• ८ मंसिर २०८१, शनिबार

हास्यव्यङ्ग्य विशेष/व्यङ्ग्य

कालाभेरास काउन्टीको प्रख्यात उफ्रिने भ्यागुतो

blog

मार्क ट्वेन (सन् १८३५–१९१०) प्रसिद्ध अमेरिकी लेखक हुन्  । उनका लघुकथा तथा उपन्यास बेजोड भाषा तथा व्यङ्ग्यकार मानक मानिन्छन्  । सन् १८६५ मा प्रकाशित ‘कालाभेरास काउन्टीको प्रख्यात उफ्रिने भ्यागुतो’ले ट्वेनलाई एक उदीयमान कथाकारको परिचय दिएको थियो  । व्यङ्ग्य र परिहासले भरपूर यस कथा ट्वेनका प्रसिद्ध कथाहरूमा सूचीबद्ध छ  । यसलाई अङ्ग्रेजीबाट नेपालीमा शेखर खरेलले भाषान्तर गरेका हुन् ।

मेरा एक मित्रको अनुरोधबमोजिम मैले बोलक्कड तर अत्यन्तै मिजासिला वृद्ध साइमन ह्विलरसँग भेट गरेँ र मेरा मित्रका पनि मित्र लियोनिडास डब्लू स्माइली बारेका जिज्ञासा राखे  । यद्यपि लियोनिडास डब्लू स्माइली कुनै व्यक्तिभन्दा पनि रहस्य नै हुन् भन्ने कुराले मेरो मनमा डेरा जमाउँदै आएको थियो  । मेरा मित्रले ती व्यक्तिलाई कहिल्यै चिनेका होइनन् बरू ती व्यक्तिबारे सोधपुछ गर्दा ह्विलर महोदयलाई जिम स्माइली भन्ने एउटा बदनाम पात्रको सम्झना दिलाउँछ र उनले ती व्यक्तिबारे तुच्छ र पट्यारलाग्दो सम्झना ओकल्नेछन् भन्ने मेरो अनुमान थियो  । यदि उनले त्यस्तै तानाबाना बुनेका रहेछन् भने त, त्यसले पक्कै काम गर्ला  । 

म पुग्दा साइमन ह्विलर एन्जेल्सस्थित पुरानो खानी रहेको एउटा रुग्ण भट्टीमा मस्तले उँघिरहेका थिए  । तालुखुइले र मोटो ज्यानका उनी पहिलो भेटमै सरल र हार्दिक लाग्दथे । उनी निद्राबाट ब्युँझिँदै मलाई शुभदिनको अभिवादन गरे । मैले उनलाई मेरा एक मित्रले उनका किशोरावस्थाका अभिन्न मित्र लियोनिडास डब्लू स्माइलीबारे केही जानकारी लिनका निम्ति उनीसमक्ष पठाएको कुरा बताएँ । लियोनिडास डब्लू स्माइली उर्फ इसाई धर्मका तन्नेरी पादरी रेभेरेन्ड लियोनिडास डब्लू स्माइलीबारे मेरा मित्रले आफू कुनै बेला एन्जल्स क्याम्पको बासिन्दा हुँदा सुनेका बताएका थिए । यदि ह्विलर महोदयले रेभेरन्ड लियोनिडास डब्लू स्माइलीबारे केही कुरा बताइदिएमा आफू अत्यन्तै कृतज्ञ रहने पनि मैले उनलाई बताएँ । 

साइनम ह्विलरले मलाई भट्टीको कुनातिर डोहो¥याउँदै कुर्सीमा बसाले, अनि आफ्नो एक तमासको कहानी सुनाउन सुरु गरे । मैले उनलाई निर्बन्ध कथा वाचन निम्ति छाडिदिने निधो गरँे । त्यसैले कहिल्यै एक झमाटका लागि भए पनि उनको वाचन अवरुद्ध गरिनँ । उनको कथा वाचन उनकै लवजमाः

