• १३ वैशाख २०८१, बिहिबार

पानी नपर्दा खेतमा धानबाली सुक्यो, उत्पादन घट्न सक्ने

blog

धानबाली खेतमै सुकेपछि चौपायालाई खुवाउन धानबाली काट्दै मर्चवारका किसान । तस्विरः लक्ष्मण पौडेल

लक्ष्मण पौडेल

भैरहवा, भदौ ६ गते । वर्षा नहुँदा रुपन्देहीका किसानले खेतमा लगाइएको धानबाली काटेर चौपायालाई खुवाउन थालेका छन् । खेतमै धानबाली सुक्न थालेपछि कम्तीमा चौपायालाई काम लाग्ने भन्दै किसानहरुले धानबाली काट्न थालेका हुन् ।

यसअघि समयमै वर्षा नहुँदा महँगाे मूल्यमा इन्धन खरिद गरी किसानहरुले जेनतेन रोपाइँ गरेका थिए । मलखाद तथा पानीको अभावमा खेती गरेका किसानका लागि अहिले अनावृष्टिले थप सङ्कट थपेको छ । जिल्लामा करिब एक महिना यता पानी परेको छैन । रोपाइँ गरिएको धानबाली पानीकाे अभावमा खेतमै सुक्न थालेको छ। 

जिल्लामा करिब एक महिना यता पानी परेको छैन । रोपाई गरिएको धानबाली पानी अभावमा खेतमै सुक्न थालेको छ। 

अहिले पानी हुनु पर्ने खेतमा धाँजा फाटेका छन् । खेत मात्रै हैन किसानले सिंचाइका लागि प्रयोग गर्ने पोखरी, तालतलैया पनि सुकेका छन् । जमिनमुनिबाट पानी तान्न खोज्दा बोरिङमा पानी नआएको किसानको भनाइ छ । कतैबाट पानीको आश नभएपछि अन्ततः हार मानेर किसानहरु अब भगवान भरोसा बसेको एक कृषकले बताउनुभयो । 

रुपन्देही मर्चवारी गाउँपालिका –६ की राधा कोहारले अहिले तराईमा सुखा (खडेरी) परेको बताउनुभयो । सुख्खाका कारण अब धान उत्पादन हुने आश मरेको उहाँको चिन्ता छ ।  त्यसै सुक्नुभन्दा भैसीलाई घाँस हुने भन्दै धान काटेको उहाँले बताउनुभयो । 

“पानी नपरेर खेतमा झार उम्रेको छ, अझै पानी पर्ने छाँटकाँट छैन” राधाले भन्नुभयो, “लगाएको बाली हामीलाई काम लागेन, कम्तीमा भैंसीलाई त खुवाउन हुन्छ ।” मर्चवारकै राम नरेश कोहारले अहिले इन्धन महँगाे भएको कारण खेतमा पानी लगाउन नसकेको बताउनुभयो । भएको रकम पनि रोपाइँमा सकिएको र अब बालबच्चालाई खुवाउने तथा पढाइ खर्चको जोहो गर्न मुस्किल परेको उहाँले बताउनुभयो ।  

मर्चवारकै राम नरेश कोहारले अहिले ईन्धन महँगाे भएको कारण खेतमा पानी लगाउन नसकेको बताउनुभयो । 

खडेरीको मारमा प्रायः सिञ्चित क्षेत्रमा पहुँच नपुगेका किसानहरु प्रभावित भएका छन् । मर्चवार, धकधई, लुम्बिनी क्षेत्रमा सिंचाइको पहुँच न्युन छ । जसका कारण यहाँका किसानहरु आकाशे पानीको भर पर्नेगरेका छन् । गतवर्ष अतिवृष्टिको मारमा परेका किसानहरु यस वर्ष वर्षा नै नभएपछि थप कष्ट भोग्न बाध्य भएका छन् । किसान दुनियापति यादवले अब वर्षा र धान सप्रने आशा नभएको बताउनुभयो । 

धान हुने आश मरेकाले सुक्खाग्रस्त जिल्ला घोषणा गरी राहत प्याकेज ल्याउनुपर्ने उहाँको माग छ । “केन्द्रीय, प्रदेश र स्थानीय सरकारले सुक्खाग्रस्त क्षेत्र घोषणा गरी राहत वितरण गर्नुप¥यो” यादवले भन्नुभयो । 

रुपन्देहीमा ८२ हजार ६२२ हेक्टर कुल खेतीयोग्य जमिनमध्ये ५८ हजार ३३७ हेक्टरमा मात्र अहिले धान खेती गरिएको छ । 

स्थानीय सरकारले यसमा पहल गर्नुपर्ने यादवको धारणा छ । “स्थानीय सरकार भनेको हाम्रो समस्यालाई नजिकबाट बुझ्ने सरकार हो, तत्कालको समस्याबाट आफ्नो जनतालाई जोगाउनेतर्फ लाग्नुपर्छ” उहाँले भन्नुभयो । समयमै वर्षा नहुँदा रुपन्देहीमा यस वर्ष किसानले जेनतेन ९० प्रतिशत मात्र रोपाई गरेको बताएका छन् । १० प्रतिशत रोपाइ  नहुँदा यसै पनि जिल्लामा धान उत्पादनमा कमी आउने किसानको बुझाइ छ । 

गत वर्ष ४.२ मेट्रिक टन प्रतिहेक्टर उत्पादकत्व दरले रुपन्देहीमा दुई लाख ७० हजार ७८२ मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र रुपन्देहीको तथ्याङ्क छ । यसवर्ष गतवर्षको तुलनामा १५ प्रतिशतले कमी आउने सम्भावना रहेको ज्ञान केन्द्रका सूचना अधिकारी अनिल बनियाले जानकारी दिनुभयो ।

रुपन्देहीमा ८२ हजार ६२२ हेक्टर कुल खेतीयोग्य जमिनमध्ये ५८ हजार ३३७ हेक्टरमा मात्र अहिले धान खेती गरिएको छ । यसमा पनि ५७ हजार ९८९ हेक्टरमा मात्र सिंचाइ सुविधा रहेको कृषि ज्ञान केन्द्रको भनाइ छ ।