• १८ पुस २०८१, बिहिबार

मानव बेचबिखन कलङ्क

‘संलग्नलाई कडा कारबाही हुन्छ’

blog

काठमाडौँ, भदौ १७ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले मानव बेचबिखनमा संलग्नमाथि कडा कारबाही गरिने बताउनुभएको छ । मानव बेचबिखनविरुद्धको १६औँ राष्ट्रिय दिवसको सन्दर्भमा आयोजित ‘मानव बेचबिखनविरुद्ध मेरो दलको प्रतिबद्धता’ विषयक अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मानव बेचबिखन कलङ्क भएको भन्दै यसमा संलग्न जोसुकै भए पनि कानुनी दायरामा ल्याइने बताउनुभयो ।

प्रधानमन्त्री देउवाले मानव बेचबिखनजस्तो जघन्य अपराधमा संलग्नलाई कानुनी कठघरामा ल्याउन आवश्यक परे सरकार कानुन परिमार्जन गर्नसमेत तयार रहेको बताउनुभयो । उहाँले यस्ता घटना नियन्त्रण गरी अपराधमा संलग्नलाई कानुनी दायरामा ल्याउन कानुन कार्यान्वयन गर्ने निकायलाई निर्देशनसमेत दिनुभयो ।

मानव बेचबिखनविरुद्ध नेपाल सरकारले अन्तर्राष्ट्रिय प्रतिबद्धता जनाएको प्रसङ्ग उल्लेख गर्दै उहाँले नियन्त्रणका लागि सरकारसँगै विभिन्न सामाजिक तथा  गैरसरकारी संस्था, मानव अधिकार सम्बद्ध सङ्घ, सङ्गठन एकजुट हुनुपर्ने बताउनुभयो ।

नेपालबाट पछिल्लो समय महिला तथा बालबालिका बढी मानव बेचबिखनको सिकार भएको बताउँदै उहाँले बेचबिखनमा परेकालाई उद्धार गरी सुरक्षित रूपमा नेपाल ल्याउन माइती नेपाललगायतका सामाजिक संस्थाले गरेको काम प्रशंसनीय रहेको बताउनुभयो । 

बेचबिखनमा परी उद्धार गरिएका महिला तथा किशोरीलाई समाजमा पुनस्र्थापना तथा जीवन निर्वाहका लागि सरकारले आवश्यक व्यवस्था मिलाउनेसमेत प्रतिबद्धता व्यक्त गर्नुभयो । माइती नेपालकी संस्थापक अनुराधा कोइरालाको अध्यक्षतामा आयोजित गोष्ठीमा कार्यकारी निर्देशक विश्वराम खड्काले मानव बेचबिखनबारे तथ्याङ्क प्रस्तुत गर्नुभएको थियो । उहाँले भिजिट भिसाको आवरणमा ठूलो सङ्ख्यामा मानव तस्करी भइरहेको भन्दै नियन्त्रणका लागि नेपाल सरकार तथा प्रधानमन्त्री देउवासमक्ष आग्रह गर्नुभयो । 

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालबाट खुला रूपमा भइरहेको मानव तस्करी राज्यका लागि लज्जाको विषय रहेको धारणा व्यक्त गर्नुभयो । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी, राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेत्री अञ्जना शाह, जनता समाजवादी पार्टीका नेत्री रेखा यादव, लोकतान्त्रिक समाजवादी पार्टीका नेत्री पुष्पा ठाकुरलगायत विभिन्न राजनीतिक दलका नेताले मानव बेचबिखनविरुद्ध प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।  

माइती नेपालले प्रस्तुत गरेको तथ्याङ्कअनुसार नेपालबाट वार्षिक १५ हजार महिला तथा १५ हजार पुरुष र पाँच हजार बालबालिका बेचबिखनको सिकार हुने गरेका छन् । जसमध्ये तीन हजारको उद्धार माइती नेपालको अग्रसरतामा हुँदै आएको छ । 

आर्थिक अवस्था कमजोर भएका र शिक्षाको अवसरबाट वञ्चित किशोरी खाजाघर, डान्सबार, रेस्टुरेन्ट तथा मसाज केन्द्रमा काम गर्ने क्रममा प्रलोभन तथा जबरजस्ती बेचबिखन तथा यौनशोषणमा पर्ने गरेको पाइएको छ । 

संयुक्त राष्ट्रसङ्घले प्रस्तुत गरेको एक तथ्याङ्कअनुसार विश्वभरबाट वार्षिक १० करोड महिला, बालबालिका तथा पुरुष बेचबिखनमा पर्ने गरेका छन् । यसबाट मानव तस्करमा संलग्न गिरोहले तीन खर्ब डलरको व्यापार गर्ने गरेको पाइएको छ । 

गिरोहले राज्यका नियामक निकायलाई आर्थिक प्रभावमा पार्ने र मिलेमतो हुने गरेका कारण मानव बेचबिखन तथा रोकथाम चुनौतीपूर्ण बन्दै गएको छ । मानव बेचबिखनमा संलग्नलाई कारबाही गर्न कानुनी अपर्याप्तता र प्रमाण सङ्कलनको जटिलता र डर त्रासका कारण पीडितले बयानसमेत परिवर्तन गर्ने गरेको पाइएको छ । नेपालबाट पछिल्लो समय भिजिट भिसाको आवरणमा नक्कली कागजपत्र प्रयोग गरी ठूलो सङ्ख्यामा नेपाली युवकयुवती खाडी मुलुक पु-याई बेचबिखनमा पर्ने गरेको पाइएको छ । 

यसमा मानव तस्करको सङ्गठित गिरोह नै सक्रिय रहेको र विमानस्थलका कर्मचारीको मिलेमतो भएको आशङ्कापछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी र मानव बेचबिखन ब्युरोले छुट्टाछुट्टै अनुसन्धान गरिरहेका छन् । भिजिट भिसाको आवरणमा मानव तस्करीसम्बन्धी समाचार गोरखापत्रले दिएको थियो । कार्यक्रममा त्यसको पनि प्रस्तुति गरिएको थियो ।