• १५ चैत २०८०, बिहिबार

पश्चिमा प्रभावका कारण मौलिकता मासिँदै

blog

यादवराज पुरी

रौतहट, भदौ १० गते । नेपाली नारीले मनाउने महान् चाड हरितालिका ‘तीज’को परम्परागत मौलिकपन पछिल्लो समय मासिँदै गएको पाइएको छ। चाडपर्वको नाममा पश्चिमी संस्कार हाबी हुँदै गएकाले तीजको परम्परागत मौलिकपन मासिँदै गएको बताइएको छ। 

देखासिकीको प्रभावका कारण पछिल्लो समय तीज पर्व मनाउने शैली भड्किलो, तडकभडक एवं विकृतियुक्त बन्दै गएको महिलाबाटै गुनासो सुन्ने गरिएको छ। चन्द्रपुर नगरपालिका–६ की पञ्जमाया तिमल्सिनाले विगतमा मनाइने तीज पर्व र पछिल्लो समयमा मनाइने तीज पर्वको शैलीमा निकै भिन्नता आएको सम्झँदै भन्नुहुन्छ, “पछिल्लो समयमा आधुनिक बाजागाजासहितको ‘म्युजिक सिस्टम’ मा बजाइने छाडा गीतमा नाचेर मनाइने तीजले तीज पर्वको मौलिक संस्कृति गुमेको छ। सानो छँदा गाउँघरमा दिदीबहिनी र छरछिमेक भेला भएर मादलको तालमा दुःख–सुखका लोकभाकाका गीतमा नाचेर मनाइन्थ्यो। घरमै बनेको शुद्ध खाना र शुद्ध मनले बसेको व्रतको सम्झना अहिले पनि झल्झली सम्झना आउँछ।”

कुनै पनि नेपाली चाडपर्वमा विद्यमान परम्परागत संस्कृति र संस्कारअनुसारको मौलिकपन छोड्दै जाने हो भने कालान्तरमा नेपाली परम्परा, धर्म र संस्कृति नै लोप हुने गुजरा नगरपालिका मैराटोलका ज्येष्ठ महिला शान्ता अधिकारी बताउनुहुन्छ। “आजभोलि मनाइने तीज, तीजजस्तै लाग्दैन। उच्छृङ्खल, तडकभडक र देखासिकीले तीजको शोभा नै हराएको छ,” उहाँले भन्नुभयो। 

परम्परागत संस्कृति र संस्कारयुक्त चाड नहुँदा ज्येष्ठ महिला अधिकारी मात्र नभई नयाँ पुस्ताका महिला पनि चिन्तित देखिन्छन्। सिन्धुली घर भई हाल जनज्योति बहुमुखी क्याम्पस चन्द्रनिगाहपुरमा अध्ययनरत विद्यार्थी सम्झना घिमिरे पनि चाडपर्वको नाममा पछिल्लो समय पश्चिमी संस्कार हाबी भएको दाबी गर्दै भन्नुहुन्छ, “तीजको नाममा आधुनिकताको खोल ओढेका आर्थिक रूपमा सम्पन्न महिलाको जमातले एक महिना अघिदेखि पालैपालो होटल तथा रेस्टुरेन्टमा गर्ने गरेको पार्टी निम्नस्तरका नागरिकका लागि चुनौती र चिन्ताको विषय बनेको छ। यस्तो विकृतिले नेपाली चाडपर्वको मौलिक संस्कृतिमा नकारात्मक प्रभाव पारेको छ।”

तीजमा विवाहित महिलाले आफ्ना श्रीमान्को दीर्घायुको कामना गर्दै पानीसमेत नखाई व्रत बस्ने र अविवाहित महिला असल श्रीमान् पाउने आसमा तीज पर्व मनाउने धार्मिक विश्वास रहेको महिला अधिकारकर्मी देवकी नेपालले बताउनुभयो। “तीजमा गाइने गीतमा महिलाले भोग्नु परेका पीडा वा समस्या र सासू–बुहारीबीचको मनमुटावलगायतका विषय समेटिएका हुन्थे तर पछिल्लो समयमा तीजमा राम्रो देखिन र अरूलाई देखाउन गरिने फजुल खर्च र घोचपेचसहितको गीतले चाडलाई नै भड्किलो बनाएको छ,” उहाँले भन्नुभयो।