• ४ पुस २०८१, बिहिबार

राष्ट्रपति भण्डारीद्वारा तुलाराम पाँडेको तस्बिरमा माल्यार्पण

blog

राष्ट्रपति विद्यादेवी भण्डारीले काजी तुलाराम पाँडेको तस्बिरमा माल्यार्पण गर्नुहुँदै । तस्बिर : मनोजरत्न शाही

काठमाडौं, भदौ १८ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले काजी तुलाराम पाँडेको तस्बिरमा माल्यार्पण गर्नुभएको छ ।

शनिबार काठमाडौंको तलेजु भवानी मन्दिर परिसरमा काजी कालु पाँडे, काजी तुलाराम पाँडे स्मृति प्रतिष्ठानले आयोजना गरेको काजी तुलाराम पाँडेको स्मृति सभामा राष्ट्रपति भण्डारीले काजी पाँडेको स्मरणमा उहाँको तस्बिरमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गर्नुभएको हो ।


टिष्टुङ, पालुङ, दहचोक, गोरखाको विजयी अभियानमा काजी तुलाराम पाँडेले महत्त्वपूर्ण भुमिका निर्वाह गर्नुभएको थियो । स्मृति सभामा राष्ट्रपति भण्डारीले काजी कालुपाँडे श्रद्धाञ्जली पुस्तिका लोकर्पण गर्नुभएको थियो । स्मृति सभामा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोललगायतको उपस्थिति थियो ।

वि.स. १८२५ असोज १४ गते (इ. १७६८ सेप्टेम्बर २६) का राति पृथ्वीनारायण शाहले राजज्योतिष कुलानन्द ढकालको साइत अनुसार कान्तिपुरमा आक्रमण गरेर काजी वंशराज पाँडे तुलाराम पाँडे, केहरसिंह बस्न्यातसाथ पृथ्वीनारायण शाहले एक हजार गोर्खाली तालिमे सिपाही लिएर कान्तिपुर किल्लाको ढोका फोरी एक दल नरदेवी तिरबाट, एक दल भीमसेनस्थान तिरबाट र तेश्रो दल टूँडिखेल तिरबाट हनुमानढोकातर्फ अघि बढेका थिए ।


राजा जयप्रकाश मल्ल खुशीसाथ इन्द्रजात्र मनाइरहेको समयमा गोरखाली आक्रमण हुँदा हतप्रद भएका थिए । अतः ४ घण्टासम्म अव्यवस्थित युद्ध लडेर ३०० अङ्गरक्षक साथ जयप्रकाश मल्ल तलेजुमा सेतो बारुद ओछ्याई पाटनतिर भागेपछि गोर्खाली सेना तलेजुमा प्रसन्नताका साथ विजयोन्मादमा प्रवेश गरेका थिए ।

सोही बेलामा बारुद जल्दा तुलाराम पाँडेसहितका केही सिपाही पिल्सिएर मृत्युवरण गरेका थिए । उहाँकै स्मरणमा आज स्मृति सभा मनाइएको हो । उहाँको कान्तपुर राजदरबार हनुमान ढोकामा देहान्त भएको थियो ।