अँ ह्याँ, एकताका जिम स्माइली नामका एक जना दाउरे बस्ने गर्दथे, सायद ४९ को हिउँद हो वा ५० को वसन्तयामतिर । म ठ्याक्कै चाहिँ सम्झिन सक्दिनँ । ऊ क्याम्पमा आएको बेला काठको नहर बनाउने काम सकिएको थिएन । जे होस्, ऊ कुनै पनि कुरामा अत्यन्तै जिज्ञासु र मौका मिल्नासाथ बाजी थापिहाल्ने स्वभावको मानिस थियो । उसलाई आफ्नो कुरामा बाजी थापिदिने मान्छे मात्र भए पुग्थ्यो । यदि त्यो मान्छे बाजी थाप्न तयार भएन भने उनी पक्ष नै बदल्नसमेत तयार हुन्थे । अर्काे मान्छेले जे चाहन्थ्यो, त्यो उसलाई मञ्जुर हुन्थ्यो । बस् उसलाई बाजी मात्र थाप्न पाए पुग्थ्यो । यति गर्दा पनि ऊ अति नै भाग्यशाली निस्कन्थ्यो । ऊ सधैँजसो विजेता बन्दथ्यो । जेजस्तो कुरा होस्, ऊ बाजीका लागि तयार हुन्थ्यो । घोडदौड होस् कि कुकुर जुधाई, ऊ बाजी लगाइरहेको हुन्थ्यो । बिरालो होस् कि भाले जुधाइ ऊ बाजी थापिहाल्थ्यो । यतिसम्म कि यदि बारमा दुई चराहरू बसेका हुन्थे भने ऊ तीमध्ये कुन चाहिँ पहिला उड्छ भन्दै बाजी थाप्थ्यो । यदि कुनै कीरा कतैतिर हिँड्न सुरु गरेको हुन्थ्यो भने त्यो कति समयभित्र कहाँसम्म पुग्छ भन्दै ऊ बाजी लगाइहाल्थ्यो । यहाँका धेरै केटाहरूले त्यस स्माइलीलाई देखेका छन् र तपाईंलाई उसका बारे बताइदिन्छन् । 

ह्या स्माइलीसँग एउटी घोडी थिई, जसलाई केटाहरू पध्र मिनेटकी टट्टु भन्ने गर्दथे । त्यो कुरा चाहिँ यसै हाँसो ठट्टमा मात्र किनकि घोडी त्योभन्दा छिटो थिई । ऊ त्यो घोडीमा पनि दाउ लगाउथ्यो र जित्थ्यो । घोडीलाई के मात्र रोग थिएन; दम, खोकी, क्षयरोग वा त्यस्तै खाले बिमारीहरू । उनीहरू घोडीलाई दुई–तीन सय गजको मात्र लक्ष्य दिन्थे । घोडी सुरुमा सुस्त भए पनि दौडको अन्तिम बिन्दुतिर आइपुग्दा उत्तेजित हुन्थी, आफ्ना खुट्टाहरू तन्काउँदै, भुइँको धुलो उडाउँदै अनि खोक्दै र नाक–मुखबाट ¥याल सिँगान चुहाउँदै घाँटी मात्र तन्काएर  भए पनि दौडको अन्तिम रेखा अरूहरूले भन्दा अघि नै छुन्थी ।

स्माइली विभिन्न प्रजातिका कुकुर, कुखुरालगायत विचित्रका प्राणीहरू पाल्थ्यो, जसको उद्देश्य उही बाजी हुन्थ्यो । एक दिन उसले एउटा भ्यागुतो पक्रिएर घर ल्यायो । ऊ त्यसलाई पढाउँछु भन्थ्यो । त्यसैले ऊ तीन महिनासम्म अरू केही नगरेर घर पछिल्तिर त्यसलाई कसरी उफ्रिने भन्ने सिकाउनतिर लाग्यो । नभन्दै त्यो भ्यागुतोले पनि उफ्रिन सिक्यो । ऊ भ्यागुतोको पछाडितिर प्याट्ट हिर्काउँथ्यो, पलभरमै त्यो भ्यागुतो सेल पकाएजसरी हावामा चक्कर मार्दथ्यो । कहिले एक त कहिले दुई फन्को । राम्ररी छलाङ मारेको रहेछ भने त त्यो भुइँमा बिरालोझैँ टक्क खुटा टेक्थ्यो ।

