• २३ वैशाख २०८१, आइतबार

गौतम बुद्ध विमानस्थलबाट कार्गो सुरु

blog

मीनराज भण्डारी

काठमाडौँ, भदौ १२ गते । व्यावसायिक रूपमा सञ्चालनमा आएको तीन महिनापछि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कार्गो सेवा सुरु भएको छ । शुक्रबार पहिलोपटक काठमाडौँको हिमालेक्स ट्रेडर्सले राइजिङ स्टार कार्गो प्रालिमार्फत कार्गो विदेश पठाउन सुरु गरेको हो । 

हाल कुवेतको जजिरा एयरले साताको तीनवटा उडान गर्दै आएको भैरहवा विमानस्थलमा यात्रु जहाजबाटै कार्गो पठाउन सुरु भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले बताउनुभयो । काठमाडौँबाट ट्रकमार्फत भैरहवा पु-याइएको एक हजार तीन सय किलो हस्तकला र ऊनजन्य सामान निकासी गरिएको सो विमानस्थलका भन्सार प्रमुख टीकाराम गैरेले बताउनुभयो । उक्त कार्गो कुवेत ट्रान्जिट भएर शनिबार बिहान ७ बजेको उडानमार्फत फ्रान्स पठाइएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “भन्सार महसुल, भूमिस्थ सेवालगायतका छुट सुविधाले गर्दा भैरहवाबाट भाडादरसमेत सस्तो छ । यसले यो विमानस्थलमा आकर्षण बढाउन र विदेशी मुद्रा आर्जनमा सहयोग पु-याउने विश्वास छ । हाललाई यात्रु उडानमार्फत नै कार्गो निकासी सुरु भएको हो ।”

भदौ १५ गतेदेखि जजिराले दैनिक उडान गर्ने भएको छ भने कात्तिक १३ गतेदेखि विज एयरले साताको तीन उडान गर्ने भएको छ । उडान बढेसँगै कार्गो निकासी बढ्दै जाने उहाँको विश्वास छ । हाल काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मात्रै अन्तर्राष्ट्रिय कार्गो सेवा उपलब्ध छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सन् २०२१ को जुलाईदेखि सन् २०२२ को जुलाईसम्म ७३९ टन आयात र दुई हजार ४०९ टन कार्गाे निर्यात गरिएको छ । सन् २०२२ को सात महिनामा मात्रै ४०६ टन आयात र एक हजार २१५ टन कार्गाे निर्यात भएको छ ।