• ६ साउन २०८१, आइतबार

गरिबीका कारण परिवारको बिजोग

blog

ढल्केबर समाचारदाता

ढल्केबर, भदौ ४ गते । धनुषाको शहीद नगरपालिका–५, पचहरवास्थित मुसहर टोलको एक मुसहर परिवार गरिबीका कारण बिचल्लीमा परेका छन्। मुसहर टोलका ३५ वर्षीय सत्रुधन सदाको परिवारका सदस्य खान, बस्न र लगाउने समस्याले बिचल्लीमा परेका हुन्। 

सदाको आर्थिक अवस्था दयनीय छ। बस्ने घरसमेत बनाउन नसक्दा विगत सात वर्षदेखि प्लाष्टिकले घेराबेरा गरिएको  छाप्रोमा सपरिवार बस्दै आएका छन्। प्लाष्टिकको छाप्रोमा वर्षा र शीतलहरको बेला निकै समस्या खेप्नुपर्छ। वर्षाको पानी जताततै चुहिन्छ। वर्षाको बेला बसेर समय बिताउनुपर्छ। त्यस्तै शीतलहरको समयमा बस्नै नसक्ने गरी चिसो लाग्ने सदाले बताउनुभयो। 

‘दुई छाक पेट भर्ने पैसा छैन। कसरी बनाउनु घर’ उहाँले दुखेसो सुनाउनुभयो। खुट्टाले अपाङ्तासमेत रहेका सदाको श्रीमती र चार छोराछोरीसहित छ जनाको परिवार छ। श्रीमती रेणुदेवी सदा पनि सुस्त मनस्थितिकी हुनुहुन्छ। 

सदाको एक महिनाको छोरा पनि छ। आर्थिक अवस्था नाजुक भएकै कारण दुधे बालक र छोराछोरीको राम्ररी स्याहारसमेत गर्न सकेको छैन। गाउँघरमा मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका सदाको परिवारका सदस्यले पेटभरि खान नपाएको वर्षौं भइसकेको छ। आङ छोप्न लत्ताकपडाको पनि उस्तै समस्या छ। 

मुसहर टोलको बीच बस्तीमा ऐलानी दुई धुर जमिनमा झुपडी बनाएर बस्नुभएका सदाले मजदुरीबाट सीमित आम्दानी हुने भएकाले परिवारको आवश्यकता पूरा गर्न नसकेको बताउनुहुन्छ। सात वर्षअघिसम्म सदाको खरले छाएको र बाँसको बेरा भएको घर थियो। हुरी बतासका कारण त्यो घर भत्किएपछि पुनः नयाँ घर बनाउने सादाको हैसियत पुगेन र त्रिपालको झुपडी बनाएर बस्दै आएका छिमेकी रामदयाल माझीले बताउनुभयो। “झुपडीको प्लाष्टिक पनि च्यातिन लागेको छ, खानेकुरा केही छैन, लत्ताकपडा छैन, ओढ्ने–ओछ्याउने कपडासमेत नहुँदा पराल ओछ्याएर सुत्न बाध्य छन्। सदा परिवारको बडो बिजोग छ,” उहाँले भन्नुभयो ।  

खान लगाउन अभावकै कारण सदाकी श्रीमती एक महिनाको दुधे बालक बोकेर गाउँघरमा माग्न पुग्छिन्। दया हुनेले अन्नपात दिन्छन् त्यही अन्नपात ल्याएर भोक टार्छन्, अर्का छिमेकी श्रीप्रसाद सदाले बताउनुभयो।  एक महिनाअघि सदाको श्रीमती त्यहीँ झुपडीमा सुत्केरी भएकी थिइन्। त्यतिखेर छिमकी महिलाले एक सातासम्म सुत्केरी र जन्मजात बच्चाको स्याहार गरेका थिए। सुत्केरीपश्चात् सुत्करी र जन्मजात बच्चालाई गरिने स्वास्थ्य जाँचसमेत गराएको छैन, स्कुल जाने उमेरका तीन छोराछोरीले पढ्नसमेत पाएका छैनन्, छिमेकी सदाले भन्नुभयो।