• ११ मंसिर २०८१, मङ्गलबार

चमेरा संरक्षण क्षेत्र जोखिममा

blog

नगरपालिका ३ देवानगढियास्थित पोखरीको डिलको रुखमा झुन्डिएको चमेरा । तस्विर : नारद कोहार

नारद कोहार

तौलिहवा, भदौ १५ गते । राष्ट्रिय निकुञ्ज र वन्यजन्तु आरक्षबाहेक नेपालमै पहिलो पटक घोषणा गरिएको चमेरा संरक्षण क्षेत्र जोखिममा परेको छ । चमेरा लोप हुन थालेपछि २०७० मा कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका –३ देबानगढीयामा एक हेक्टर क्षेत्रफललाई संरक्षण क्षेत्र घोषणा गरिएको थियो । 

चमेरालाई दुई प्रकार मांसाहारी र फलाहारी चमेरामा वर्गीकरण गरिएको छ । मांसाहारी चमेरो कीरा, फट्याङ्ग्राहरू खाएर जीवन निर्वाह गर्छ भने फलाहारी चमेरो चाहिँ फलफूल खाएर जीवन निर्वाह गर्ने गरेको चराविदहरुको भनाइ छ । 

पर्यावरण र जैविक विविधताको दृष्टिकोणले उपयोगी जीव चमेरा पछिल्लो समय लोप हुने अवस्थामा पुगेको उहाँहरूको बुझाइ छ । देवानगढियास्थित पोखरीको डिलमा रहेको रुखमा करिब ५ सयको हाराहारीमा चमेरा बस्छन् । संरक्षण क्षेत्र घोषणा गरिए पनि सरोकारवालाको बेवास्ताका कारण चमेरा सङ्कटमा परेको स्थानीयले बताएका छन् ।

जैविक विविधताका दृष्टिकोणले समेत महत्त्वपूर्ण मानिने चमेराको संरक्षण नगरिए नेपाल बाटै चमेरा लोप हुने अवस्थामा पुगेको स्थानीय शम्भु शैनीले बताउनुभयो । वासस्थानका कारण पनि चमेरा लोप हुन थालेको उहाँको बुझाइ छ । संरक्षण क्षेत्र घोषणा गरिए पनि सरोकारवालाले वास्ता नगर्दा यहाँ रहेको चमेराहरू सङ्कटमा परेका छन् शैनीले भन्नुभयो ।

विश्व भरी करिब एघार सय प्रजातिका चमेराहरू पाइने गरेको बताइन्छ । नेपालमा ५३ प्रजातिका चमेरा पाइने गरेको चराविद् भूपाल नेपालीले बताउनुभयो । विशेषगरी कपिलवस्तुको देवानगढियामा राज चमेराको वासस्थानका साथै प्रजनन क्षेत्र रहेको उहाँले बताउनुभयो ।

चमेरा संरक्षणका लागि सरोकारवालासँग छलफल गरी संरक्षण गर्ने कपिलवस्तु नगरपालिका ३ का वडा अध्यक्ष रुद्रबहादुर गैरेले बताउनुभयो । नीति बनाएर संरक्षणका लागि पहल गर्ने उहाँले प्रस्ट पार्नुभयो ।  

विश्वमै दुर्लभ मानिने रातमा ९० प्रतिशत र दिनमा १० प्रतिशत मात्र उज्यालो हेर्न सक्ने स्तनधारी चमेरो अहिले कपिलवस्तु जिल्लाका विभिन्न ठाउँको रुखमा झुन्डिएका देखिन्छन् । फलाहारी चमेराले वनजंगल जोगाउन र बीउ विजन परागसेचन गरेर फूलहरुको फर्टिलाइजेसन गर्न समेत मद्दत गर्छ । त्यसै गरी मांसाहारी चमेराले पनि विभिन्न अन्नबालीका लागि हानिकारक मानिने कीरालाई खाएर कृषकलाई सहयोग गर्ने गरेको चराविदहरुको भनाइ छ ।