• ११ मंसिर २०८१, मङ्गलबार

पानी पार्न मन्दिरमा भाकल

blog

जयकृष्ण यादव

इनरुवा, भदौ ७ गते । सुनसरीमा धान रोपाइँ सकिएको करिब दुई महिना हुन लागेको छ तर अकाशे भरमा धान लगाएको धान बाली सुक्न थालेको छ। यसको मुख्य कारण हो एक महिनायता पर्याप्त वर्षा नहुनु र अत्याधिक गर्मी हुनु। यसले गर्दा भगवान् इन्द्र रिसाएको हो कि भनेर पानी पार्न भन्दै मन्दिरमा भाकल गर्ने र राति महिलाले सामूहिक मौलिक गीत गाउने र नाचेर जटजाटिन खेल्ने क्रम बढेको छ। 

इनरुवासहित जिल्लाका अधिकांश क्षेत्रमा वर्षा पर्याप्त नभएकोले दैनिक जनजीवन प्रभावित हुनुका साथै धान बाली सुक्ने अवस्था आएकाले इन्द्र भगवान्लाई खुसी पार्न राति महिलाले सामूहिक मौलिक गीत नाच गाउने जतजाटिन खेल्ने क्रम बढेको हो। आइतबार राति जिल्लाको गढी गाउँपालिका–३, छिटाहामा साह टोल र मेहता टोलमा एक साथ राति महिलाले जतजाटिन खेलेको गढी–३, छिटाहाका शिवनारायणले जानकारी दिनुभयो। 

शिवनारायणका अनुसार भगवान् इन्द्रलाई मनाएर, खुसी पारेर पानी वर्षा गराउन जटजाटिन खेलेको हो। यसैबीच करिब एक महिनादेखि पानी नपरेर धान बालीसहित तरकारी र अन्य बेमौसमी नाली सुक्न थालेपछि यहाँका किसान देवताको भाकल गर्न थालेका छन्। उनीहरूले देवताको मन्दिरमा पूजा गर्ने, हाँस परेवा चढाउने, कागज घोडा र घन्टा चढाउनेदेखि थानमा बोका बलि चढाउने गर्न थालेका छन्। किसानले वर्षाको बेलामा नै प्रर्याप्त वर्षा भएको र कुनै बेला अनधिकृत रूपमा बाढी आउने गरी वर्षा हुने गरेकाले यसमा देवता रिसाएको भन्दै भाकल गर्ने क्रम बढेको छ। देवताको पूजा आराधना गरे पानीपर्ने विश्वासले भाकल गर्न थालिएको इनरुवा–९, बबियाका स्थानीय मोतीलाल यादवले बताउनुभयो। खडेरीले बालीनाली सुकाएको, विभिन्न प्रकारका रोग व्याधि भित्रन सक्ने खतरा बढाएकाले अन्तिम दैवी शक्तिका रूपमा रहेका देवताको भाकल गरिरहेको स्थानीयले बताएका छन्। यादवका अनुसार गाउँका झन्डै दर्जन बढी देवताको मन्दिरमा पूजापाठ र भाकल अनि प्रसाद ल्याएर चढाइएको छ। महिलाले रातभर देवताको नाममा जाग्राम बसेर पूजा गर्ने र जटजाटिन खेल्ने गरेको अर्का स्थानीय सङ्गीता रामले बताउनुभयो।

“अन्तिम शक्ति भनेको देवता नै हुन्। देवताको भाकल गरे अवश्य नै वर्षा हुनेछ,” स्थानीय सियाराम यादवले भन्नुभयो, “वर्षा भए किसानको बाली राम्रो हुनेछ। नत्र न किसान रहने छन् नत कृषि कर्म नै रहनेछ।” रामका अनुसार गाउँमा देवताका नाममा रातभर जाग्राम बस्ने, देवता खुसी बनाउन अनेकन विकल्प अपनाउने गरिरहेका छन्। तीव्र जनसङ्ख्या वृद्धि, वन जङ्गलको विनाश, वन जङ्गलमा आगजनीदेखि परम्परागत रीतिथिती भत्किएकोले समयमै पानी नपरेको बुढापाका बताउँछन्। जिल्लाको भगवती मन्दिर, दुर्गा मन्दिर, राधाकृष्ण मन्दिर, काली मन्दिर, शिव मन्दिरसहित सप्तरीको प्रसिद्ध कङ्कालिनी मन्दिरमा पूजाआजा गरेर पानी पारिदिन देवतालाई आग्रह गरिरहेका छन्। 

के हो जटजाटिन ? 

स्थानीय भोलादेवी यादवका अनुसार महिलालाई जटजाटिन गीतिनाट्य प्रारम्भ गर्नुभन्दा अगाडि भ्यागुतो कुटेर एउटा घैँटोमा गोबर, मलमूत्रसँगै हालेर कुनै झगडालु महिलाको आँगनमा फ्याँक्ने विधि सम्पन्न गर्दछिन्। त्यसपछि ती महिला जति ठूलो आवाजमा गाली गर्छिन्, इन्द्रदेव त्यति नै प्रसन्न भएर वर्षाको आदेश दिनुहुन्छ भन्ने जनविश्वास छ। उता गालीको स्वर कमजोर हुँदै जाँदा यता तम्तयार भै बसेकी महिला मण्डली दुई समुह बनाई जटजाटिनको रूपमा दुई युवती नेतृत्व गर्दै अगाडि–पछाडि झुम्मिँदै नृत्यात्मक मुद्रामा गीत गाई आङ्गिक र वाचिक दुवै हिसाबले एउटा मनोरञ्जनपूर्ण प्रस्तुति गर्दछिन्। यसमा पुरुष पूर्णतः बर्जित हुन्छन् तर बच्चालाई प्रदर्शन हेर्न छुट हुन्छ। सामान्य रूपमा जटजाटिन गीति लोक नाट्यको प्रस्तुति केही घण्टाको हुन्छ तर यसलाई महिलाहरू एक–डेढ घण्टामा समाप्त गरी आफ–आफ्नो घर फर्कन्छिन्। यसमा उनीहरू जटजाटिनको सिलसिलेवार गीतहरूको प्रस्तुतिको सट्टा केही खास मुखडा र गीतहरू मात्र गाउँछन् र त्यही घैँटोमा कुटिएको भ्यागुतासहित कसैको आँगनमा फ्याँक्ने गर्दछन्। यति गर्दा पनि यसको पूर्णता भने न भएकै महसुस हुन्छ। त्यस कारण पनि नाट्य प्रदर्शनलाई लम्ब्याइने गरिन्छ । यसको कारणमा जटजाटिन लोक नाट्य एउटा पूर्ण कथात्मक प्रदर्शन हो जसमा विवाह, आपसी असमझदारी, विदेशिने पतिप्रतिको मोह, र अन्तमा मधुर मिलनको संयोग। यसभित्र सामान्य घटनाचक्र देखिन्छ, तर वास्तवमा जटजाटिनका यही सादगीपूर्ण अभिलेखले यसको स्तर र जीवन्ततालाई अरुभन्दा बढी लोकप्रिय बनाउँछ। यो लोकनाट्य समाजसँग बढी जुड्ने प्रयास गर्दछ।