• ६ साउन २०८१, आइतबार

नगरको एम्बुलेन्स भाडा चर्को, काठमाडौँसम्मको बाइस हजार

blog

सर्लाही समाचारदाता

सर्लाही, भदौ ४ गते ।  सर्लाहीको दक्षिण–पश्चिम भेगस्थित बलरा नगरपालिकाले एम्बुलेन्समा चर्को भाडादर कायम गरेको छ। नगरपालिकाले आफूसँग रहेका एम्बुलेन्स न्यून आयस्रोत भएका नागरिकले प्रयोग गर्नै नसक्ने गरी भाडादर तय गरेको हो। अतिआवश्यकपर्ने एम्बुलेन्समा यसरी अत्यन्तै महँगो भाडा कायम गरिएपछि चौतर्फी आलोचना भइरहेको छ। 

नगरपालिकाले सूचना नै निकालेर एम्बुलेन्सको भाडादर सार्वजनिक गरेको हो। जसअनुसार बलरादेखि मुग्लिन–नारायणघाटको सडक हुँदै काठमाडौँसम्मको भाडा सबैभन्दा धेरै २२ हजार रुपियाँ कायम गरिएको छ। 

यस्तै काठमाडौँसम्म नै सिन्धुलीको बाटो भएर बिरामी लैजाँदा १८ हजार रुपियाँ र भीमफेदीको बाटो भएर लैजाँदा १५ हजार रुपियाँ भाडा तोकिएको छ। धरान र विराटनगरसम्मको भाडा पनि १५ हजार रुपियाँ तोकिएको छ। 

यसैगरी विरगञ्जसम्मका लागि नयाँरोडको बाटो भएर जाँदा आठ हजार रुपियाँ र मौलापुर रौतहट भएर जाँदा सात हजार रुपियाँ भाडा कायम गरिएको छ। त्यसैगरी चितवनसम्मको १३ हजार रुपियाँ, जनकपुरसम्मको आठ हजार रुपियाँ, भारत पटनासम्मको १३ हजार रुपियाँ, सीतामढीसम्मको तीन हजार पाँच सय रुपियाँ, बरहथवा र मलङ्गवासम्मको दुई हजार रुपियाँ र नगरभित्रका स्वास्थ्य संस्थासम्म बिरामी पु-याउँदा एक हजार रुपियाँ भाडा तोकिएको छ। 

बलराका नगरप्रमुख रामाशङ्कर प्रसाद कुशवाहाले इन्धनको मूल्य बढेकाले सोहीअनुसार एम्बुलेन्स भाडा कायम गरिएको बताउनुभयो। उहाँले नगरपालिकाको कुनै आयस्रोत नै नरहेकाले एम्बुलेन्स प्रयोगबापत महँगीअनुसार भाडा उठाउनैपर्ने अवस्था रहेको बताउनुभएको छ। 

“एम्बुलेन्स सञ्चालनको खर्च धान्न निकै गाह्रो छ, नगरपालिकाको आन्तरिक आम्दानी खासै नरहेकाले निःशुल्क गर्न सक्ने अवस्था छैन,” नगरप्रमुख कुशवाहाले भन्नुभयो, “केही दिनअघि योभन्दा पनि बढी भाडा तोकेका थियौँ, त्यसमा धेरै गुनासो आएपछि अहिले थोरै घटाएका छौँ, यो त पेट्रोलियम पदार्थमा भइरहेको मूल्यवृद्धिअनुसार ठीकै हो।” नगरपालिकाको एम्बुलेन्समा सुत्केरीलाई नगरभित्रका बर्थिङ सेन्टरसम्म लैजाँदा निःशुल्क र ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने गरिएको नगरपालिकाले जनाएको छ। 

बलरा नगरपालिकामा बलरा, डुमरिया र अचलगढ गरी तीन स्थानमा बर्थिङ सेन्टर रहेका छन्। त्यहाँ नगरपालिकाका तीनवटा एम्बुलेन्समध्ये दुईवटा एम्बुलेन्स बिग्रिएर थन्किएका छन्। हाल एउटा एम्बुलेन्समात्रै सञ्चालनमा छ। 

नगरप्रमुख कुशवाहाका अनुसार बिग्रिएका दुईवटा एम्बुलेन्समध्ये चार/पाँच वर्षदेखि थन्काइएको एउटा एम्बुलेन्स मर्मत गर्दा पनि सञ्चालन हुने अवस्थामा छैन। केही समयअघि बिग्रिएको अर्को एउटा एम्बुलेन्स भने मर्मत गरेर सञ्चालन गर्ने तयारी भइरहेको नगरप्रमुख कुशवाहाले बताउनुभयो। 

बलरा नगरपालिकाका बासिन्दासमेत रहनुभएका जिल्ला समन्वय समिति सर्लाहीका सभापति कौशलकिशोर सिंहले एम्बुलेन्सको भाडादर व्यवहारिक नभएको बताउनुभएको छ। बिरामी परेर समस्यामा परेको समयमा प्रयोग गर्नुपर्ने एम्बुलेन्समा सहुलियत दिनुपर्ने ठाउँमा उल्टै चर्को भाडा असुल्नु गलत भएको सिंहको भनाइ छ। 

“यो त निजी एम्बुलेन्सको भन्दा पनि चर्को भाडा हो, बरु निजी एम्बुलेन्सको भाडा दुई/चार हजार सस्तो नै छ,” जिसस प्रमुख सिंहले भन्नुभयो, “भाडा तोक्ने विषयमा मसँग त कुनै कुरा भएको छैन, मैले पनि सामाजिक सञ्जालमा हेरेरै थाहा पाएँ, नागरिकलाई मारपर्ने काम भएको छ।” जिल्लामा एम्बुलेन्सको भाडादर प्रमुख जिल्ला अधिकारी (सीडीओ)को संयोजकत्वमा रहेको समितिले तोक्ने गर्छ। 

सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले बलरा नगरपालिकाले एम्बुलेन्सको बेग्लै भाडादर तोकेकोबारे आफूलाई जानकारी नरहेको बताउनुभएको छ।