• ३१ वैशाख २०८१, सोमबार

दिवेश पोखरेल विश्व सदभावना दूत नियुक्त

blog

गोरखापत्र अनलाइन

काठमाडौं, भदौ ५ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अमेरिकन आइडलको उपविजेता बन्न सफल गायक दिवेश पोखरेललाई नेपालको पर्यटनका लागि विश्व सदभावना दूत नियुक्त गरेको छ । आइतवार मन्त्रालयमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पोखरेललाई विश्व सद्भावना दूत नियुक्त गर्नुभएको हो ।  

कार्यक्रममा नेपाललाई विश्वसामु चिनाउन महत्वपूर्ण योगदान दिएकाले पोखरेललाई सम्मान गरिएको छ । पोखरेललाई नेपालको पर्यटनका लागि विश्व सदभावना दूत घोषणा गर्न पाउँदा खुशी लागेको बताउनुहुँदै मन्त्री श्रेष्ठले आफ्नै प्रतिभामार्फत नेपाललाई विश्वमा चिनाउन महत्वपूर्ण भुमिका खेलेको भन्दै प्रशंसा गर्नुभयो । 

काठमाडौंको रविभवनमा जन्मेर उच्च शिक्षा अध्ययनको सिलसिलामा सन् २०१४ मा अमेरिका जानुभएका पोखरेल ‘अमेरिकन आइडल’को स्टेजमा दमदार उपस्थिति जनाइ लोकप्रिय बन्नुभएको थियो । मन्त्री श्रेष्ठले विभिन्न विधामा रहेका नयाँ प्रतिभाहरुले नेपाललाई विश्वमै नयाँ पहिचान दिन सफल भएको बताउनुभयो । 

प्राकृतिक सुन्दरता जैविक तथा सांस्कृतिक विविधताले भरिपूर्ण नेपालमा रहेका सर्वोच शिखर सगरमाथा, भगवान् बुद्धको जन्मभूमि लुम्बिनी, सीताको जन्मस्थल जनकपुरसहित अन्य विभिन्न धार्मिक क्षेत्र पशुपतिनाथ, मुक्तिनाथका साथै अन्य प्राकृतिक र सांस्कृतिक सम्पदाको प्रचार प्रसारमा पोखरेलले भुमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । 

विश्व सदभावना दूत नियुक्त भएपछि पोखरेलले संगीतमार्फत नेपालको पर्यटन तथा संस्कृति प्रवर्धनमा सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।