• १२ असोज २०८१, शनिबार

बस्ती स्थानान्तरण हुन सकेन

blog

बनेपा समाचारदाता 

काभ्रेपलाञ्चोक, भदौ ७ गते । २०७२ वैशाखको भूकम्प तथा दुतीको पहिरोका कारण जोखिममा रहेको काभ्रेपलाञ्चोक जिल्लाको चौँरीदेउराली गाउँपालिका–२, नाग्रेगगर्चे खानीगाउँको बस्ती अझै स्थानान्तरण हुन सकेको छैन। २०७२ साल असार २३ गते बसेको जिल्ला दैवी प्रकोप उद्धार समितिले दुतीको पहिरो तथा भूकम्पका कारण जोखिममा रहेका २१ घरधुरीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने निर्णय गरेको पनि आर्थिक अभावमा स्थानान्तरण नभएको हो। 

जोखिममा रहेको बस्ती स्थानान्तरणका लागि तत्कालीन सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले २०७७ पुस ५ गते नमुना बस्तीको शिलान्यास गर्नुभएको थियो। भूकम्प र वर्षौंदेखि गएको दुतीको पहिरोका कारण सेतीदेवी–नाग्रेगगर्चे सडकको माथिल्लो भाग बसोबासका लागि उपयुक्त नभएको भूगर्भविद्हरूको सुझावपछि स्थानान्तरण गर्न प्रक्रिया सुरु गरिएको थियो। 

बस्तीका लागि जग्गा सम्याउनेलगायतको काम सकिए पनि बस्ती निर्माणका लागि आवश्यक रकम नहुँदा नमुना बस्ती निर्माणको काम अलपत्र परेपछि वर्षायाममा समेत पुरानै जोखिमयुक्त स्थानमा बस्न बाध्य छन्। ३९ रोपनी १३ आना जग्गामा निर्माण हुने तामाखानी एकीकृत नमुना बस्तीमा २१ वटा नमुना घर तथा सामुदायिक भवनका साथै खानेपानीको पाइप बिछ्याउने, बस्तीसम्म जाने बाटो बनाउने र बाटोमा पर्खाल लगाउने कामका लागि आव २०७७/७८ मा प्रतिघर चार लाख रुपियाँका दरले ८४ लाख रुपियाँ बजेट विनियोजन भएको थियो। विनियोजन भएको बजेटमध्ये २९ लाख रुपियाँ मात्रै काम भएर बाँकी बजेट फ्रिज भएको थियो। 

नमुना बस्ती निर्माण समितिका अध्यक्ष पदमबहादुर श्रेष्ठ (प्रकाश)ले समितिका सचिवले रकम निकालेर पनि रकम आएको छैन भनेर बस्तीमा खटिएका कामदारलगायतलाई ज्याला नदिएको र माथिबाट बजेट निकाशा भएको छैन भनेपछि बस्ती निर्माणको काम रोकिएको बताउनुभयो। 

यसैबीच गत साउन २९ गते बसेको जिल्ला विपत् व्यवस्थापन समितिको परामर्श बैठकले दुती पहिरोबाट प्रभावितलाई स्थानान्तरण गर्न विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा निजी आवास निर्माणका लागि सूचीकृत गर्न समन्वय तथा सहजीकरण गर्ने निर्णय गरेको थियो। जिल्लास्थित शान्ति जनआदर्श सेवा केन्द्रले सीआरएस नामक गैरसरकारी संस्थाको सहयोगमा बस्ती निर्माणमा गर्न चासो देखाएको छ।