• ७ जेठ २०८१, सोमबार

विश्वविद्यालय तालामुक्त बनाउने अभियानमा लागौं : शिक्षामन्त्री पौडेल

blog

६९ औँ वाणिज्य दिवस र नवनिर्मित शैक्षिक भवन उद्घाटनको अवसरमा शंकरदेव क्याम्पसले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै शिक्षामन्त्री देवेन्द्र पौडेल । तस्बिर : कविन अधिकारी

काठमाडौं, भदौ १७ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शैक्षिक क्षेत्रको विकासका लागि विश्वविद्यालय तालामुक्त बनाउने अभियानमा लाग्नुपर्ने बताउनुभएको छ । शुक्रबार ६९औँ वाणिज्य दिवस र नवनिर्मित शैक्षिक भवन उद्घाटनको अवसरमा शंकरदेव क्याम्पसले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै शिक्षामन्त्री पौडेलले सो कुरा बताउनुभएको हो ।

मन्त्री पौडेलले विश्व विद्यालयका समस्या समाधान गरेर तालामुक्त विश्वविद्यालय बनाई शैक्षिक पठनपाठनको व्यवस्था गर्नुपर्ने बताउनुभयो । शिक्षाको सुधारका लागि विश्वविद्यालय र शैक्षिक संस्थाहरु राम्रो हुनुपर्ने धारणा उहाँको छ ।

मन्त्री पौडेलले भन्नुभयो, ‘‘विश्व विद्यालयमा ताला नलगाऔँ, मुक्त बनाऔँ र पठनपाठनको व्यवस्था सिर्जना गरौँ । समस्या छन् तर त्यसलाई समाधान गरौँ । विश्वविद्यालय तालामुक्त बनाउने अभियानमा लाग्नुपर्छ ।’’

मन्त्री पौडेलले नेपालमै उच्च शिक्षाको अध्ययनका लागि के गर्नुपर्छ भन्ने बारेमा विज्ञहरूसँग मन्त्रालय छलफल गरिरहेको पनि बताउनुभयो । नेपालमा उच्च शिक्षा लिन नचाहेर विदेश जाने विद्यार्थीहरूको लहर चलेको भन्दै नेपालमै उच्च शिक्षा प्रदानमा त्रुटि भइरहेको उहाँको भनाइ छ ।

शिक्षामन्त्री पौडेलले भन्नुभयो, ‘‘हामीले नेपालमा उच्च शिक्षालाई योभन्दा माथि पुर्‍याउन के गर्नुपर्छ भन्ने विषयमा केन्द्रित रहेन छलफल गरेका छौँ । विदेशमा विद्यार्थी जाने लहर चलेको छ । सरकार शिक्षा मन्त्रालय गम्भीर छ । रोजगार र पठनपाठनका लागि हामीले अहिले रोक्न नसकौँला आजको परिस्थितिमा । हामीसँग भएको शिक्षा हामीले नै विश्वास गर्न नसक्नु हाम्रो कतै न कतै त्रुटि हो ।’’

उहाँले शंकरदेव क्याम्पसलाई अध्ययनका लागि आवश्यक स्थान उपलब्ध गराउने कुरामा मन्त्रालयले आवश्यक प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘जग्गा प्राप्तिका लागि प्रक्रिया अघि बढाउने कुरामा प्रतिबद्धता जनाउन चाहन्छु । शिक्षा बिना केही राम्रो हुँदैन । शिक्षाको सुधारका लागि विश्वविद्यालय राम्रो हुन आवश्यक छ । केही समय भित्रमा शंकरदेव क्याम्पस यही अवस्थामा नरहने गरी पूर्वाधारको विकास र शिक्षामा जोड दिने हेतुले प्रक्रिया अघि बढाउने विश्वास व्यक्त गर्न चाहन्छु ।’’

मन्त्री पौडेलले शैक्षिक संस्थाहरूको पूर्वाधार विकासमा जोड दिन सरकार लागिरहेको पनि बताउनुभयो ।