• ७ जेठ २०८१, सोमबार

गुणस्तरीय शिक्षामा बेलायतको साथ

blog

विष्णुप्रसाद पोखरेल

दमक, भदौ १७ गते । नेपालका लागि संयुक्त अधिराज्य (बेलायत)का राजदूत निकोला पोल्लिटले कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्था आउन नहुने बताउनुभएको छ। नेपाली बालबालिकालाई गुणस्तरीय शिक्षाका लागि बेलायत सरकार सधैँ साथमा रहेको जनाउँदै उहाँले यस्तो बताउनुभएको हो।

झापाको मेचीनगर–१२ स्थित सहरेडागी सरस्वती बालकल्याण माध्यमिक विद्यालय परिसरमा गोर्खा वेलफेयर ट्रस्टद्वारा निर्मित भवनको उद्घाटनका लागि झापा आउनुभएकी राजदूत पोल्लिटले १२ वर्षभन्दा कम उमेर समूहका सबै बालबालिकाको पढाइको विषयमा सबै चिन्तित हुनुपर्नेमा जोड दिनुभयो।

उहाँले गुणस्तरीय शिक्षाका लागि विद्यालयहरूको संरचनाहरू पनि महत्त्वपूर्ण हुने बताउँदै यस विद्यालयमा बनेको नयाँ संरचनाले यहाँका बालबालिकाको पठनपाठनमा सहज हुने आफूले विश्वास लिएको बताउनुभयो। निः शुल्क र गुणस्तरीय शिक्षामा जोड दिँदै राजदूत पोल्लिटले कुनै पनि बालबालिका विद्यालय बाहिर नरहने अवस्थाको लागि सबैको प्रयास जरुरी रहेको जनाउनु भयो।

राजदूत पोल्लिटले बेलायत र नेपालबीचको सम्बन्ध धेरै पुरानो र प्रगाढ रहेको भन्दै यो सधैँ कायम रहने उल्लेख गर्नुभयो। सदियौँदेखिको सम्बन्ध झन्गाढा बन्दै जानेछ भन्नेमा म विश्वस्त छु, उहाँले भन्नुभयो। बेलायत सरकारले नेपालको विकासमा सधैँ सहयोग गर्दै आएको र यो जारी रहने पनि उहाँको भनाइ थियो।

मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकीले सो अवसरमा बेलायतको फोक्सटन सिटी र मेचीनगर नगरपालिकाबीच भगिनी सम्बन्ध रहेको जानकारी गराउँदै यसले मेचीनगर नगरपालिकालाई पनि बेलायतसँग जोडेको बताउनुभयो। शिक्षा र स्वास्थ्यमा सहकार्यका लागि प्रयास भइरहेको समेत उहाँको भनाइ थियो।

गोर्खा वेलफेयर ट्रस्टले दुई करोड ४३ लाख ७० हजार ५३१ रुपियाँको लागतमा उक्त विद्यालयको सुविधा सम्पन्न भवन र विद्यालयका लागि आवश्यक पुस्तकालय निर्माण गरेको छ। २०६६ साल मङ्सिरमा निर्माण सुरु भएर केही समयअघि निर्माण सम्पन्न भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्यप्रसाद सापकोटाले बताउनुभयो।