• १९ असोज २०८१, शनिबार

साफमा हार्ने छुट हामीलाई छैन : प्रशिक्षक थापा

blog

मुख्य प्रशिक्षक कुमार थापा ।

काठमाडौं, भदौ १६ गते । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक कुमार थापाले नेपाली टोलीको एउटै लक्ष्य घरेलु मैदानमा हुने साफ महिला फुटबलको उपाधि जित्नु रहेको बताउनुभएको छ । नेपाली टोली अहिले दैनिक प्रशिक्षणमा व्यस्त छ ।

‘‘हामी साफ महिला फुटबलको उपाधि जितेर खडेरी तोड्न चाहन्छौँ । उपाधि नेपालमै राख्नेगरी तयारी गरेमा छौँ । सात हप्ता प्रशिक्षणको क्रममा टोलीमा रहेको कमजोरी हटाएका छौँ । साना गल्तीमा पनि केन्द्रित भएर तयारी गरेका छौँ । सबै टोलीमाथि गोल गर्ने रणनीतिका साग मैदानमा उत्रने छौँ । प्रशिक्षक थापाले भन्नुभयो, ‘‘यस पटक साफमा हामीलाई  हार्ने छुट छैन ।’’

विराटनगरमा भएको साफको अघिल्लो संस्करणमा उपविजेतामा चित्त बुझाएको नेपाली टोलीका खेलाडी पनि यसपटक घरमै उपाधि राख्नेमा आत्मविश्वासी रहेका छन् । टोलीकी गोलरक्षक एन्जिला तुम्बापो सुब्बाले सधैँ फाइनलमा पुगेर उपाधि विहीन बनेको क्षणलाई यसपटक बिर्साएर छाड्ने बताउनुभयो ।


स्ट्राइकर सावित्रा भण्डारीले पनि घरेलु मैदान र दर्शकको साथमा यसपटक राम्रो खेल्दै उपाधि जित्ने दाबी गर्नुभयो । दशरथ रङ्गशालामा भदौ २१ देखि असोज ३ गतेसम्म आयोजना हुने साफ महिला च्याम्पियनसिपमा सातवटै देशको सहभागिता रहनेछ । प्रतियोगितामा भाग लिन भुटान र पाकिस्तानी महिला टोली काठमाडौं आईसकेका छन् । 

दक्षिण एसियाली महिला फुटबलको सबैभन्दा ठूलो प्रतियोगिताको रूपमा रहेको यस प्रतियोगितामा भारत बलियो टोली हो । साबिक विजेता समेत रहेको भारत यसपटक समूह ‘ए’ बाट प्रतिस्पर्धा गर्दैछ । समूह ‘ए’ मा भारतसहित मालदिभ्स, बङ्गलादेश र पाकिस्तान छन् । समूह ‘बी’ मा आयोजक नेपाल, भुटान र श्रीलङ्का रहेका छन् । समूहको शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । 

साफका लागि नेपाली महिला टोलीको घोषणा समेत भइसकेको छ । चोटका कारण टोलीका यसअघिकी नियमित कप्तान रेनुका नगरकोटी र रक्षक पूजा राना हुनुहुन्न । रेखा पौडेलले भने पुनरागमन गर्नुभएको छ ।

साफ महिला फुटबलको १२ वर्षे इतिहासमा पटक पटक फाइनल पुगे पनि नेपाल उपाधि विहीन बन्दै आएको छ । अघिल्ला पाँच संस्करणमा नेपाल चार पटक उपविजेतामा खुम्चिएको थियो । विराटनगरमा भएको अघिल्लो संस्करणमा नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो । 

नेपाली महिला टोली 

गोलरक्षक  : एन्जिला तुम्बापो सुब्बा, अञ्जना रानामगर र उषा नाथ

रक्षक : हिराकुमारी भुजेल, अमृता जैसी, गिता राना, पुनम जर्घामगर, निशा थोकर, समिक्षा घिमिरे र विमला विके

मिडफिल्डर : विमला चौधरी, मन्जलीकुमारी योन्जन, प्रिती राई, सरु लिम्बु, दीपा राई, दीपा शाही, इन्द्रा राई, अनिता बस्नेत र अनिता केसी

स्ट्राइकर : अमिशा कार्की, रेखा पौडेल, सावित्रा भण्डारी र रश्मीकुमारी घिसिङ ।