छोरो हत्तपत्त घरमा बनाएको खाना खाँदैन । बाहिरबाहिरै केके खाएर आउँछ । म दिनदिनै गाली गर्छु, बाहिर नखा, होटलका खानेकुरा स्वस्थ्यकर हुँदैनन्, रोग लाग्छ । ऊ भन्छ, घरमा के छ र खानु ! त्यै दाल, त्यै भात, त्यै रोटी, त्यै बाबर, त्यै चाम्रे, त्यै गुन्द्रुक, त्यै फर्सी, त्यै घिरौँला, त्यै साग । मेरो त ब्लड पनि हरिऽऽऽयो भइसक्यो होला ।
म हाम्रा अर्गानिक खानाको महत्त्वबारे सम्झाउने प्रयास गर्छु तर सक्दिनँ । ऊ भन्छ, तपाईंहरू मलाई एक्काइस वर्षदेखि एउटै खानेकुरा कोच्याएको कोच्याइ हुनुहुन्छ । संसारमा खानेकुराका करोडौँ आइटम छन्, तपाईंहरू जम्मा तीनवटा खानेकुरा बनाउनुहुन्छ, दाल, भात, तरकारी । बिहान दाल, भात, तरकारी । बेलुका दाल, भात, तरकारी । सकभर दिउँसो पनि भुटीभात । यो दालभातको पिण्डबाट कहिले छुटकारा पाउने हो !
यसो विचार गर्दा उसले एक्काइस वर्षदेखि र मैले पचास वर्षदेखि यही एउटा दाल, भात, तरकारी खाइरहेका छौँ । अर्थोक कुनै चिज खानलाई त कुनै भोजभतेर नै हुनुपर्छ कि विदेश भ्रमणमै जानुपर्छ । छोराको आक्रोश नाजायज छैन जस्तो लागेपछि म चुप लाग्छु ।
म चुप लागे पनि ऊ चुप लाग्दैन । ठूलो ठूलो स्वरमा गीत घन्काएर बस्छ, कहिले नाच्छ, कहिले गिटार बजाएर गाउँछ । म भन्छु, बाबु अलि सानो स्वरमा बजा न गीत, पल्लो घरका मान्छेलाई डिस्टप हुन्छ । गाली गर्छन् ।
ऊ भन्छ, कस्तो डरलाग्दो हगि यो संसार, झ्यालखाना जस्तो ! खुलेर कुनै काम गर्न पनि पाइँदैन । योसँग डरायो, ऊसँग डरायो, थुरथुर भयो । फ्रिडम भन्ने त छँदैछैन । साँच्चि भनेको बा, संसार यस्तो डरैडरले भरिएको छ भन्ने थाहा भएको भए त म जन्मिने नै थिइनँ । तर के गर्नु, तपाईंहरूको आनन्दका लागि मलाई जन्माइहाल्नु भो । अँ ड्याड्, म मेरो खुसीले यो संसारमा नआएको हुँदा मलाई हजारथरिका दाम्लाडोरीले बाँध्ने कोसिस नगर्नू है, फ्री छाड्नू । नत्र परिणाम नराम्रो पनि हुनसक्छ ।
केटो बेलाबेला हामीलाई तर्साइरहन्छ । यस्तै बाङ्गा र अनौठा कुरा धेर गर्छ । कतै यो जोगी भएर बेपत्ता हुन्छ कि भन्ने डर पनि हामी बूढाबूढीलाई लाग्छ ।
म सोध्छु, तँलाई कसले दाम्लाडोरीले बाँधेको छ ? खुलेआम हिँडिराछस्, चाहेको गरिराछस् ।
मेरो कुरा सुनेर मलाई नै उल्याउँदै ऊ बेस्सरी हाँस्छ र भन्छ, मलाई मात्र होइन तपाईंलाई पनि बाँधेको छ साङ्लाले, अलिकति बोल्ड दिमाग लगाएर सोच्नु न । तपाईंलाई मात्र होइन दुनियाँ सबैको हालत उही हो । को छ यहाँ स्वतन्त्र ? शतप्रतिशत दिमाग कोल्याप्स् भएको मान्छेबाहेक एक जना पनि स्वतन्त्र छैन यो दुनियाँमा । मान्छेले जान्ने भएर आफैँले आफैँलाई काँडेतार लगाएर घेरेकोे छ । कैदी बनाएको छ । आफैँले अनेक तर्साउने स्रोतहरू आविष्कार गरेर आफैँ थुरथुर भएको छ । स्वतन्त्रता भन्ने चिज त कागजमा मात्र हो । तपाईंका लोकतन्त्र, गणतन्त्र, प्रजातन्त्र भनेका त टाइम पास गर्ने बकवास कुरा मात्रै हुन् । कुनै तन्त्रमा पनि मान्छे स्वतन्त्र छैन र कहिल्यै होला जस्तो पनि लाग्दैन । सय, दुई सय वर्षपछि होला कि !
