• ९ मंसिर २०८१, आइतबार

तीजले बढायो सुनको कारोबार

blog

काठमाडौँ, भदौ १२ गते  । चाडपर्व नजिकिएसँगै बजारमा सुनचाँदीको कारोबार बढ्न थालेको छ । काठमाडौँको नयाँ सडकका पसलमा अहिले गहना किन्ने ग्राहकको भीड लाग्ने थालेको छ । 

महिलाको चाड तीजको चहलपहल बढेको र दशैँ, तिहार, छठजस्ता ठूला चाडपर्व नजिकिएकाले नयाँ सुनका गहनाको कारोबारमा उलेख्य वृद्धि भएको व्यवसायीले बताएका छन् । गत जेठ, असार र साउन महिनामा बिक्री न्यून रहेकामा भदौ महिनादेखि कारोबार दोब्बरले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको हो । 

महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले भदौ महिनासँगै चाडपर्व सुरु भएकाले सुनचाँदीको कारोबार दिनप्रतिदिन बढ्दै गएको बताउनुभयो । यसअघि दैनिक १० किलोग्रामको हाराहारीमा सुन बिक्री भइरहेकामा अहिले दैनिक २५ किलोग्रामसम्म सुन बिक्री हुने गरेको उहाँले जानकारी दिनुभयो । “भदौ लागेसँगै चाडबाड पनि नजिकिन थालेकाले बजारमा सुनको माग बढ्न थालेको हो,” शाक्यले भन्नुभयो । 

बिहे र चाडपर्वको समयमा सुनको कारोबार बढ्छ । तीजलगत्तै दशैँ, तिहार आउने हुँदा सुनको कारोबार बढ्ने गर्छ । नेपाली सुनचाँदी, बजारमा दशैँको घटस्थापनाका दिन र तिहारको धनतेरसको दिन सबैभन्दा धेरै सुन कारोबार हुने गरेको छ । यसपछि मङ्सिर, पुस, माघ, फागुन, विवाहका लगन धेरै पर्ने भएकाले सुनको कारोबार उल्लेख्य हुने गर्छ ।

माग धान्नै कठिन

सरकारले विदेशी विनिमय सञ्चिति जोगाउने लक्ष्यसहित दैनिक १० किलोग्राम सुन आयात गर्न पाउने व्यवस्था गरेको छ । यसअघि दैनिक २० किलोग्राम सुन ल्याउन पाइने व्यवस्था हटाएर दैनिक कोटा १० किलोग्राममा झारेको हो । बजारमा सुनको माग बढेकाले आवश्यकताभन्दा कम सुन आपूर्ति भइरहेको व्यवसायीको भनाइ छ । गत वैशाख महिनादेखि नेपाल राष्ट्र बैङ्कले सुन आयातमा कडाइ गरी दैनिक १० किलोग्राममा झारेको थियो । 

सरकारले दैनिक १० किलोग्रामसम्म मात्र सुन ल्याउन दिएको अवस्थामा बजारको माग नै २५ किलोसम्म भएकाले आपूर्तिमा कमी भइरहेको अध्यक्ष शाक्यले भन्नुुभयो । 

सुनका गहना बनाउन आउने सेवाग्राहीले आफैँ सुन लिएर आउँछन् । सोही सुनसहितको माग जोड्दा दैनिक २५ किलो हुन आउने हो, उपभोक्ताले बेच्ने सुनको समेत प्रयोग गरेर बजारको माग धानिरहेको शाक्यले भन्नुभयो । महासङ्घका अनुसार अहिले बजारमा सुनको मूल्य प्रतितोला ९५ हजार आठ सय र चाँदी प्रतितोला एक हजार १७५ रुपियाँको हाराहारीमा छ । 

साढे ३५ अर्बको सुन आयात

गत आर्थिक वर्ष मुलुकमा ३५ अर्ब रुपियाँको पहेँलो धातु सुन आयात भएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार आव २०७८/७९ मा ३५ अर्ब ६१ करोड ९५ लाख २४ हजार बराबरको पाँच हजार ५३ किलो सुन आयात भएको छ । 

आव २०७७/७८ मा २७ अर्ब ३४ करोड ३९ लाख ५२ हजार रुपियाँको तीन हजार ९२४.५ केजी सुन भित्रिएको थियो ।

यस्तै आव २०७८/७९ मा १३ अर्ब नौ करोड २९ लाख बराबरको एक लाख ३८ हजार पाँच सय एक किलो ३६४ ग्राम चाँदी आयात भएको थियो । अघिल्लो आर्थिक वर्ष सात अर्ब ३२ करोड ६९ लाख ७१ हजार बराबरको ७२ हजार ७४६ किलो आयात भएको तथ्याङ्क छ । 

मलेसिया, कतार, युनाइटेड अरब इमिरेट्स र टर्कीलगायतका देशबाट सुनचाँदी आयात हुने गर्छ ।