• ९ पुस २०८१, मङ्गलबार

विपद् जोखिम न्यूनीकरण गर्न दिएको रकम सदुपयोग गर्न गृहमन्त्री खाणको निर्देशन

blog

काठमाडौं, भदौ १७ गते । गृहमन्त्री बालकृष्ण खाणले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई राज्य कोषबाट प्रदान गरेको रकम शतप्रतिशत सदुपयोग गर्न प्राधिकरणलाई निर्देशन दिनुभएको छ ।

शुक्रबार विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा बोल्नुहुँदै गृहमन्त्री खाणले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई राज्य कोषबाट प्रदान गरेको रकम शतप्रतिशत सदुपयोग गर्न निर्देशन दिनुभएको हो ।

गृहमन्त्री खाणले सरकारले विपद् जोखिम न्यूनीकरण गर्न दिएको रकम सदुपयोग गर्न प्राधिकरण क्रियाशील हुन जरुरी रहेको बताउनुभयो । विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणलाई पनि सार्वजनिक खरिद ऐन लागू हुने भन्दै प्रचलित कानुन अनुसार कोषको रकम खर्च गर्नुपर्ने मन्त्री खाणको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘‘यो वर्ष पनि बाढी पहिरोका कारण विभिन्न स्थानमा क्षति गरेको छ । विपद् प्राधिकरणसँग सरकारले प्रदान गरेको कोष भएता पनि स्थानीय तह र स्थलगत रूपमा विपद् व्यवस्थापनको लागि त्यो खालको प्राविधिक जनशक्ति व्यवस्थापन भएको अवस्था छैन । नेपाल सरकारका विभिन्न मन्त्रालय र मातहतका विभागलाई क्रियाशील बनाउनुपर्ने, सहयोग र समन्वय गर्नुपर्ने अवस्था रहेको छ । यो वर्ष बाढी पहिरोले क्षति गरेको छ, त्यहाँ स्थानीय पालिकाहरूलाई नै जिम्मा दिएर सक्रिय बनाउन प्राधिकरण र मन्त्रालय प्राविधिक सहयोग लिन सक्नुपर्छ ।’’

उहाँले विपद् व्यवस्थापन कोषमा भएको रकम विपद्को समयमा नै सदुपयोग हुनुपर्ने उल्लेख गर्नुभयो । उहाँले स्थानीय तहमा विपद् जोखिम न्यूनीकरणका लागि पठाएको रकम विपद् व्यवस्थापनमा नै खर्च गर्नुपर्ने बताउनुभयो । मन्त्री खाणले प्राधिकरणको कार्यकारी समितिले गरेका सबै निर्णयहरू गम्भीरतापूर्वक कार्यान्वयन गर्ने पनि निर्देशन दिनुभयो ।

गृहमन्त्री खाणले भन्नुभयो, ‘‘प्राधिकरणको कार्यकारी समितिले गरेका निर्णयहरू गम्भीरतापूर्वक कार्यान्वयन हुनुपर्छ । विपद् व्यवस्थापन कोषमा भएको रकम विपद्को समयमा नै खर्च हुनुपर्छ । स्थानीय तहमा विपद् जोखिम न्यूनीकरणका लागि खर्च गर्न पठाएको रकम सदुपयोग हुन सक्नुपर्छ । प्राधिकरणको आर्थिक पद्धति र प्रक्रिया छ । त्यहाँ पनि सार्वजनिक खरिद ऐन लागू हुन्छ । त्यसले प्रचलित कानुन अनुसार नै खर्च हुनुपर्छ । राज्य कोषबाट विपद् जोखिम न्यूनीकरणको लागि उपलब्ध भएको बजेट शतप्रतिशत नै सदुपयोग हुनुपर्छ । प्राधिकरणले शतप्रतिशत रकम सदुपयोग गर्न क्रियाशील बन्नुपर्छ ।’’

गृहमन्त्री खाँणले यो वर्ष पनि वर्षाको कारण देशका विभिन्न भागमा बाढी पहिरोका कारण ठूलो क्षति भएको बताउनुभयो । विपद् प्राधिकरणलाई सरकारले प्रदान गरेको कोष भए पनि स्थानीय तह र स्थलगत रूपमा विपद् व्यवस्थापनको लागि त्यो खालको प्राविधिक जनशक्ति व्यवस्थापन नभएको उहाँको भनाइ छ । विपद् व्यवस्थापनको लागि स्थानीय गाउँपालिकाहरूलाई नै जिम्मा दिएर सक्रिय बनाउन आवश्यक रहेको गृहमन्त्री खाणले औँल्याउनुभयो ।