खाली छ–२०४८, सावधान जहाज डुब्दैछ–२०५५, गदर्भ राग–२०५७–कविता सङ्ग्रह, सरिता नानी–२०४९, स्रग्धरा–२०६३, अघोरी–२०७३– महाकाव्य, खासा ल्हासा–२०५८, अडगयात्रा–२०६८–यात्राकाव्य, आफ्नै भूतको कथा–आत्मकथा, २०६३, बहिनीलाई सन्देश–२०५३, बिदाइ–२०५५–खण्डकाव्य र कविता सङ्ग्रह, शिखरिणी–२०७२–खण्डकाव्य, सातै रङ्ग इन्द्रेणी–२०७२–बाल कविता, छोटकरी नेपाली पूजाविधि, आनन्द प्रज्ञा, गीतमाला–२०५९– अनुवादका कृति प्रकाशित भइसकेका छन् । रमेश खकुरेललाई साहित्यमा लागेर असन्तोष भने कहिले भएन रे, आफैँले पालेको सोखमा केको असन्तुष्टि ? एकताका मस्ताना नामले पनि परिचित उहाँ नाम जस्तै स्वभाव देखाउनुहुन्छ– अरूले लेख्लान् र मेरो योगदान देख्लान् भनेर  लेखेको हो र मैले ? सोखले लेखायो, लेख्ने र देख्ने अरूको कुरा । 

कोर्समा अङ्ग्रेजी साहित्यका गद्य, पद्य पढ्दा वड्र्सवर्थ र टाल्सटाय रचना बढी मन पराउने उहाँको रुचिमा ओ हेनरी जी.के. चेस्टरसनको शैली पनि पर्थे । तर पनि कसो कसो लेखनाथको परिष्कृत लेखनी, देवकोटाको भावसाभेल र बालकृष्ण समको ज्ञान सबभन्दा बढी उहाँका प्रिय बन्न पुगे । यी तीनै चिज एकै ठाउँमा उतार्ने प्रयास गर्न मन लाग्छ भन्नुमै  हास्यास्पद ठाने  पनि अपराध भने ठान्नुहुन्न उहाँ । अध्ययन, उमेर र भाषिक ज्ञानले उहाँका रचना, कृतिले सधैँ स्तर चुम्ने यत्न गरिरहेका छन् । धरणीधर पुरस्कार, लेखनाथ  पुरस्कार, उदयानन्द पुरस्कार, बाबा ओमवीरसिंह बस्नेत पुरस्कार, भवदेव पन्त पुरस्कार, छन्द साधना पुरस्कार, खिलशर्म–राजीवलोचन जोशी पुरस्कार आदिबाट सम्मानित भइसक्नु भएका उहाँ विभिन्न पदक, उपाधिबाट पनि सम्मानित भइसक्नुभएको छ । लेखनमा धेरै कलम चलाए पनि उहाँका बारेमा भने खासै कलम चलाएका छैनन् अरूले ।  कविता सुनाउँदा समले हात मिलाएको, सिद्धिचरणले अँगालो हालेको, भरतराज पन्तको मार्गदर्शन, लेखनको पहिलो श्रोता जीवनसङ्गिनी सरला खकुरेलको घचघचाई यी सबैले चुलिनुभएको हो । आफ्नै लेखनको बल त छँदैछ ।