• १६ वैशाख २०८१, आइतबार

सङ्गठित गिरोह नै संलग्न भएको आशङ्का

blog

काठमाडौँ, भदौ १५ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसाको आवरणमा हजारौँको सङ्ख्यामा खाडी मुलुक पठाएको घटनामा सङ्गठित गिरोह नै सक्रिय रहेको हुन सक्ने आशङ्का विज्ञहरूले राख्नुभएको छ।  

भिजिट भिसाको माध्यमबाट अधिकांश किशोरीका कागजपत्र नक्कली भेटिनु र सजिलै खाडी मुलुक पुगिरहेको घटनामा कतिपय म्यानपावर कम्पनी र तिनका दलालमार्फत विमानस्थलका कतिपय कर्मचारीको समेत मिलेमतो रहेको हुन सक्ने भएकाले निष्पक्ष छानबिनको माग गरिएको छ।  

पूर्वगृहसचिव गोविन्द कुसुमले भिजिट भिसामा खाडी मुलुक जान लागेका यात्रुको कागजपत्र नक्कली हुनु र सयौँको सङ्ख्यामा उनीहरूलाई विमानस्थलबाट फिर्ता गरिएको घटनालाई सामान्य रूपमा लिन नहुने बताउनुभयो। उहाँले यस प्रकारको गम्भीर घटनामा नेपाल सरकार तथा सम्बन्धित मन्त्रालयले आवश्यक छानबिन गरी सत्यतथ्य पत्ता लगाई दोषीलाई कडा कारबाही गर्नुपर्ने बताउनुभयो। 

नेपाली युवालाई मानव तस्करले अन्य मुलुकका विभिन्न ट्रान्जिटबाट खाडी मुलुक पु-याउने गरेको पाइएको थियो तर पछिल्लो समय मुलुककै विमानस्थल प्रयोग गरी खुलेआम हजारौँको सङ्ख्यामा खाडी मुलुक पठाइनुले अध्यागमनका कर्मचारीमाथि नै प्रश्न उठ्ने गरेको छ। 

भिजिट भिसामा जाने कतिपय यात्रुका कागजपत्र पूरा हुँदासमेत विभिन्न बहानामा विमानस्थलबाट फिर्ता गर्नु तर नक्कली कागजपत्रकै आधारमा ठूलो सङ्ख्यालाई भ्रमण अनुमति दिने काम बिचौलियाबिना सम्भव नहुने दाबी सुरक्षाका जानकारले व्यक्त गर्नुभएको छ।

नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक हेमन्त मल्लले विमानस्थलबाट यस प्रकारका घटना पटक–पटक दोहोरिएकाले स्वतन्त्र र निष्पक्ष छानबिन हुनुपर्ने धारणा व्यक्त गर्नुभयो। मल्लले भन्नुभयो, “अध्यागमनबाट हुने यस प्रकारका घटनामा कर्मचारीदेखि उपल्लो निकायका व्यक्तिसम्म जोडिने गरेको पाइएको छ। यसबारे सरकार र संसद्ले समेत छुट्टाछुट्टै छानबिन गरी सत्यतथ्य बाहिर ल्याउनुपर्छ।” 

विभिन्न म्यानपावर कम्पनीले अध्यागमन र विभिन्न विमान कम्पनीका कर्मचारीसँग मिलेमतो गरी किर्ते कागजमार्फत विभिन्न भिसामार्फत नेपाली युवालाई खाडी मुलुक पु-याउने गरेको अनुसन्धानमा संलग्न अधिकारीले दाबी गरेका छन्। राष्ट्रिय अनुसन्धान विमागका पूर्वप्रमुख देवीराम शर्माले त्रिवि अन्तर्राष्ट्रिय विमानस्थलमार्फत मानव तस्करीका लागि विभिन्न गिरोह सधैँ सक्रिय रहने गरेको बताउनुभयो। शर्माले यस घटनमा संलग्न म्यानपावर कम्पनी र दलालमाथि कडा कारबाही हुनुपर्ने बताउनुभयो। उहाँले यस प्रकारका घटना बारम्बार दोहोरिएकाले यसको समाधानका लागि नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभागलाई समेत अध्यागमनमा खटाइनुपर्ने बताउनुभयो। 

गृह मन्त्रालयले भिजिट भिसामा खाडी मुलुक जाने क्रममा प्रयोग अध्यागमन कार्यालयमा पेस भएका कागजपत्र र फर्काइएका यात्रुबारे नेपाल प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ। गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले अध्यागमनबाट नक्कली कागजपत्र प्रयोग गरी भिजिट भिसामा खाडी मुलुक जाने गरेकोबारे मन्त्रालयले समेत आन्तरिक रूपमा बुझिरहेको बताउनुभयो।

पोखरेलले भन्नुभयो, “नक्कली कागजपत्र पेस गरी खाडी मुलुक पठाउने गरेको भन्नेबारे हामीले आन्तरिक रूपमा बुझिरहेका छौँ। केही कमजोरी पाइए संलग्नमाथि कानुनी कारबाही गर्छौँ ।