ल हेर्नोस्, ममाथि तपाईंहरूले बिहान उठेदेखि राति सुतेसम्म कतिथरिका नियमकानुन लगाउनुभएको छ ! यो गर्, त्यो नगर् । यति बजे सुतिसक्, यति बजे उठिसक् । ओछ्यान उठा, कोठा सफा गर्, मुख धो, नुहा, दाँत माझ् । योग गर्, ध्यान गर्, हिँड् । बिहान उठेपछि तिर्खा लागे पनि नलागे पनि पानी खा, दिनभरिमा नापी नापी यति लिटर खा । यो खा, त्यो नखा । उमालेर, पकाएर खा । भिटामिन खा, प्रोटिन खा । रेस्टुराँको नखा, घरकै दालभात खा । कुन्नि के, कुन्नि के ।
चारैतिर मेरो स्वतन्त्रता हरण गर्न बसेका भिलेनहरू कति छन् कति ! घरमै छन्, समाजमा छन्, देशमा छन् । मेरो स्वतन्त्रता छिन्न टेढा आँखा लगाएर आफ्नै आमा जतिखेरै मैतिर घुरिरहेको देख्छु । तपाईं आफ्नै बा खाउँला जस्तो गरेर मैतिर हेरिरहनुभा देख्छु । मेरा बा मेरी आमासँग थुरथुर, मेरी आमा मेरै बासँग थुरथुर । म तपाईंहरूसँग थुरथुर, तपाईंहरू मसँग थुरथुर । होइन भने होइन भन्नु ।
यो त दार्शनिक भएर निस्कन्छ कि क्या हो, म मनमनै सोच्न थाल्छु ।
हन्ड्रेड पर्सेन्ट सत्य कुरा यही हो । लु त, तपाईं एकछिन बिन्दास भएर कतै जान कोसिस गर्नुस् त, कसरी तपाईंका चारैतिर शत्रुहरूले घेराउ गर्छन् । आमाले तपाईंमाथि शङ्का गर्दै सोध्नुहुन्छ, कहाँ जान लागेको ठाँटिएर ? भित्रबाट हजुरबाले तर्साउनुहुन्छ, कान्छा काहीँ न जा है, मलाई अलि सन्चो छैन, मेरा दिन त सकिए कि क्या हो ! तपाईं आफैँंले जानाजान जन्माएका हामी छोराछोरीहरू तपाईंलाई कति घुर्की लाउँछौँ, कति
तर्साउँछौँ ! तपाईंलाई आफन्तहरूले सुराकी गर्छन्, छिमेकीहरूका आँखा पछिपछि लाग्छन् । परिचित मात्रै होइन बाटोमा भेटिएका अपरिचित मान्छेहरूले पनि तपाईंलाई केरकार गर्छन् । के थरी हो ? घर कहाँ हो ? कहाँ जान लाग्नुभयो ? के काम गर्नुहुन्छ ? आदि । तिनीहरूसँग पनि तपाईंले तौली तौली बोल्नुपर्छ, कति ढाँट्नुपर्छ । ल हेर्नुस् डर ।
तपाईंको ओछ्यानको तकियामुनि जग्गाको लालपुर्जा पनि थिचिएको मैले देखेको छु । त्यसलाई तपाईंले के थिच्नु, त्यसले तपाईंलाई चेप्टो हुने गरी थिचेको छ । तकियामुनि लालपुर्जा राखेर कसरी स्वतन्त्र भइन्छ ? ल हेर्नोस् यो लालपूर्जा ! यसमा तपाईंको नाम लेखेको छ । यो नामै पनि एउटा साङ्लो जस्तो लाग्छ । नाम, थर, बाबुको नाम, आमाको नाम, पुख्र्यौली, खानदान, धर्म, सम्प्रदाय । यो माखेसाङ्लोमा फसेर कसरी स्वतन्त्र हुन सकिन्छ ! यो लालपुर्जा मालपोत अफिसमा दर्ता छ । अफिसहरू के हुन् ? अफिस, नियम कानुन, संविधान, यिनीहरूले तपाईंहामीलाई स्वतन्त्रता दिन्छन् कि जकड्याउँछन् ? अझै हेर्नोस्, यो लालपुर्जामा कित्ता नम्बर छ, क्षेत्रफल छ, चारकिल्ला छ । यो चारकिल्लाबाट छिरिक्क यताउता निस्कन खोज्नु त, खुकुरी बोकेर काट्न आउँछन् तपाईंका छिमेकी, तपाईंकै दाजु । मार्लान् भन्ने डर, मुद्दा लाइदेलान् भन्ने डर ।
