• १३ साउन २०८१, आइतबार

एक महिनापछि खुल्यो दक्षिण जोड्ने सडक

blog

एक महिनापछि बागलुङ मालढुङ्गा–कुश्मिसेरा सडकमा सवारी । तस्बिर : नवीन शिशिर विक

नवीन शिशिर विक
बागलुङ, भदौ ३ गते ।
बागलुङको दक्षिण भेग जोड्ने मुख्य सडक अवरुद्ध भएको एक महिनापछि पुनः सञ्चालनमा आएको छ । बागलुङ नगरपालिका–१० भकुण्डे दब्लाङ गएको ठूलो पहिरोले रोकिएको बागलुङ मालढुङ्गा–कुश्मिसेरा सडकमा पहिरो हटाएर एकतर्फी रुपमा यातायात सञ्चालनमा आएको हो ।

बागलुङ–कुश्मिसेरा सडक जिल्ला सदरमुकामदेखि दक्षिण भाग जोड्ने पहिलो सडक सञ्जाल हो । बागलुङ नगरपालिका–१२ का भीमबहादुर पाठक ‘रामु’, र ज्ञानेन्द्र ढकालको नेतृत्वमा बानपा–१ का यादव शर्मा र बलेवा क्षेत्रका स्थानियको सहयोगमा उक्त सडक सुचारु गरिएको भीमबहादुर पाठक जानकारी दिनुभयो । 

गत असारबाट बारम्बार अवरोध हुँदै आएको सडक साउनको पहिलो सातादेखि पूर्णरुपमा ठप्प भएको थियो । पहिरोले तीन ठाउँमा अवरोध पर्दा सडक निर्माणमा कठिन भएको थियो ।

सडक सुचारु गर्नका निम्ति बागलुङ नगरपालिकालाई आग्रह गरे पनि नगरपालिको खासै चासो नदेखाएको कारण आफुहरुले नेतृत्व गरेर सडक सुचारु गरेको पाठकले जानकारी दिनुभयो । करिब ८ घण्टामा झण्डै ३० हजार रुपियाँ खर्च गरेर सडक सुचारु गरिएको पाठकको भनाइ छ ।

पछिल्लो समय वर्षा नभएपछि बागलुङ नगरपालिका कार्यालयको जेसिबीले पहिलो हटाएपछि शुक्रबारबाट सडक सुचारु भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले जानकारी दिनुभयो ।

उक्त सडक अवरुद्ध भएसँगै बागलुङको दक्षिण भेगका जनताले सास्ती खेप्नु परेको थियो । कालिगण्डकी करिडोर सडक खण्ड वैकल्पिक मार्गको रुपमा रहे पनि पूरै हिलाम्य रहेका कारण कष्टकर यात्रा गर्नुपर्ने बाध्यता थियो । सडक सञ्चालनमा आएसँगै जिल्लाको दक्षिण जैमिनी, बरेङ बलेवा क्षेत्र र भकुण्डेका सर्वसाधारणलाई राहत भएको छ ।