• ७ वैशाख २०८१, शुक्रबार

सञ्चालन हुँदै ‘निर्यात गृह’

blog

काठमाडौँ, भदौ ११ गते । साना उत्पादकलाई लक्षित गर्दै सञ्चालनमा ल्याउने योजना बनाइएको ‘निर्यात गृह’ कार्यान्वयनको अन्तिम चरणमा पुगेको छ । निर्यात गृह सञ्चालनसम्बन्धी कार्यविधि तयार भइसकेको र त्यो स्वीकृति अन्तिम चरणमा रहेकाले यसको कार्यान्वयनको आधार तयार भएको हो । 

सानो परिमाणमा वस्तु उत्पादन गर्ने उत्पादकलाई आफ्ना उत्पादन निर्यात गर्न सहज होस् भन्ने उद्देश्यका साथ निर्यात गृह सञ्चालनमा ल्याउने तयारी भइरहेको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले जानकारी दिनुभयो । “अहिले निर्यात गृहसम्बन्धी कार्यविधि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट अन्तिम स्वीकृतिको चरणमा छ । कार्यविधि स्वीकृत हुनासाथ निर्यात गृह सञ्चालनमा आउँछ,” उहाँले भन्नुभयो ।

थोरै परिमाणमा वस्तु उत्पादन गर्ने उद्यमीलाई आफ्ना उत्पादन निर्यात गर्न पनि समस्या हुने भएकाले सरकारले निर्यात गृहको योजना अगाडि सारेको थियो । निर्यात गृह सञ्चालन भएपछि समान किसिमको वस्तु उत्पादन गर्ने साना उत्पादक एकै ठाउँमा आउने र त्यस्ता वस्तु सङ्कलन गरेर एकैपटक निर्यात गर्न सक्ने अवस्था बन्छ । “निर्यात गृहमा एउटै वस्तु उत्पादन गर्ने उत्पादक जोडिन्छन् । सबैको उत्पादन सङ्कलन गर्दा कम्तीमा एउटा कन्टेनर भरेर त निर्यात गर्न सक्ने अवस्था बन्छ,” राणाले भन्नुभयो ।

निर्यातको सम्भावना भए पनि सानो परिमाणमा मात्रै उत्पादन हुने भएकाले कतिपयले वस्तु निर्यात गर्न नसकिरहेको केन्द्रले जनाएको छ । त्यस्ता साना उत्पादकलाई निर्यातको प्रक्रियाबारे जानकारी दिने र एकै ठाउँमा ल्याउने काम निर्यात गृहले गर्ने राणाले जानकारी दिनुभयो । 

सरकारले सञ्चालनमा ल्याउने निर्यात गृहको कुनै भौतिक संरचना भने हुनेछैन । सरकारले भवन निर्माण गर्ने र त्यसमै निर्यात हुने वस्तु सङ्कलन गर्ने काम यसबाट नहुने राणाले प्रस्ट पार्नुभयो । “यो एक अभौतिक गृह हो, जसमा समान वस्तु उत्पादन गर्ने उत्पादक एक आपसमा जोेडिने माध्यम मात्र हुनेछ,” उहाँले भन्नुभयो । 

केन्द्रले निर्यात गृहमा समन्वयको भूमिका खेल्नेछ । त्यस्तै कार्यविधि स्वीकृत भएसँगै निर्यात गृहमा जोडिन चाहनेले सबैभन्दा पहिले केन्द्रबाटै स्वीकृति लिनुपर्नेछ । सोही स्वीकृतिको आधारमा मन्त्रालयमा अन्तिम निवेदन दिनुपर्नेछ । यसरी निवेदन दिएका वस्तु उत्पादकमध्ये समान किसिमको उत्पादन गर्नेलाई एकै ठाउँमा ल्याउने निर्यात गृहमार्फत हुनेछ । साना तथा घरेलु उद्योगको उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा समेत पहुँच दिन निर्यात गृह प्रभावकारी हुने अपेक्षा गरिएको छ । 

निजी क्षेत्रका विभिन्न सङ्गठनले पनि सरकारले विभिन्न समयमा निर्यात गृह सञ्चालनका लागि माग गर्दै आएको थियो । खास गरी साना तथा घरेलु उद्योगबाट उत्पादित वस्तुले अन्तर्राष्ट्रिय बजारसम्म उपस्थिति जनाउन समस्या भइरहेको भन्दै त्यस्ता सङ्गठनले निर्यात गृह सञ्चालनका लागि सरकारलाई आग्रह गरेका थिए । निर्यात गृहको सञ्चालनसँगै नेपालका मौलिक वस्तुसमेत विदेशी बजारमा उपलब्ध हुने अवस्था बन्नेछ । 

केन्द्रले निर्यातमा थप सहजीकरण गर्न सेवाग्राहीलाई छुट्टै किसिमको सेवा उपलब्ध गराउने पनि योजना बनाएको छ, जसमा उत्पादकलाई एकै ठाउँमा राखेर निर्यातको प्रक्रिया, वस्तु उत्पादन र त्यसको गुणस्तर र विदेशी बजारमा वस्तु प्रवद्र्धनलगायतका तालिम तथा जानकारी दिने योजना रहेको कार्यकारी निर्देशक राणाले जानकारी दिनुभयो ।