चार किल्ला वरिपरि कत्रो अग्लो पर्खाल ठड्याउनुभएको छ तपाईंले, बाहिरबाट कसैले नदेखून् भनेर । पर्खालभित्र घर छ । अनि के घरभित्र चाहिँ तपार्इं स्वतन्त्र हुनुहुन्छ ? स्वतन्त्र भए घरमा किन गेट हालेको ? गेटभित्र ढोका किन हालेको ? ढोकामा पनि भित्रबाट चुकुल छ, आग्लो छ । झ्यालमा समेत फालामे ग्रिल ठोकेको छ । यसो आफैँले आफैँलाई शिरदेखि पुछारसम्म नियालेर हेर्नोस् त, तपाईंको शरीर तपाईंकै अधिकारमा छ ? छ भने त्यो शरीरमा किन खातका खात लुगा लगाएको ? गर्मीले हपहप हुँदा पनि लँगौटी, कट्टु, लुङ्गी, कछाड, सुराल, पाइन्ट, सर्ट कोट किन भिरेको ? तिनमा पनि इँजार, तुना, फस्नर, टाँक, अनेक गाँठागुँठी र बन्धन किन बनाएको ? कस्तरी बाँधेको आफ्नै ज्यान ! असिनपसिन भएर गर्मी हुँदा पनि लुगासुगा पर फ्याँकेर निर्वस्त्र रुखको शीतलमा सुत्न पाउनुहुन्छ तपाईं ? पाउनुहुन्न । जाडोमा न्यानो घाम लागेको छ, ढुङ्गामाथि लमतन्न परेर सम्पूर्ण शरीरमा घामको तातो लगाउन पाउनुहुन्छ ? पाउनुहुन्न । मान्छेले देखे भने बौलाहा भन्लान् भन्ने डर । मान्छेले नदेखे पनि भगवानले देख्छन् भन्ने पनि त लाग्ला । हैन बा ?
मैले रणभुल्ल पर्दै भनेँ, खै, होला हाओ ।
ऊ त्यहाँ बाहिर हेर्नू, गाडी र मान्छेहरूको भीडले भयभीत सडक छ । सडकमा मान्छेलाई हिँड्न पेटी छ, बार छ, जेब्रा क्रस छ, रातो बत्ती छ, ट्राफिक प्रहरी छ, सिट्टी छ । टाङ जोडेर, हात बाँधेर, सास तानेर बिस्तारै हिँड्नुपर्छ पैदल हिँड्दा पनि, कतै केहीमा ठोक्किएला भनेर थुरथुर, कसैलाई छोइएला भनेर थुरथुर । यही हो तपाईंको स्वतन्त्रता ?
अनि त्यो स्कुल भन्ने यातनागृह कसले, किन खोलेको ? यसले मान्छेलाई आजीवन हातखुट्टा बाँधेर लडायो कि लडाएन ? स्कुल छन्, मास्टर छन्, किताब छन्, किताबमा अक्षरहरू छन्, ह्रस्व छ, दीर्घ छ, व्याकरण छ, शब्दकोश छ, परीक्षा छ, ओ माई गड ! शब्दकोशमा स्वतन्त्रताविरुद्ध कस्ता कस्ता छुराजस्ता घातक, अधिनायकवादी र निरङ्कुश शब्दहरू छन् । जस्तैः मर्यादा, अनुशासन, आदर, कर्तव्य, प्रतिष्ठा, इज्जत, संस्कार, परम्परा, नैतिकता, धर्म, पाप, स्वर्ग, नर्क, कानुन, दण्ड, .... । राम ! राम ! राम !
