• ९ पुस २०८१, मङ्गलबार

गणतन्त्रको प्रताप : सिंहदरबार र प्रतिष्ठानहरू

blog

गाउँगाउँमा सिंहदरबार आउने हो भने गाउँघरमा किन प्रज्ञा प्रतिष्ठान नआउने ? किन त्रिभुवन विश्वविद्यालय नआउने ? किन वीर अस्पताल नआउने ? किन रेडियो नेपाल नआउने ? किन नेपाल टेलिभिजन नआउने ? अनि सर्वोच्च अदालत किन नआउने आदि इत्यादि नारा उरालेर गरिएको अर्मले गाउँको आन्दोलन निकै लामो सङ्घर्षपछि सफल भएको छ । परिणाम स्वरूप यस गाउँमा पनि केही प्रतिष्ठानहरू, केही अस्पतालहरू, केही विश्वविद्यालय केही अदालतहरू खोल्ने कुरा चलिरहेकोमा गोलमेच सम्मेलन गरेपछि सबैभन्दा पहिले प्रज्ञा प्रतिष्ठान नै खोल्ने सबैको सहमति भयो । अदालत खोल्ने हो भने फेरि प्रधानन्यायाधीशको लफडा चल्ला । विश्वविद्यालय खोल्ने हो भने पाडाहरू चाहिने भए । भएका पनि अलेली पाडाहरू पनि राँगा भइसके अनि यो विश्वविद्यालय अहिले नखोलौँ भन्नेमा पनि सहमति भो । यस्तै अरू अरू कुरा खोल्दा आफ्ना आफ्नै ठाउँका लफडाहरू देखिने भए । यसैले सबैभन्दा पहिले र सबैभन्दा सजिलो प्रज्ञा प्रतिष्ठान नै खोल्ने विचारमा सहमति भो । प्रज्ञा प्रतिष्ठानका लागि ता म्यानपावरको कमी भएन । गाउँभरि सबै प्राज्ञ छँदै छन् । यसमा पनि कुलपति उपकुलपति सदस्यसचिव ता चाहिन्छ नै । यो गठन पनि कहाँ सजिलो छ र ? तैपनि कटुवालले बुद्धि पु¥या‍एकाले यसमा खासै समस्या भएन । चलेको रीतअनुसार कुलपतिको पदका लागि भित्रभित्रै कसैले थाहा नपाईकन विधि पु¥याएर कटुवाल कान्छो स्वयं गाउँको प्रज्ञा प्रतिष्ठानको कुलपतिमा छानिएको छ । सम्झन्छ धन्न हो गणतन्त्र र यसको प्रताप !

हुन त प्रज्ञा प्रतिष्ठान पनि हेर्नाका छन् । कुनै कलाकारका, कुनै साहित्यकारका, कुनै सङ्गीतकारका, कुनै यति लामो कपाल पालेका झ्याम्लेहरूका, अनि अरू केकेजातिका । अनि हामी चैँ कुन खालको खोल्ने हो त भनेर निकै लामो बहस भएकै पनि हो तर अन्त्यमा कटुवालको बुद्धिले काम ग¥यो र अहिले आन्दोलन मत्थर भएको छ, कुरा मिलेको छ ।

गणतन्त्र आएपछि देशका गाउँगाउँमा सिंहदरबार आएको सबैलाई थाहा भएकै हो । नागरिकता किन्न कुनै बेला सिंहदरबार पुग्नुपथ्र्याे । अलिकपछि सीडीओ कार्यालयबाटै किनबेच हुन थाल्यो । अब त गाउँगाउँबाटै सुपथ मूल्यमा पाइन्छ अनि सिंहदरबार गाउँमा नआएको हो र ? अझ कतिले त पारि इन्डियातिरै लगेर भाउशान्तिमा नागरिकता बेच्छन् पनि । अनि सिंहदरबार नआएको कसले भन्छ ? नेपालमा मात्र कहाँ हो र सिंहदरबार ता पारि इन्डियामा पनि पुगिसकेको छ । खासमा अहिले नेपालका गाउँकै सिंहदरबारको कुरा गरौँ ।

