• १० मंसिर २०८१, सोमबार

मानव तस्करी नियन्त्रण

blog

गरिबी, अशिक्षा तथा अनेक कारण कतिपय नेपाली बेला–बेलामा विभिन्न किसिमका बेइमानीका सिकार हुने गरेका छन्। यस्तै बेइमानीका आवरणमा मानव तस्करीको नयाँ रूप देखापरेको छ। मानव तस्करी धन्दा अहिले फस्टाएको छ। केही मानव तस्करहरूको मुख्य पेसा नै विदेशमा नेपालीलाई छलछाम गरेर पठाउनु रहेको छ। मानव तस्करी जस्तो डरलाग्दो तथा जघन्य अपराध फस्टाउनु निश्चित रूपमा सबैका लागि चिन्ताको विषय हो। सरकारका लागि गम्भीर चुनौती हो र यसले दीर्घकालमा समाजमा डरलाग्दो अवस्था सिर्जना गर्नेछ। 

गएको बुधबार प्रहरीले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा दुबई जान लागेको ठूलो सङ्ख्यामा नेपालीहरूको उद्धार गरेपछि यो विषय निकै गहन भएर चर्चामा सतहमा आएको छ। विगत केही समययता विशेष गरी खाडी मुलुकहरूमा नेपाली दाजुभाइ दिदीबहिनीको मानव तस्करी निकै 

बढ्दो रहेको सरकारी अधिकारीहरूको बुझाइ छ। बुधबार र बिहीबारका दिन मात्र विमानस्थलबाट प्रहरीले मानव तस्करी हुन लागेको आशङ्कामा ९२ जना महिला र ८४ जना पुरुषलाई फर्काएको छ। यसले यस्तो प्रवृत्ति कहिलेबाट मौलाएको होला भनेर गम्भीर अनुसन्धानका लागि बाध्य पारेको छ। वैदेशिक रोजगारीका नाममा विदेश जान सपना देखाइएका नेपाली आफ्नो गन्तव्यलगायतका विषयसँग पूर्ण अनभिज्ञ रहेको पाइएपछि नै मानव तस्करीको यो अनौठो आपराधिक घटना पत्ता लागेको हो। 

तस्करहरूले विमान टिकट, अमेरिकी डलर तथा आवश्यक कागजात दिएर विमानस्थल पु-याए पनि उनीहरूलाई कहाँ, कसलाई भेट्नेबारे कुनै जानकारी थिएन। बाध्य पारेर श्रममा बेच्नेलगायतको मानव तस्करीको जालोमा फसाउने कुचक्र रहेको प्रहरीको निष्कर्ष छ। हालमा मध्यरातमा हुने अन्तर्राष्ट्रिय उडानबाट यस किसिमका मानव तस्करी पाइन थालेको हो। मानव तस्करीको जालो क्रमिक रूपमा जेलिँदै गएको स्पष्ट हुन थालेको छ। मानवीय तथा सामाजिक दृष्टिकोणबाट निकै निन्दनीय यो कार्य रोक्न निकै जरुरी छ। मानिसको जीवनसँग उसको घरपरिवार, राष्ट्र तथा समाजको सम्बन्ध गाँसिएको हुन्छ। निज कुनै किसिमले प्रभावित भएमा ऊसँग सम्बन्धित पक्षहरूसमेत प्रभावित हुनु स्वाभाविक छ। मानव तस्करी नियन्त्रणमा प्रहरीको भूमिका महत्त्वपूर्ण हुनेमा शङ्का छैन। यसका लागि प्रहरीले निकै सक्रियतापूर्वक आफ्नो भूमिका निर्वाह गर्नुको विकल्प पनि छैन। बुधबार तथा बिहीबारको घटनाले पनि यही सन्देश दिएको छ। 

प्रहरीले मानव तस्करी नियन्त्रणका लागि सुरु गरेको विशेष अभियान प्रभावकारी बनाइनु जरुरी छ। प्रहरीलाई यस सम्बन्धमा आवश्यक तालिम तथा संसाधनको यथोचित व्यवस्था गर्नुमा कुनै कञ्जुस्याइँ गरिनुहुँदैन। मानव तस्करीका आशङ्का गरिएका अधिकांश व्यक्ति ‘भिजिट भिसा’मा विदेश जाने गरेका पाइएकाले विमानस्थल अध्यागमन कार्यालयले यसबारेमा सूक्ष्म तथा गहन अध्ययन गर्नु महत्त्वपूर्ण देखिन्छ। यस विषयमा अध्यागमन विभागले भिजिट भिसाबाहक व्यक्ति विदेश घुम्न जान वार्षिक कम्तीमा छ लाख आम्दानी, त्यसको आयकर तिर्नुका साथै न्यूनतम तीन लाख रुपियाँ बैङ्क मौज्दात देखाउनुपर्ने प्रावधानलाई निकै कडाइका साथ पालना गरिनुपर्दछ। धेरैजसो घटनामा अपवादबाहेक ती व्यक्ति भिजिट भिसामा विदेश जान लागेको हो, होइन यकिन गर्न कुनै ठूलो समस्या हुँदैन। व्यक्तिको बाहिरी आवरण तथा शैलीबाट धेरै कुरा प्रस्ट हुन सक्छन्। यसतर्फ गहन ध्यान दिइनुपर्दछ। 

महत्त्वपूर्ण कुरा त के छ भने अध्यागमनका कर्मचारीको मिलेमतोबिना यस्ता यात्रु अध्यागमन पार गर्न कठिन हुन्छ। गृह मन्त्रालयले गत जेठ महिनामा भिजिट भिसा खुला गरेपछि ५० हजारभन्दा बढी नेपाली यही भिसामा खाडी मुलुक पुगेका सरकारी तथ्याङ्क छ। आश्चर्यको कुरा त १५ दिनभित्र विदेशबाट फर्किनुपर्ने व्यवस्था हुने यो भिसा लिएर गएका अधिकांश फर्केका पनि छैनन्। यस तथ्यबाट समेत भिजिट भिसाको उपयोग कसरी भइरहेछ भन्ने स्पष्ट हुन्छ। यसर्थ भिजिट भिसामा वैदेशिक यात्रा सम्बन्धमा थप गृहकार्य गरिनु उपयुक्त हुन्छ। केही वर्षअघिसम्म विशेष गरी भारततर्फ खुला सिमानाको प्रयोग गरेर हुने मानव तस्करीले अहिले अन्तर्राष्ट्रिय जालो विस्तार गरिरहेको छ। अहिले मध्यरातको अन्तर्राष्ट्रिय उडानको प्रयोग गरेर सोझासिधा नेपालीलाई मध्यपूर्वका इरान, इराक, कुवेतदेखि आफ्रिकाको केन्यासम्म पु-याएर बलात् घरायसी तथा यौनजन्य क्रियाकलापमा संलग्न गराउने कार्य मानव तस्करहरूले गरिरहेका छन्। यसलाई नियन्त्रण गर्न हरसम्भव सङ्गठित प्रयास अनिवार्य छ।