• ११ पुस २०८१, बिहिबार

केटाकेटीहरूलाई

blog

छाडीदिनुस् निस्फिक्री वर्षात्मा केटाकेटीहरूलाई

थमाइदिनुस् हातमा एउटा छाता पनि

खेलिरहोस् उफ्रँदै गल्ली र चोकहरूमा

सिकोस् प्रकृतिसँग रमाउन आफ्नै तालमा

र, साथीभाइसित जिस्कँदै रूझ्न पनि ।

दिनुस् उनीहरूलाई उपहारमा घाम

आँगनभरि मगमगाइरहोस् उज्यालो

त्यही उज्यालो बोकेर हातहातमा

निर्धक्क हाँसिरहन सकोस् खुला आकाशमा ।

यस्तो माहौल दिनुस् नानीहरूलाई

हुल बाधेर घुम्न सकोस् निर्वाध मेलापातमा पनि

खेलौना र मिठाईका लागि 

आमाबुबालाई घुक्र्याउन सकोस् 

एक मुठी मुस्कानका लागि

टोल थर्काउने गरी रुन पनि सकोस् ।

घरको अघिल्तिर 

एउटा  बाटो होस् तेर्सै तेर्सो 

सोझै नदीको छेउसम्म पुग्ने

त्यहीँ बगरमा खेलोस् उनीहरू

 बनाउँदै, भत्काउँदै, रमाउँदै  सपनाका घर

अनि त्यहीँ नदीको सग्लो जलमा

स्वच्छन्द भै हातमुख धुँदै 

घामका किरणहरूसित जिस्कन सकोस्

लेकबाट आएको सिरेटो घोलिएको हावासित

मनका कुरा खुलस्त पार्दै

इन्द्रेणीका सातै रङ्गहरूसित

रोमान्चित  हुन सकोस् ।