• १४ असार २०८१, शुक्रबार

पञ्चकन्या पोखरी पर्यटकीय गन्तव्य बन्दै

blog

सिन्धुली समाचारदाता

सिन्धुलीमाढी, भदौ ७ गते । सिन्धुली जिल्लाको मरिण गाउँपालिका–५, महादेवस्थानस्थित जिल्लाकै एक मात्र प्राकृतिक पोखरीका रूपमा रहेको ऐतिहासिक पञ्चकन्या पोखरी पछिल्लो समय पर्यटकीय क्षेत्रका रूपमा विकास हुँदै गएको छ। मरिण गाउँपालिकाका सूचना अधिकारी सुदीप केसीका अनुसार पालिकाले पोखरीको संरक्षणसहित प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सुरु गरेको छ। 

उहाँका अनुसार जिल्लाको पर्यटन क्षेत्रको प्रवद्र्धनमा सहयोग पु-याउने लक्ष्यसहित गुरुयोजना बनाएर पोखरी आसपासमा पूर्वाधार निर्माणका क्रममा अहिलेसम्म घेराबार, पिकनिक स्थल, शौचालय, स्नान घर, खानेपानी र पोखरी स्थलसम्म पुग्ने सडकको व्यवस्था भइसकेको छ। प्रतीक्षालय र प्रशासनिक भवनको निर्माण कार्य भइरहेको छ। 

अहिलेसम्म पूर्वाधार निर्माणका क्रममा एक करोड ४० लाख रुपियाँ लगानी भइसकेको गाउँपालिकाले जनाएको छ। वरिपरि जङ्गल र बीचमा अपत्यारिलो पोखरी छ। न माथिबाट पानी आउने ठाउँ छ, न तलतिर निस्किने निकास नै छ। यसअघि प्रायः सधैँ सुनसानजस्तै रहने पञ्चकन्या पोखरीमा पूर्वाधार निर्माणसँगै हिउँद महिनामा पिकनिक खान आउने र दैनिकजसो आन्तरिक पर्यटक आउने गरेको गाउँपालिका निवर्तमान अध्यक्ष पानीराज बम्जनले बताउनुभयो।

पञ्चकन्या मन्दिरको दर्शन गर्न र प्रत्येक वर्ष धान्य पूर्णिमाका दिन लाग्ने मेला भर्न श्रद्धालु आउने गरेको स्थानीय शम्भु माझी बताउनुहुन्छ।

पोखरीले धार्मिक महìवका बारेमा उहाँले भन्नुभयो, “अहिले पनि पोखरीको पानी भैँसीले खाँदैन। पोखरीमा जुठो हाले, कुखुरा काटे त्यो व्यक्ति बिरामी हुन्छ भन्ने तुरुन्तै असर देखिन्छ।” 

पोखरीको नामकरण त्यहाँ बस्ने पाँच कन्या र उनीहरूले गरेको चमत्कारका आधारमा गरिएको स्थानीय काजीमान थिङ बताउनुहुन्छ। “किंवदन्ती अनुसार पोखरीमा पाँचवटी कन्या बस्दथे,” उहाँले भन्नुभयो, “वरिपरिको खेतमा रोपाइँका बेलामा ती कन्या रोपाहार बनेर आउँथे। कसैले खेती लगाउन नसके पञ्चकन्यालाई भाकेर गुहारेपछि भोलिपल्ट खेत रोपिएको हुन्थ्यो।”