मन्त्रीको दर्शन गर्न मन लागेमा उतै सिंहदरबारमै जानुपथ्र्याे धाइफल तोडेर कुनै बेला । अब त्यो झमेलो पनि गाउँमा रहेन । गाउँघरमा मन्त्री बग्रेल्ती छन् । काठमाडाँैमा ता धरहराका टुप्पामा चढेर एक मुठी गुच्चा तल हिँडिरहेका मान्छेका गोलामा हान्नु हो भने पाँच दस जति ता मन्त्रीलाई नै लाग्न सक्छ भनेको पनि सुनिन्छ । तर गाउँ घरमा त्यति बिधि बाक्लै मन्त्री चैँ छैनन् है । यसमा गणतन्त्रको प्रताप अलिक धीमा नै छ, खैर । नभाको कुरा भन्ने पनि हैन । हो अस्पताल भने छन् । तरकारी बेच्ने बेपारीले पनि ओखती बेच्यो भने डाक्टर कहिन्छ र त्यो तरकारी पसलसमेत तत्कालै अस्पताल भनिन्छ । यसैले अस्पताल निकै छन् गाउँघरमा ।

अस्पतालका लागि वीर अस्पतालकै भर परिन्थ्यो कुनै बेला अब सटर सटरमा र कोठाकोठामा अस्पताल खुलेका छन् । अवैध गर्भ रह्यो भने ज्यानै जाने खतरा थियो कुनै बेला । खोलुवा डाक्टरलाई अलिकति पैसाले नपुग्ने ! अब जतासुकै गर्भ तुहाउने अस्पताल खुलेका छन् । यसै गरी पुत्लेपाङ्ग्रे रेडियोहरू र धार्मिक अड्डाहरू पनि घरघरमा खुलेका छन् । रातबिरात झ्याम्ले गीत बजाएर खपिसक्नु हुन्न । यसबाट जाग्राम भने भएकै छ । सुत्न पाइन्न । झ्याम्ले गीत सुन्यो जागृत बस्यो । धर्म कमायो । बस ।

अब यी कुरा छाडौँ र प्रज्ञा प्रतिष्ठानकै कुरातिर लागौँ ।

उहिले जे पनि पञ्चायतका प्रतापले हुने गथ्र्योे, अब गणतन्त्रका प्रतापले हुने गरेको छ । हरेक गाउँमा प्रज्ञा प्रतिष्ठान पनि आइपुगेका छन् त्यो पनि गणतन्त्रको प्रतापले नै हो । प्रज्ञा प्रतिष्ठानको छेलोखेलो छ । छिचिमिरा कम होलान् प्रज्ञा प्रतिष्ठान बग्रेल्ती छन् । प्रज्ञा प्रतिष्ठान पनि एक थोकका मात्र कहाँ हो र भन्या । साहित्यकारका छन् । अनि कलाकारका छन् । संस्कृतिकर्मीका छन् । गीतकारका र गजलकारका छन् । ठेटर, मारुनी, नाच, च्याब्रुङ नाच, घ्याम्पे नाच, झ्याम्ले नाच, सबका छन् । विकास भनेको यो हो । सबैले आफ्ना आफ्ना कुराहरूको गाउँठाउँमै अनुभूत गर्न पाउनु नै विकास हो । यो सब गणतन्त्रको प्रताप हो । सबैले देशको एकएक कित्ता लिएका छन् त । प्रतिष्ठानैको कुरा ता कति ठूलो भो र ?

गोलेनी कान्छीले, डबलीकी साइँलीले, आम्बोटेकी रेसमाले कोदाको दुरुङ पानी बनाएर पैकार गरेर बेचेको कति भइसकेको थियो । बडो मुस्किल थियो उनीहरूलाई । पुलिसलाई र जङ्गलीलाई बुझाएर बाँचेको रकमले घर धान्दथे । तर अब बल्ल कोदाको तीनपाने दुरुङले लेबलिङ हुने अवसर पाएको छ । अब गाउँमा सिंहदरबार नआएको भनेर कसले भन्छ ? गणतन्त्रका प्रतापले नभएर यो अरू कसका प्रतापले हो ? लु भनम त । अब तीनपाने प्रतिष्ठान चाहियो । गतिलो जँड्याहा यताको उपकुलपति हुनपर्छ । राजकिशोरहरूले लुकीलुकी गाँजा बेच्दाको हैरानी थियो । अब गाँजा पनि खुला खेती गर्ने कुरामा माग बढेको छ । उपल्लो सिंहदरबारबाटै माग आएको छ । गँजडी प्रज्ञा प्रतिष्ठान अब तुरुन्त चाहियो । यसबारे नामी गँजडीले कुलपतिका लागि राम्रो गरी धोती कसिराखे हुन्छ । यीबाहेक त्यस्ता नयाँ वस्तुका सेवीहरूले अरू अरू यहाँ नपरेकाहरूका पनि प्रतिष्ठान खोल्लान् । यो गणतन्त्रको सानो प्रताप हो त !