राम राम भन्दा सम्झेँ, मन्दिर, मस्जिद, चर्च र अनेकथरीका भगवान र देवीहरूका अत्यासलाग्दा धरापहरू कति छन् नि यो संसारमा ! यस्सो घरबाट निस्कन पाएको छैन एउटा भगवान् ढोग खान खुट्टा पसारेर बसेको हुन्छ । अर्को देउता दक्षिणा झार्न जगटा फिँजाएर उठेको हुन्छ । अलि पल्तिर गयो, अर्की देवी ‘पाप’ गरिस् भने खालास् भनेर यत्ति लामो रक्ताम्मे खड्ग उज्याएर तेर्सिएकी हुन्छे । भगवान् पनि कति छन् नि गौँडागौँडामा तर्साउन बसेका ! शङ्ख लिएर, चक्र लिएर, गदा लिएर, त्रिशूल लिएर, भाला लिएर, तातो तेल लिएर, कराई लिएर, आरा लिएर, दाह्रा लिएर । अस्ति मात्रै हैन, पिसाबले च्यापेर हुरुक्क भएर एउटा गल्लीको कुनामा पिसाब फेर्न खोज्दा अबिर दलिएको चेप्टे ढुङ्गोले तपाईंलाई त्यहाँबाट गुडुडु लखेटेको ! तपाईं राम्ररी इँजार पनि नबाँधी दगुर्नुभएको ! अरू त अरू खिएर सिद्धिन लागेका ढुङ्गाका मूर्ति, च्यातिइसकेका कागजका फोटाले पनि तपाईंलाई थुरथुर बनाएको देख्छु म । वेद, मनुस्मृति, पुराण, कुरान, त्रिपिटक, सिमाना, राज्य, सरकार, कानुन, पुलिस, जेल, अदालत, यी सबै तपाईंको स्वतन्त्रता धरापमा पारेर सिध्याउन बसेका सिकारीहरू हुन् । कुरा बुझ्नुस् ।
के गर्छस् त अब, ती सबै डरहरूबाट मुक्त भएर स्वतन्त्र हुन जोगी हुन्छस् त ? भनेर मैले सोधेँ एक दिन ।
मेरा कुनै पनि प्रश्नका उत्तर उसको जिब्रोमै झुन्डिएर बसेका हुन्छन् । भन्यो, नडराउनू बा, म जोगी हुन्न । जोगी किन हुनु ? जोगी चाहिँ स्वतन्त्र छ जस्तो लाग्छ तपाईंलाई ? विचरालाई भिख नपाइएला भन्ने डर, भोकै भइएला भन्ने डर । बास बस्ने ठाउँको पनि चिन्तै हुँदो हो । पुँजीवादी जोगीबाबाका त कुरै भएन, सर्वहारा जोगीले पनि सुरक्षाको डरले कुटी बनाउँछ । कुटीमा पनि छानो छ, छेकाबारा मात्र होइन ढोकामा दरबाजा छ, दरबाजामा गजबार पनि ठोकेकै छ । सायद सिरानेमुनि तरबार पनि लुकाएर राखेको होला । तिनीहरू त तपाईं जति पनि स्वतन्त्र छैनन् । कम्तीमा तपाईं त खुलेआम खसी, कुखुरा काटेर खानुहुन्छ । साथीहरूसँग बसेर रक्सी खानुहुन्छ । तास खेल्नुहुन्छ । मानौँ, इच्छा लागेका ठाउँमा जान तपाईंलाई ‘मर्यादा’ले नदेला, आफ्नै पत्नीसँग एकान्तलीला गर्न त ‘स्वतन्त्र’ हुनुहुन्छ नि ! सन्यासी, जोगी, बाबाहरूलाई त ती सबै कर्म गर्न फलामका चिउरा चपाउनुपर्छ । समाजसँग, भक्तजनहरूसँग थुरथुर हुनुपर्छ ।
मेरो निष्कर्ष छ, यो संसार डरैडरको एक पिण्ड हो । मान्छे नमरी यो पिण्डबाट छुटकारा पाउँदैन ।
यसरी मलाई बारम्बार थुरथुर थुरथुर बनाउने छोरो पनि रातोदिनको दालभातको पिण्डबाट छुटकारा लिन लाग्यो विदेशतिर ।
आफूलाई भने ऊ हिँडेका दिनदेखि फेरि नयाँ थुरथुर सुरु भैगो । छोराले परदेशमा दुःख पाउला भनेर थुरथुर, पढाइ बिगार्ला भनेर थुरथुर, काम नपाएर भोकै भौँतारिएला कि भनेर थुरथुर, बिरामी होला कि भनेर थुरथुर, खराब सङ्गतमा लाग्ला कि, लागूपदार्थहरूको कुलतमा फस्ला कि भनेर थुरथुर । यो जिन्दगी थुरथुर थुरथुरमै बित्ने रहेछ भन्ने कुरो बुझियो ।