• १९ असार २०८१, बुधबार

छाडिएको मोबाइलबाट पत्ता लाग्यो ‘चोर’

blog

प्रहरीद्वारा सार्वजनिक गरिएको चोरीमा संलग्न तीन जना । तस्विरः ध्यान कुलुङ

सङ्खुवासभा, भदौ १७ गते ।गत मङ्गलवार राती करिब २ बजे खाँदबारी नगरपालिका ३ मानेभञ्ज्याङका वीरेन्द्र भगत श्रेष्ठको पसल चोरी गर्ने चोर पत्ता लागेको छ । चोरी गर्ने क्रममा घर बेटीले थाहा पाएपछि भाग्ने क्रममा छाडिएको मोबाइलबाट प्रहरीले चोर पत्ता लगाएको छ । 

चोर्ने क्रममा श्रेष्ठ परिवार र छिमेकीहरूको हल्ला पछि भागेका तीन जना मध्ये एउटा मोबाइल सेट भेटिएको थियो । उक्त मोबाइल सेटको माध्यमबाट चोरीमा संलग्न तीनै जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । चोरीमा संलग्न सिलिचोङ गाउँपालिका १ का ४२ वर्षीय नन्दराज राई, सोही गाउँका ३४ वर्षीय जगत् राई र सिलिचोङ ३ का वर्ष २३ का अङ्कित राईलाई प्रहरीले पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो । 

जिल्ला प्रहरी प्रमुख डिएसपी वीरेन्द्र गोदारका अनुसार उक्त मोबाइल धनी नन्दराज पत्ता लगाएर अनुसन्धान सुरु गरिएको थियो । अनुसन्धानकै क्रममा चोरीमा संलग्न अर्को सदस्यले म्यासेज गरेको थियो । उक्त म्यासेजलाई आधार बनाएर अनुसन्धान गर्दा दोस्रो व्यक्ति जगत् पनि पक्राउ गरिएको डिएसपी गोदारले जानकारी दिनुभयो । दुवै जना चोरीमा संलग्न भएको पुष्टि भएसँगै तेस्रो व्यक्ति अङ्कित लाई पनि पक्राउ गर्न सहज भएको गोदारले जानकारी दिनुभयो । 

उनीहरूको साथबाट ३ थान खुकुरी, फलामको रड, नकाब, फलाम काट्ने कैँची, मोबाइल सेट ४ थान, कपडा सहितको झोला, प्याकेटमा खोर्सानीको धुलो लगायतका सामाग्रीहरू बरामद गरिएको छ । चोरीमा संलग्नहरूलाई जिल्ला अदालत चैनपुरबाट ‘डाका चोरी तथा ज्यान मार्ने उद्योग’मा म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।