कोदाको दुरुङपानी र जाँड नेपालमा पुरानो अवस्थादेखि नै सेवन गर्ने परम्परा थियो भन्ने कुरामा बल्ल गाउँगाउँमा आइपुगेका सिंहदरबारले अनुभव गराएको छ । योजस्तै धामी झाँक्री बैदाङ्गी र धन्वन्तरी विद्या पनि नेपालको इतिहासदेखि नै प्रयोगमा आएको एक नामी विद्या हो भन्ने कुरा बल्ल देशले बुझेको छ । गणतन्त्र नआएको थियो भने दुरुङपानी पुरानै पारामा लुकेर बेच्दाका दास्ती हुने । धन्न छ गणतन्त्र । यसैले यस्तो महìवको गणतन्त्रले देशमा कहिल्यै नभएको विकास हुन थालेको छ । अरूअरू धेरै कुराको बिङ्गो यहाँ म कसरी लाउन सक्छु र । यहाँ खालि झाँक्री प्रज्ञा प्रतिष्ठानको कुरा अलिकति गर्छु र बिदा हुन्छु है ।

अँ त अर्मले गाउँका कटुवाल कुलबादुर गाउँभरि कान्छो धामी भनेर कहलिएको धामी हुन् । यो गाउँको साहित्यतिरका कुलपति उपकुलपति, नाचगानतिरका कुलपति उपकुलपति, कला र रङ्गकर्मतिरका कुलपति उपकुलपतिहरू नियुक्त होलान् अब गणतन्त्रका प्रतापले । अरू जे होला होला । यहाँ ता कटुवाल कान्छो कुलपति भएको कुरा मात्र छ ।

कटुवाल कान्छोको अलिक माथिका मुन्तिरीसँग चिनाजानी भएकाले धामीझाँक्री प्रज्ञा प्रतिष्ठानका कुलपतिमा माथिबाट सोझै नियुक्त गरिदिएकाले गाउँमा उनको स्वागतको कार्यक्रम छ । उसलाई उपकुलपतिको मनोनयन गर्नु छ, प्रतिष्ठानका सदस्यहरू प्राज्ञहरू छान्नु छ । आफैँ धामी र आफैँ बैदाङ्गी विद्या जानेबुझेका महìवपूर्ण मन्त्री परेको हुनाले यस विद्याको सुरक्षा, उपयोगिता र यसबारे अनुसन्धान गर्नुपर्ने कुरा गाउँ सरकारको मन्त्रालयबाट ठहर भएकाले गाउँका धामीहरू निकै खुसी छन् । काम्न, अक्षता छर्न र जोखाना हेर्न अभ्यास गरिरहेका छन् । कटहरे कान्छो ता यो कुरा सुनेर हे... राजै भन्दै देउता चढेर उतिबेलै निकै काम्यो पनि । वास्तवमा देशका लागि यो मेलोको विद्या प्राचीन कालदेखिकै हो र अहिले पनि निकै जरुरी हो भन्ने बोध गरेको हुनाले यस विषयको सोधखोज र उन्नति गर्ने हेतुले अर्मले गाउँका धामीहरूले धामी झाँक्री प्रतिष्ठान खडा गरेको थियो गणतन्त्रका प्रतापबाट ।

त्यही प्रतिष्ठानमा भर्खरका नयाँ सर्खारले अर्मले गाउँका कटुवाल कान्छा धामीलाई टपक्क टिपेर प्रतिष्ठानको कुलपति बनाइदिएको थियो । अहिले अर्मले गाउँमा प्रतिष्ठानका तिनै कुलपतिको आगमन हुन लागेको थियो । आफ्नै गाउँका मान्छे कुलपति भएकाले धेरैलाई हर्क छ । यसैले गाई फुकाउन छाडेर गोठालाहरू, मेलो बीचैमा छाडेर खेतालाहरू, अनि भुराभुरी रुवाउँदै काखमा बोकेका गृहिणी महिलाहरू, आदि इत्यादिहरू रमितेका रूपमा थिए । कोही फूलका गुच्छा त कोही खादा हातमा लिएर स्वागतका लागि तयार थिए ।