स्माइली भ्यागुतोलाई झिँगा पक्रिने काममा पनि प्रयोग गर्दथ्यो । निरन्तर अभ्यासका कारण भ्यागुतो झिँगा देख्नेवित्तिकै उफ्रिहाल्थ्यो र आफ्नो निशानामा चुक्दैनथ्यो । स्माइली भ्यागुतोका निम्ति शिक्षा आवश्यक पर्ने बताउँथ्यो । उसले डान्यल वेब्स्टरलाई किन भुइँमा राखेको भन्ने मैले बुझेँ । अँ, उसले भ्यागुताको नाम डान्यल वेब्स्टर राखेको थियो । ऊ कराउँथ्यो, ‘झिँगा, डान्यल झिँगा !’ तपाईंले परेला झिम्काइन्जेल भ्यागुतो तनक्क तन्किँदै हावामा कावा खाँदै झिँगाको सिकार गर्दै भुइँमा माटोको गोलाझैँ जब्बर बज्रिन्थ्यो । अनि पछाडिका खुट्टाहरूले आफ्नो टाउको कन्याउथ्यो, मानौँ उसलाई केही भएकै छैन । तपाईं त्यति बेफिक्री भ्यागुतो सायदै कतै देख्नुहुन्छ । जब समथर ठाउँबाट उफ्रिने कुरा आउँथ्यो, ऊ आफ्ना जातिका अन्य प्राणीभन्दा भुइँदेखि ज्यादा नै तन्किन्थ्यो । खासमा समथर ठाउँबाट उफ्रिनमा नै ऊ निपुण थियो । यस्तो कुरामा त स्माइली आफूसँग भए जति दाम दाउमा राख्थ्यो । ऊ आफ्नो भ्यागुतोप्रति उधुम गर्व गर्दथ्यो । 

स्माइली त्यस सानो प्राणीलाई एउटा सानो जालीदार बाकसमा राख्थ्यो र सहर बजारतिर झर्दा कहिलेकाहीँ त्यसलाई सँगै लग्थ्यो र मौका मिल्नासाथ बाजी थाप्थ्यो । एक दिन क्याम्पमा कतैबाट एउटा अर्काे दाउरे पनि आइपुग्यो र त्यो बाकस देखेपछि सोध्न थाल्यो–

‘साँच्चै त्यो बाकसमा तिमीले के राखेका छौ ?’

त्यो सुनेर स्माइली बेपर्वाह भन्छ, ‘सायद सुगा होला, नभए कोइली तर अहँ त्यो होइन, यो मात्र एउटा भ्यागुतो ।’ 

अनि त्यो नयाँ दाउरे बाकस उठाउँछ र त्यसलाई ध्यानपूर्वक नियाल्छ, अनि भन्छ, ‘अँ, यसको विशेषता चाहिँ के नि ?’

स्माइली फेरि निस्फिक्री जवाफ दिन्छ, ‘यो एउटा कामका लागि बेजोड छ, यसले कालाभेरास काउन्टीका कुनै पनि भ्यागुतोलाई उफ्रिनमा मात खुवाउँछ ।’

नयाँ दाउरे बाकसलाई फेरि उठाउँछ, लामो समयसम्म नियाल्छ र बाकस फेरि स्माइलीलाई थमाउँदै भन्छ, ‘यो अरू भ्यागुताभन्दा खास फरक हुनुको कुनै कारण त म देख्दिनँ ।’

‘हुनसक्छ तिमी देख्दैनौ’, स्माइली भन्छ, ‘हुनसक्छ तिमी भ्यागुतोबारे उति जान्दछौ र हुनसक्छ तिमी तिनीहरूबारे बुझ्दैनौ पनि । तिमी अनुभवी हुनसक्छौँ, वा सौखिन मात्र । जे होस्, मेरो आफ्नै विचार छ । यसका लागि कालाभेरास काउन्टीका कुनै पनि भ्यागुतोविरुद्ध चालीस डलर मोल्न म तयार छु ।’ 

नयाँ दाउरे एकछिन गम्छ, अनि केही दबेको स्वरमा भन्छ, ‘म यहाँ एक अजनबी मात्र हुँ, मसँग कुनै भ्यागुतो छैन । यदि हुन्थ्यो भने म तिमीसँग बाजी लगाउँथे ।’

त्यस दाउरेको कुरा सुनेर स्माइली भन्छ, ‘हैन केही छैन, केही छैन । तिमी मेरो बाकस समाऊ, म तिम्रा लागि एउटा भ्यागुतो खोजिदिन्छु ।’ दाउरे बाकस समाउँछ र स्माइलीको पैसासँगै आफ्नो चालीस डलर बाजीका लागि भुइँमा राख्दै पर्खन्छ । 

