रामकृष्ण बोहरा
बागलुङ, चैत २७ गते । बाङेचौर खेल मैदानमा जारी गण्डकी प्रदेश स्तरीय चौथो संस्करणको ‘जेसीज कप’ फुटबल प्रतियोगितामा आज सेमीफाइनल खेल हुँदैछन् ।
बिहीबार क्वाटरफाइनलका खेल जित्दै गुठी युनाइटेड, बागलुङ सुधार केन्द्र, गहते युवा क्लब र गण्डकी प्रदेश प्रहरी सेमीफाइनलमा प्रवेशका गरेका छन् । आज सम्पन्न खेलमा गुठी युनाइटेडले विद्यामन्दिर (एभिएम)लाई ५–३ गोल, बागलुङ सुधार केन्द्रले मर्दी युनाइटेडलाई २–१ र गहतेले बागलुङ कालिकालाई १–० गोलले पराजित गरेका हुन् ।
शुक्रबार हुने पहिलो सेमीफाइनल खेलमा बागलुङ सुधार केन्द्रले गण्डकी प्रदेश प्रहरी र दोस्रो खेलमा गुठी युनाइटेडले गहते युवा क्लबको सामना गर्ने छ । बागलुङ सुधार केन्द्र जेसीज कपको दोस्रो र गुठी युनाइटेड तेस्रो संस्करणको च्याम्पियन टोली हो ।
गहते बागलुङ कालिकामाथि संघर्षपूर्ण जित निकालेर सेमीफाइनलमा पुगेको टोली हो भने नेपाल आर्मीको कालीजंग गणमाथि ६–० गोलको रवाफिलो जित निकालेपछि गण्डकी प्रदेश प्रहरीलाई प्रतियोगिताको बलियो उपाधि दाबेदारको रुपमा हेरिएको छ ।
प्रतियोगिताको विजेता टोलीले नगद दुई लाख रुपियाँसहित ट्रफी, मेडल र प्रमाण पत्र तथा उपविजेताले नगद एक लाखसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । सेमिफाइनमा पुग्ने टोलीलाई नगद १२/१२ हजार रुपियाँ प्रदान गरिने छ ।
यस्तै, विधागततर्फ सर्वोत्कृष्ट खेलाडि र अनुशासित टोलीलाई नगद १०/१० हजार, सर्वाधिक गोलकर्ता, उत्कृष्ट किपर, मिडफिल्डर र डिफेन्डरलाई नगद पाँच/पाँच हजार रुपियाँ र ट्रफी प्रदान गरिने आयोजक बागलुङ जेसीजका कार्यकारिणी उपाध्यक्ष तथा प्रतियोगिता संयोजक सुभम राजभण्डारीले जानकारी दिनुभयो ।