जीवछ यादव
लहान, चैत २७ गते । सिरहा नगरपालिकाका प्रमुख डा. नवीनकुमार यादवमाथि अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक बासुदेव पाठकका अनुसार नगरप्रमुख डा. यादवसहित दुई जनामाथि अभद्र व्यवहारको मुद्दा दर्ता भई पक्राउ पुर्जीसमेत जारी भइसकेकाले उनीहरूको खोजी भइरहेको छ।
प्रहरीका अनुसार चैत २३ गते सोमबार स्वास्थ्य शाखामा कार्यरत कार्यालय सहयोगी रामशरण यादवमाथि कार्यस्थलमै हाजिरी गर्ने क्रममा नगरप्रमुख डा. यादवले हातपात तथा कुटपिट गरेको आरोप छ। उक्त घटनाको विरोध गर्दै सिरहा नगरपालिकामा कार्यरत कर्मचारी र स्वास्थ्यकर्मीहरूले कानुनी कारबाहीको माग गर्दै चैत २५ गते नगरपालिका परिसरमा धर्ना दिएका थिए। उनीहरूले कामकाजसमेत ठप्प पारेर दोषीमाथि कारबाहीको माग गरेका थिए।
धर्नामा बसेका कर्मचारीहरूले पीडित कर्मचारी रामशरण यादवको निःशुल्क उपचार र उचित क्षतिपूर्तिको तत्काल व्यवस्था गर्नुपर्ने, राष्ट्रसेवक कर्मचारीमाथि हातपात गर्ने नगरप्रमुखमाथि प्रचलित कानुनबमोजिम कारबाही हुनुपर्ने तथा कार्यस्थलमा कर्मचारीहरूको सुरक्षा र आत्मसम्मानपूर्वक काम गर्ने वातावरण सिर्जना गर्नुपर्ने माग राखेका छन्। सिरहा नगरपालिकामा जारी धर्ना तथा आन्दोलनमा जिल्लाका सरकारी र गैरसरकारी संघसंस्थाका कर्मचारीहरूले ऐक्यबद्धता जनाएका छन्।
हातपातमा घाइते भएका कार्यालय सहयोगी रामशरण यादवको विराटनगरमा उपचार भइरहेको छ।
यता नगरप्रमुख डा. यादवले आफूले कुनै हातपात नगरेको दाबी गर्दै विपक्षीहरूको उक्साहटमा आफूलाई फसाउन षड्यन्त्र भइरहेको बताउनुभयो। उहाँले घटनाको न्यायिक छानबिन हुनुपर्ने मागसमेत गर्नुभएको छ।
उहाँले भन्नुभयो, “कार्यालय समय नौ बजेअघि नै आएर हाजिर गरिरहेका कार्यालय सहयोगी यादवलाई नौ बजेपछि हाजिर गर्न भन्नासाथ उनी कार्यालय कक्षबाट बाहिर निस्कँदै गालीगलौज गर्न थाले। त्यसपछि आफूसँग रहेका दुई जनालाई उनलाई कार्यालयमै रोक्न आदेश दिएको मात्र हो, हातपात र कुटपिट गरिएको आरोप सरासर गलत हो।”