शालिग्राम नेपाल
चितवन, चैत २७ गते । समयमा पाठ्यपुस्तक नपाउने अवस्थाको अन्त्य गर्दै जनक शिक्षा सामग्री केन्द्र लिमिटेड बागमती प्रादेशिक कार्यालय भरतपुरले नयाँ शैक्षिक सत्रअगावै पाठ्यपुस्तक पु¥याउने काम गरेको छ ।
पछिल्ला केही वर्ष समयमा पाठ्यपुस्तक नपाउँदा विद्यार्थीको अध्ययन प्रभावित हुँदै आएकामा यो शैक्षिक सत्रअगावै प्रादेशिक कार्यालयले चैत १६ गतेदेखि सात जिल्लामा पाठ्यपुस्तक वितरण कार्य सुरु गरेको हो । नेपाल सरकारले जनक शिक्षा सामग्री केन्द्र लिमिटेड बागमती प्रादेशिक कार्यालय भरतपुरका प्रमुख धनबहादुर केसीले सूचीकृत स्टेसनरी पसलमार्फत विद्यार्थीसम्म पाठ्यपुस्तक पु¥याउने काम भएको जानकारी दिनुभयो ।
“पुस्तक बिक्री गर्ने स्टेसनरी पसल विगतमा कार्यालयमा आएर सूचीकृत गर्नुपर्ने अवस्था थियो । त्यसलाई अन्त्य गरेर आवश्यक कागजपत्र इमेल तथा ह्वाटसएपमार्फत पठाएमा कार्यालयमा सूचीकृत गरिने व्यवस्था गरिएको छ,” उहाँले भन्नुभयो, “भौतिक रूपमा कार्यालयमा आउनु पर्दैन । यसरी सूचीकृत भएका स्टेसनरी पसलमा हामीले माग अनुसारका पाठ्यपुस्तक पठाउँछौँ । पठाएको पाठ्यपुस्तक सम्बन्धित विद्यालयले विद्यार्थीसम्म पुगेको जानकारी वडा कार्यालयको पत्रमार्फत यस कार्यालयमा प्राप्त हुने व्यवस्था गरेका छौँ । यसरी प्राप्त भएपछि ढुवानीबापतको खर्च हामीले स्टेसनरी पसललाई उपलब्ध गराउँदै आएका छौँ ।”
समयमा नछाप्ने, विद्यार्थीमाझ जान ढिलाइ हुने जस्ता विभिन्न समस्या अहिले नभएको उहाँले दाबी गर्नुभयो । अनलाइनमार्फत वितरणको प्रक्रिया गरेकाले झन्झट र समयमा ढिलासुस्ती जस्ता कार्य हटेर गएको कार्यालय प्रमुख केसीले बताउनुभयो ।
कार्यालयका सूचना अधिकारी केदार विष्टले यस वर्ष कार्यालयमा २० करोड ५६ लाख ९५ हजार ४१० रुपियाँ बराबरको पुस्तक प्राप्त भएको जानकारी दिनुभयो । अहिले १५ लाख ३५ हजार थान पुस्तक कार्यालयमा रहेको छ । अहिलेसम्म कार्यालयले छ लाख छ हजार छ सय थान पुस्तक बिक्री गरिसकेको छ । जसबाट आठ करोड ३४ लाख ४८ हजार ८२६ रुपियाँ राजस्व सङ्कलन भएको विष्टले जानकारी दिनुभयो ।
कार्यालयका अनुसार यस वर्ष १५ लाख ५४ हजार ८७७ थान पाठ्यपुस्तक विक्री गर्ने लक्ष्य राखिएको छ । गत वर्ष कार्यालयले २० करोड ८९ लाख ८२ हजार ४१४ रुपियाँको पुस्तक बिक्री गरेको थियो । जनक शिक्षाले अहिले कक्षा ३ र कक्षा ५ देखि १२ कक्षासम्मको पुस्तक छाप्ने काम गर्दै आएको छ । १, २ र ४ कक्षाको निजी क्षेत्रले छाप्ने काम गरेको छ । कार्यालयले बारा, पर्सा, रौतहट, मकवानपुर, चितवन, पूर्वी नवलपरासी र दक्षिण तनहुँमा पाठ्यपुस्तक बिक्री गर्दै आएको छ । जनक शिक्षाको भरतपुरमा कार्यालय रहेकाले यहाँका स्टेसनरी पसलमा ढुवानी खर्च उपलब्ध गराउँदैन ।