गोरखापत्र अनलाइन
काठमाडौं, भदौ ६ गते । प्रहरीले नियन्त्रित लागू औषधसहित तीन जनालाई पक्राउ गरेको छ । नियन्त्रित लागू औषधको अबैध कारोबार भइरहेको सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले तीन जनालाई विभिन्न मिति र स्थानबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ललितपुर–१८ सैबु स्थायी ठेगाना भएका ३८ वर्षीय कानविन (नवीन) श्रेष्ठ, सुनसरीको धरान उपामहानगर पालिका–१० घर भएका ४३ वर्षीय कासिभिल ईन्जिनियरध्रुब लिम्बु र पर्साको बिन्दाबासिनी गाउँपालिका–४ घरका ४० वर्षीय जमुना साह तेली रहेका छन् ।
तेलीले नियन्त्रित लागूऔषध एम्पुलहरु ध्रुब लिम्बुलाई बिक्री गर्न दिने र ध्रुब लिम्बुले नबिन श्रेष्ठलाई सो लागूऔषध बिक्री गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरका प्रवक्ता तथा सूचना अधिकारी योगेन्द्र कुमार खड्काले जानकारी दिनुभयो ।
उहाँका अनुसार तीनै जनालाई विभिन्न मिति र स्थानबाट नियन्त्रित लागूऔषधसहित पक्राउ गरिएको हो । भदौ २ गते ललितपुर–२ झम्सिखेलबाट नियन्त्रित लागु औषध बुप्रेनोर्फिन २४३ एम्पुल, फेनारगन–२४३ एम्पुल र डाइजेपाम–२४३ एम्पुल र २० हजार रुपियाँसहित नविन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको थियो ।
भदौ ३ गते सुनसरीको धरान–१० घर भएका ४३ वर्षिय कासिभिल ईन्जिनियरध्रुब लिम्बुलाई काठमाडौं–३० कालोपुलबाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन–५६० एम्पुल, फेनारगन–५८४ एम्पुल र डाइजेपाम–७३७ एम्पुलसहित प्रहरीले पक्राउ गरेको थियो ।
लिम्बुलाई अनुसन्धान गर्ने क्रममा लिम्बु बस्ने होस्टेलको कोठामा अर्का एक जना ब्यक्तिसमेत रहेको खुलाएपछि त्यही मितिमा पर्साको बिन्दाबासिनी–४ घर भएका ४० वर्षिय जमुना साह तेलीलाई प्रहरीले होस्टेलको कोठाबाट पक्राउ गरेको थियो ।
अनुसन्धानमा काठमाडौं–१३ बाफलस्थित तेली बस्दै आएको डेराबाट थप नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन–९८ एम्पुल र डाइजेपाम–१०२ एम्पुल भारतिय बजार रक्सौलबाट तेलीले प्रयोग गर्ने ४३ प ६६९३ नम्बरको मोटरसाइकलको ट्याङ्कीको तल्लो भागमा लुकाएर ल्याउने गरेको खुलेको थियो ।
तेलीले फ्युल हाल्ने, फल्स बटमका कारण फ्युल ट्याङ्की सानो भएकाले चाँडै फ्युल सकिने हुँदा बोतलमा पेट्रोल बोकेर लागूऔषध ओसारपसार गर्ने गर्नुभएको थियो । तेलीले एक पटक लागूऔषध पुर्याए बापत ५० हजार लिने गरेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । तीनै जनामाथि नियन्त्रित लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम मुद्दा दर्ता भइ थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।
यसैगरी प्रहरीले चन्द्रागिरी नगरपालिका–३ थानकोटबाट अवैध लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको विष्णुपुर गाउँपालिका–५ घर भएका २२ वर्षीय सरोज पासवान, २५ वर्षीय हिरा कुमार सदा र २२ वर्षीय लक्ष्मी कुमार सदा रहेका छन् । काठमाडौंको चन्द्रागिरी नगरपालिका–३ थानकोट बसपार्कबाट नियन्त्रित लागूऔषध नाईट्राभेट २५५ ट्याब्लेटसहित तीन जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
सिरहाबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०६–००१ ख ००३ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार तीनै जनालाई लागूऔषधसहित पक्राउ गरिएको हो । प्रक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरी वृत्त थानकोटले जनाएको छ ।