• १३ असोज २०८१, आइतबार

आठ वर्षमा बन्यो पुल

blog

फाइल तस्बिर

ओखलढुङ्गा समाचारदाता

ओखलढुङ्गा, भदौ १० गते । करिब आठ वर्षमा मोलुङ खोलाको मान्द्रे दोभानमा मोटरेबल पुल बनेको छ। मोलुङ गाउँपालिका र सुनकोसी गाउँपालिकालाई जोड्ने उक्त पुलको निर्माण कार्य आठ वर्षमा सकिएको हो। १८ महिनामा काम सम्पन्न गर्ने गरी २०७० असार ३० गते उक्त पुलको ठेक्का लगाइएको थियो। 

भ्याटसहित तीन करोड ७५ लाख ५६ हजार ७७८ रुपियाँमा राजेन्द्र–लोकप्रिय जेभी धापासी काठमाडौँले ८० मिटर लामो पुल निर्माणको जिम्मा पाएको थियो। २०७८ चैत २८ गते पुलको निर्माण कार्य सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ। पुल बनेपछि जिल्लाको पश्चिमी क्षेत्रका सुनकोसी, चम्पादेवी, लिखु गाउँपालिका हुँदै रामेछाप जिल्लासँग ओखलढुङ्गा सदरमुकामदेखि सीधा यातायात सञ्चालन गर्न सकिने भएको छ।

सम्झौता मिति सकिनुभन्दा सात महिनाअगावै रुम्जाटार–कुइभीर जोड्ने खार्ते खोलाको पक्की पुलको निर्माण कार्य सम्पन्न भएको छ। २०७९ मङ्सिर २० मा सम्पन्न गर्ने गरी २०७८ मङ्सिर २१ गते केएम इन्जिनियर्स विल्डर्स प्राली काठमाडाँैले उक्त पुल निर्माणको ठेक्का पाएको थियो। २०७९ वैशाख २२ गते कम्पनीले उक्त पुलको काम सम्पन्न गरेको पूर्वाधार विकास कार्यालय ओखलढुङ्गाका प्रमुख गङ्गासागर यादवले जानकारी दिनुभयो। भ्याटसहित दुई करोड ९२ लाख ५४ हजार ६९३ रुपियाँमा पुलको निर्माण भएको हो। उहाँका अनुसार उक्त पुलको स्विस सरकारबाट सहयोग प्राप्त केही संरचना बन्न बाँकी छन् भने कम्पनीले जिम्मा लिएको काम एक वर्षमै सकेको छ। 

यसका साथै जिल्लामा चार महिनाको अवधिमा जिल्लाका विभिन्न स्थानमा रहेका निर्माणाधीन नौवटा पक्की पुलको निर्माण कार्य सम्पन्न भएका छन्। मानेभञ्ज्याङ–टोक्सेल–सिस्नेरी–बलखु जोड्ने मोलुङ दोभानको पक्की पुलको पनि निर्माण सम्पन्न भएर यातायात सञ्चालन सहज भएको छ। यो पुलको करिब पाँच वर्षको अवधिमा निर्माण पूरा भएको हो। वाइबा–केउरिनी–बाराही जेभी काठमाडौँले २०७३ असार २४ गते पुल निर्माणको ठेक्का लिएको थियो। पुलको काम दुई वर्षमा सम्पन्न गर्ने गरी भ्याटसहित चार करोड २० लाख दुई हजार ७५० रुपियाँमा कम्पनीले मोलुङ खोला दोभानमा ६० मिटर लामो ठेक्का पाएको थियो। सम्झौता गरिएको मितिले करिब पाँच वर्षपछि २०७८ वैशाख १४ पुलको निर्माण कार्य सकिएको कम्पनीले जनाएको छ। 

यसैबीच लिखु गाउँपालिका ओखलढुङ्गा र रामेछाप–काठमाडौँ जोड्ने लिखु नदीमा दुईवटा पक्की पुलको निर्माण कार्य सकिएको छ। लिखु गाउँपालिका टारकेराबारी, गाम्नाङटार र सिंदेवी क्षेत्रलाई सहज हुने गरी यी दुईवटा पुलको निर्माण गरिएको हो। पुष्पाञ्जलि–सिंहदेवी जेभी मन्थली रामेछापले भ्याटसहित सात करोड ११ लाख ९४ हजार ४५ रुपियाँमा ४७ मिटर लामो पक्कि पुल निर्माण गरेको छ। २०७७ साउन ८ गते सम्झौता गरेको कम्पनीले २०७९ साउन ७ गते पुलको निर्माण सकेको पूर्वाधार विकास कार्यालय ओखलढुङ्गाका प्रमुख यादवले बताउनुभयो। 

लिखु नदीमा अर्को पुल पनि बनेको छ, रामेछाप सिरिसे–लिखु गाउँपालिका ओखलढुङ्गा टारकेराबारी–गाम्नाङटार–मोलुङ श्रीचउर जोड्न पुल बनेको हो। भ्याटसहित चार करोड ४१ लाख ६४ हजार ९३७ रुपियाँमा सिर्जना–अन्सुमा जेभी काठमाडौँले २५ मिटर पक्की मोटरेबल पुल बनाएको हो। २०७६ फागुन २९ गते सम्झौता गरेको कम्पनीले २०७९ जेठ ९ गते काम सम्पन्न गरेको कार्यालयले जनाएको छ। विभिन्न समयमा पूर्वाधार विकास कार्यालय ओखलढुङ्गामार्फत ठेक्का लागेका पाँचवटा पुलको निर्माण सकिएको कार्यालय प्रमुख यादवले बताउनुभयो। यादवका अनुसार चालू आर्थिक वर्ष २०७९/८० मा जिल्लाका विभिन्न स्थानमा थप १० वटा पक्की पुल बन्नेछ। ठेक्का निष्कासनको तयारी भइरहेको कार्यालयले जनाएको छ। 

यसका साथै सडक डिभिजन कार्यालय हर्कपुरमार्फत दुईवटा पक्की पुलको निर्माण भएको छ। सिद्धिचरण नगरपालिका–४, रुम्जाटारदेखि चिशङ्खुगढी गाउँपालिका जोड्ने ठोट्ने खोला र ओखलढुङ्गा सदरमुकाम–रुम्जाटार जोड्ने सिस्ने खोलामा पुल बनेको हो। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत ठेक्का लगाइएको ओखलढुङ्गा, रमाइलोडाँडादेखि रुम्जाटार एयरपोर्ट जोड्ने सडकअन्तर्गत सिस्ने खोलाको पुलको पनि निर्माण कार्य सम्पन्न भएको छ। ओखलढुङ्गा–सिन्धुली जोड्ने सुनकोसी नदीमाथि नवलपुरघाटमा पनि निर्माण सम्पन्न भएको छ। ओखलढुङ्गा जिल्लाको चम्पादेवी गाउँपालिका र सिन्धुलीको फिक्कल गाउँपालिका जोड्ने नवलपुरघाटमा सुनकोसी नदीमाथि पक्की पुल बनेको हो। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट पुल निर्माणको काम २०७३ सालको असारमा पुल निर्माणको ठेक्का लगाइएको थियो। पुलमा पाँचवटा स्पान रहेका छन् भने पुलको चौडाइ ११ मिटरको छ। दुईवटा ठूला सवारीसाधन सहज रूपमा पार गर्न सक्ने योजना प्रमुख नेपालको भनाइ छ। करिब २४ करोड रुपियाँको लागतमा उक्त पक्की पुलको निर्माण सम्पन्न भएको हो, यो पुल दुई सय मिटर लामो छ।