कुलपति आए सबैले ताली बजाए । टीका लगाइदिए । माला लगाइदिए । खादा ओढाइदिए । फूलका गुच्छा दिए । कुलपतिको मानमनितो धुमधामसँग भो । धूपधुवार गरे । फलाके । स्वागत भो, सम्मान भो । भाषण गरे । उर्दी गरिएको हुनाले सबैले ताली बजाए परररररर । बच्चाबच्चीले पनि बजाए । 

भाषणमा बुझ्न चाहिँ कसले के बुझ्यो त्यो थाहा भएन । कार्जेकर्मको मेलो सकियो । निर्विघ्नतापूर्वक कार्जे सकिएकाले कान्छाका आसेपासेबाहेकका सबै आफ्ना आफ्नोतिर लागे । कान्छा धामीले प्रतिष्ठानलाई पूर्णता दिनु थियो त्यसैले उनका नजिककाहरूलाई सभा सकिए पनि सभाबाट घर नजाने उर्दी गरेको थियो । अलिकति दुरुङपानीका साथै लोकल साँप्राको बन्दोवस्तका साथ कुलपतिका भरियाहरू साँझसाँझ पर्दा नपर्दै पिपले डाँडाको पिपलको रुखका फेदमा बसे ।

‘तँ फलाक्न जान्दछस् ?,’ श्रीमान् कुलपतिले आफ्ना फुपूका छोरा कान्छालाई सोधे ।

‘ए गजबिरे ? तँ सेग्र्यायाम गर्न आउँछ ?’ गजबिरेलाई सोधे । 

‘ए याङ्दुवा तँलाई अछेता छर्न आउँछ ?’ याङ्दुवालाई सोधे ।

‘ए खैमले तँलाई पानी मन्तर्न आउँछ ?,’ खैनी माड्दै गरेका खैमलेलाई सोधे ।

यी सबैले जान्दिनँ भन्ने ता कुरै थिएन । सबैले जान्दछौँ भने ।

उसो भए तिमीहरू सबै यस प्रतिष्ठानका प्राज्ञ भयौ । ती सबैको नाममा लालमोहर लाउनु भो कुलपतिले ।

यी घरबाहिरकाहरूलाई उनले बडो गणतान्त्रिक विधिबाट प्रतिष्ठानका सदस्य छान्ने काम गरे । घरभित्रका नातागोताका इष्टमित्रहरू भान्जाभान्जीहरू कुलकुटुम्बहरूबाट पनि प्रतिष्ठानका सदस्यहरू छाने र त्यो साँझको दुरुङसभामा सुनाए । दुरुङले तातो तातो भएकाहरूले ताली बजाए । अलिक कम दारु लाएका खन्तरेले चाहिँ ‘यसो पातिकसातिक पनि गर्न पाएको भए हुने !’ भने ।

मनोनयन त अझ छ नि । त्यो बेलामा यो पातिकसातिक पनि मिलाउँछु । लिङ्गको कुरा पनि मिलाउँछु । सिमान्तिकिर्तनको कुरा पनि मिलाउँछु । तिमेरु धेर नकराओ न । म सब मिलाउँछु,’ जिब्रो बटार्दै कुलपतिले भने । यसो भन्दाभन्दै उनले अस्ति जवानीको बेलामा रसबस गरेकी कान्छी ओडार्नीलाई झलक्क सम्झिए । प्राज्ञमा त्यसलाई नराखी हुन्न भन्ने सोचे । महिला प्रतिनिधि भन्ने पनि हुन्छ स्वकीय सचिव बनाउँछु । आफ्नो पुरानो मायापिर्ती पनि बिउँझन्छ सोचाइ अझ गहिरियो ।

यस्तै केकेजाति गर्दैवर्दै साँझको दुरुङ्पार्टी निकै बेला बितेपछि सकियो । सबै सम्भावित प्राज्ञहरू आफ्ना आफ्ना घरतिर खुट्टा मर्काउँदै लागे ।

कतिबेला कुलबादुर घर पुगे भनेको त उही ओडार्नी कान्छीको घरतिर पो पुगेछन् । धन्न आफ्नै पुरानी मान्छे थिन् र मात्रै नत्र अरू कुनै भएको भए उपकुलपतिको इज्जतै जाने बा... । 


भद्रपुर, झापा