• १९ असार २०८१, बुधबार

मिटरब्याजी पीडितको समस्या बुझ्दै कार्यदल

blog

ललिता साह

बोदेबर्साइन (सप्तरी), भदौ १४ गते । मिटरब्याजको समस्या समाधानको निम्ति सरकारद्वारा गठित कार्यदलले आइतबार सप्तरीको मिटरब्याजबाट पीडितसँग प्रत्यक्ष भेटघाट गरी प्रकृतिगत समस्याबारे जानकारी लिनुभएको छ। मिटरब्याजी पीडितको वास्तविक समस्या र पीडालाई मिडियाले उजागर गरेका कारण सरकार गम्भीर भएर यसको जरासम्म गई समस्या समाधानका लागि कार्यदलले स्थानीय सरकार, बैङ्किङ क्षेत्र, प्रहरी, पत्रकार सबैसँग सहकार्य गरेर तीव्रताले काम गरिराखेको कार्यदलका संयोजक डाक्टर भीष्मकुमार भुसालले बताउनुभयो।

जिल्लाका १८ वटा स्थानीय तहमध्ये सप्तकोसीबाहेक १७ वटै स्थानीय तहमा मिटरब्याज पीडकविरुद्ध ११२ वटा उजुरी परेको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले कार्यदललाई जानकारी दिनुभयो। “वास्तविक पीडितलाई मिटरब्याजीको चङ्गुलबाट मुक्त गरेर गुमाएका घर जग्गा फिर्ता हुन सक्ने आधार प्रमाणसहित काम गर्न कार्यदलले सरकारलाई सुझाव दिनेछन्। यति धेरै बैङ्क तथा वित्तीय संस्था हुँदाहुँदै देशभरिबाटै यति ठूलो सङ्ख्यामा सोझा जनता चर्को ब्याजमा भए पनि साहु महाजनसँगै ऋण लिने कारणबारे थप अध्ययन गरी तीनै तहको सरकारलाई त्यस प्रकारको बजेट नीति कार्यान्वयनको सुझाव दिने उहाँले बताउनुभयो।

जिल्लामा भएका बैङ्क तथा वित्तीय संस्थाले पुँजीपति वर्ग तथा मिटरब्याजीसँग मिलेर नाफा कमाउने उद्देश्यले करोडौँको लगानी उनीहरूसँगै गर्ने, तल्लो तहका नागरिकमुखी कर्जा नदिएर विभिन्न बहानामा फर्काउने, कर्जा प्रक्रिया झन्झटिलो, न्यून सम्पत्ति मूल्याङ्कनलगायतका कारण ग्रामीण किसान बैङ्कभन्दा साहुकहाँ जान बाध्य रहेको शम्भुनाथ नगरप्रमुख जितेन्द्र गुप्ताले गुनासो राख्नुभयो। लक्ष्मी बैङ्क राजविराज शाखाका प्रमुख अनिलराज दासका अनुसार हामीसँग किसानका लागि, विपन्नका लागि छुट्टाछुट्टै प्याकेज भए पनि सेवाग्राहीले कागजात नपु¥याएर आउँदा बैङ्कले ऋण दिन नसकेको अवस्था रहेको बताउनुभयो। चेतनाको कमी भएर महिला व्यापक रूपमा मिटरब्याजीको फन्दामा परेका छन् । स्थानीय तहले यस्तो जनचेतना जगाउन आवश्यक कार्य गर्ने राजविराज नगरपालिकाका कार्यवाहक निमित्त प्रमुख इसरत परबिनले भन्नुभयो । जनता नै सचेत हुनुबाहेक स्थानीय सरकारसँग मिटरब्याजीलाई कस्सी लगाउन सक्ने कुनै अधिकार नरहेको बोदेबर्साइन नगरपालिका प्रमुख आतेषकुमार सिंहको भनाइ छ । गरिब जनता ब्याजमै डुबे पनि बैङ्कले देखाउँदै आएको आफ्नै मुनाफाको चिन्ताले समस्या जटिल बन्दै गएको हो । स्थानीय सरकार नागरिक सचेतनामूलक अभियान सञ्चालन गर्नतिर अग्रसरता देखाउने कन्चनरूप नगरपालिका प्रमुख ललन गुप्ताले बताउनुभयो। मिटरब्याजीपीडितलाई उजुरीका लागि कार्यदलले आह्वान गरेको भदौ ५ गतेको समयसीमा समाप्त भएपश्चात् पनि पीडितहरूको उजुरी आउने क्रम जारी रहेको र उजुरीको गम्भीरता हेरेर निवेदन लिने गरेको प्रजिअ प्रमुख गौतमले बताउनुभयो। मिटरब्याजीपीडित रूपनी–२ का भागवत यादवले भन्नुभयो, “बच्चा पढाउन २०७३ चैत ५ मा बद्री यादवसँग एक लाख लिएपछि अरू पैसा दिन्छु भनेर पाँच लाखको तमसुक गराए। अहिले खेपी भनेर ४६ लाख माग्दैछन्।” 

बोदेबर्साइनका मिटरब्याजी रामदेव साहबाट पीडित श्रीलाल पासमान भन्नुहुन्छ, १६ लाखको ब्याज जोडेर ७६ लाख रुपियाँ हिसाब देखाएको छ। १६ कट्ठा जग्गा पास गरेको छु। मिटरब्याजी छोटेलाल साहबाट पीडित देवविलास यादव, अग्निसाइर गापाका भोटलीदेवी थरुनी, सन्तोष चौधरीलगायतका पीडितले छलफलमा कार्यदलका संयोजकसँग पीडा सुनाउनुभयो। पीडितलाई उजुरीको समयसीमा छोटो भएको गुनासोमा संयोजक भुसालले भन्नुभयो, “कार्यदलले कुनै समयसीमा तोकेको छैन।” समाजमा चलिरहने यस्ता ठगीविरुद्धको उजुरी पीडितले सम्बन्धित निकायमा २४सै घन्टा दिन सकिने उहाँले प्रस्ट्याउनुभएको छ। 

मिटरब्याजीविरुद्ध सप्तरी प्रहरीले तीव्र अनुसन्धानसहित काम गर्दै आएको छ। सप्तरीका मिटरब्याजी खडक नगरपालिका रामदेव साह, निजका छोराछोरीमाथि मुद्दा दायर भएर अदालतको आदेशबाट पुुर्पक्षका लागि थुनामा राखिएको सप्तरी प्रहरी प्रमुख अविनारायण काफ्लेले जानकारी दिनुभयो। त्यसबाहेक दुईवटा उजुरीमा इलाका प्रहरी कल्याणपुरले समन्वय गरेर पीडक र पीडित दुवै पक्षबीच ऋण चुक्ता र जग्गा फिर्ता गर्ने लिखित सहमतिमा मिलापत्र नै गराइएको इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रमुख राजु अधिकारीले जानकारी गराउनुभएको छ।