• १० मंसिर २०८१, सोमबार

‘बाआमा’ लोकार्पण

blog

काठमाडौँ, भदौ १८ गते । स्रष्टा रामलाल जोशीको कृति ‘बाआमा’ले सामाजिक दायित्वबोधलाई कथामार्फत उजागर गरेको छ। बुकहिलद्वारा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका नेता गगन थापा, नायक राजेश हमाल, सर्जक नयनराज पाण्डेलगायतले संयुक्त रूपमा लोकार्पण गर्नुभएको पुस्तक ‘बाआमा’ले आफ्ना अग्रज, संस्कारका धरोहरप्रतिको कर्तव्य पुनः सम्झाएको छ। 

कार्यक्रममा नेता थापाले बाआमाप्रतिको जिम्मेवारी पूरा गर्ने सन्दर्भमा नेपालमा डोकोको कथा छ, त्यस्तै चीन, भारतलगायत युरोपियन राष्ट्रमा पनि फरक–फरक विम्ब प्रयोग गरिएको कथा प्रचलित रहेको बताउँदै पुस्तकका कथाले पनि आफ्ना अग्रजको सम्मान र कर्तव्य निर्वाह गर्न सकेको छ कि छैन भन्ने कुराको सम्झना दिलाउने बताउनुभयो। त्यसैगरी सर्जक पाण्डेले पुस्तक बाआमा पढ्ने हरेक पाठकलाई आमाबुवाप्रति आफूले गरेको व्यवहारको सम्झना दिलाउने र गहिरो प्रश्न गर्ने विचार व्यक्त गर्नुभयो। 

कार्यक्रममा नायक हमालले पनि पुस्तक पढ्दा आफ्ना बाआमासँगको सबै यादलाई ताजा गराएको अनुभव सुनाउनुभयो। उहाँले म पुस्तकप्रेमी हुँ, हाल पुस्तक पढ्दा त्यसको भावलाई पनि केलाएर हेर्ने बानी विकास भएको छ, बाआमा पुस्तकमा समेटिएका कथा सबै पाठकलाई आफ्नो जीवनसँग सम्बन्धित विषय लाग्ने विश्वास व्यक्त गर्नुभयो। लेखक जोशीले शिक्षण पेसा छोडेर पूर्णकालीन लेखक बनेरै बाँच्छु भन्ने सोचले यस क्षेत्रमा आएको बताउनुभयो।