• १९ असार २०८१, बुधबार

चालीस घरपरिवारको उठीबास

blog

गोकर्ण दयाल

बैतडी, भदौ १४  गते । पुरचौडी नगरपालिका–८ को कमेरपानीमा २७ वर्षअघि सुरु भएको पहिरोले ४० घरपरिवारलाई सुकुम्बासी बनाइसकेको छ। २०५२ सालदेखि बग्न थालेको पहिरोले ९५ घरधुरी उच्च जोखिममा पारेको छ।

स्थानीय हरिस साउदका अनुसार बर्खामा मात्रै होइन, यहाँ हिँउदमा समेत पहिरो खस्छ। पहिरो खसेको स्थानमा गन्धक जस्तो नराम्रो दुर्गन्ध आउँछ। यद्यपि सो सम्बन्धमा कुनै अनुसन्धान हुन नसकेको स्थानीयवासी बताउँछन्।

पहिरोले यहाँका डणपुर, लामुनी, चिमडा, टुणेँत, सल्ला, गरखा, पेल्तडी, धन्नासी, न्वाकोट लगायतका गाउँ जोखिममा परेका छन्। खानेपानीको मुहानसमेत पहिरोले लगेपछि गाउँमा पानीको समस्या छ। स्थानीय साउदले भन्नुभयो, “लामुनी र कमेरपानीको दुईवटा डाँडा पूरै पहिरोमा परिणत भएका छन्। पहिरो नजिक गए त अझ बढी दुर्गन्ध आउने गरेको छ।” 

सिङ्गो पहाड नै पहिरोमा परिणत भएपछि रोकथामका लागि राज्यका निकायबाट प्रयास नभएको पनि होइन। यद्यपि ती प्रयासले पहिरो नियन्त्रण सम्भव नभएको साउदले बताउनुभयो। 

भूगर्भविद्ले पहिरो क्षेत्रमा अनुसन्धान गर्नुपर्ने स्थानीयवासीको माग छ। कमेरपानीको पहिरोबाट बर्खामा लेदो बग्ने गरेको छ भने हिउँदमा सफा पानी देखिन्छ। पानीमा फिँज आउने गरेको स्थानीयवासी लोकेश साउदले बताउनुभयो।

बर्सेनि पहिरो नियन्त्रणका लागि आएको बजेट पहिरोको विस्तृत अनुसन्धानभन्दा पनि तटबन्ध निर्माणमा सकिने गरेको उहाँको भनाइ छ। नदीले कटान गरेको भए त तटबन्ध लगाउनु ठिकै होला तर डाँडा नै खसेर आउने पहिरोले त त्यो तटबन्ध पुरिने गरेको साउदले बताउनुभयो। पहिरो खस्दा दुर्गन्ध आउने र पानीमा फिँज आउने विषयमा नास्टका वैज्ञानिक डा. भोजराज पन्तले पहिरोभित्र जिङ्क (धातु) को खानी हुन सक्ने बताउनुभयो।

उहाँले भन्नुभयो, कमेरपानी र लामुनी पहिरोबाट आउने पानी परीक्षण गरेर अथवा खानी तथा भूगर्भ विभागको टोलीलाई स्थानीय तहले खोज अनुसन्धानका लागि माग गर्नुपर्छ।