ऊ स्माइलीलाई पर्खिउन्जेल सोचमग्न हुनथाल्छ । अनि बाकसबाट भ्यागुतो निकाल्छ, त्यसको मुख उघार्छ र चम्चाभरिका सिसाका गोलीहरू भ्यागुताको मुखभित्र कोच्न थाल्छ । घाटी–घाटीसम्म गोलीहरू भरिएपछि ऊ भ्यागुतालाई भुइँमा राख्छ । स्माइलीलाई हिलोतिर भ्यागुतो खोज्न केही समय लाग्छ । अन्ततः ऊ भ्यागुतो समाउन सफल हुन्छ । समाइली त्यो भ्यागुतो त्यस दाउरेलाई थमाउँदै भन्छ–

अब तिमी तयार छौ भने यसलाई डान्यलसँगै राखिदेऊ अगाडिका पञ्जाहरू बराबर हुनेगरी, अनि म भन्छु । स्माइली आदेश दिन्छ, ‘एक, दुई, तीन, उफ्रिने !’ ऊ र नयाँ दाउरे आआफ्ना भ्यागुतोलाई पछाडिबाट प्याट्ट हिर्काउँछन् । नयाँ भ्यागुतो छलाङ हान्छ । डान्यल पनि उफ्रन निम्ति जोर लगाउँछ, आफ्ना कुमहरू उचाल्न खोज्छ । तर केही लाग्दैन । ऊ टसमससम्म हुँदैन, मानौँ ऊ जमिनमै गाडिएको छ । स्माइली चकित खान्छ, अनि चिढचिढिन्छ । तर उसलाई के भइरहेछ भन्ने अत्तोपत्तो हुँदैन ।

नयाँ दाउरे पैसा उठाएर आफ्नो खल्तीमा हाल्छ । जसै ऊ ढोकासम्म पुगेको हुन्छ, डान्यलतिर फर्किंदै भन्छ, ‘खै, मैले त त्यस भ्यागुतोमा त्यस्तो केही देखिनँ, अरू भ्यागुतोहरूभन्दा खास हुनलाई ।’ 

स्माइली टाउको कन्याउँदै लामो निर्निमेष डान्यललाई हेरिरहन्छ, अनि भन्छ, ‘त्यो भ्यागुतोमा त्यस्तो के थियो ! कतै केही गडबड त थिएन ? त्यो अलि भद्दा चाहिँ थियो ।’ अनि ऊ डान्यलको घाँटीछेउ समातेर उठाउँछ र भन्छ, ‘विचारा यसको के दोष पाँच पाउन्डको छैन भने !’ त्यसपछि ऊ भ्यागुतोलाई उँधोमुन्टो लगाउँदै पल्टाउँछ । हेर्दाहेर्दै भ्यागुतो दुई मुठीजति सिसाका गोलीहरू ओकल्न थाल्छ । अब ऊ आफूलाई कसरी मूर्ख बनाइएछ भन्ने बुझ्छ । अनि त्यस दाउरेलाई खोज्न निस्कन्छ । तर त्यतिन्जेल नयाँ दाउरे अलप भइसकेको हुन्छ ।      

(यसै बेला साइमन ह्विलर आगनतिरबाट आफ्नो नाम बोलाइँदै गरेको सुन्छ । अनि जुरुक्क उठेर हेर्न थाल्दछ ।) जसै बाहिर निस्कँदै गर्दा ऊ मतिर फर्कंदै भन्छ, ‘तिमी जहाँ छौ, त्यहीँ बस, मलाई धेरै बेर लाग्दैन ।

तर मलाई जिम स्माइलीको कथा शृङ्खलाबाट रेभरेन्ड लियोनिडास डब्लू स्माइलीबारे थप जानकारी मिल्छ जस्तो लाग्दैन । त्यसैले म ह्विलरलाई कुर्नुभन्दा त्यहाँबाट हिँड्नु नै उचित ठान्दछु ।’ 

भट्टीबाट निस्कँदै गर्दा ढोकामा मिजासिला ह्विलर भेटिन्छन् । उनी फेरि मेरो ध्यान खिच्दै भन्न थाल्छन्,

‘अँ, ह्याँ स्माइलीले पहेँलो रङको एक आँखे गाई ल्याएको थियो, त्यसको पुच्छर भने थिएन । मात्र केरा जस्तै लाग्ने छोटाछोटा खुट्टाहरू ...।

‘छाडिदेऊ स्माइली र उसका दुःखी गाईलाई’, मैले अनायसै कुरा रोक्ने चेष्टा गरेँ र ती भलाद्मी वृद्ध मानिसलाई शुभ–दिनको अभिभादन प्रकट गर्दै आफ्नो बाटो तताएँ ।