• ६ साउन २०८१, आइतबार

बँदेलका लागि थापेकाे पासाेमा परेर चितुवा मर्याे

blog

पासोमा फसेको चितुवा । तस्बिर : गोकर्ण दयाल

गोकर्ण दयाल

बैतडी, भदौ १ गते । जङ्गली बँदेलका लागि मकैबारीमा थापेको पासोमा परेकाे चितुवा मरेकाे छ । बैतडीको दशरथचन्द नगरपालिका –४, बिनासौं गाउँमा मङ्गलबार बिहान पासोमा फसेको चितुवा दिउँसाे १ बजे मरेको हाे।

पासोमा फसेको चितुवाको उद्धारका लागि बर्दिया राष्ट्रिय निकुञ्जबाट प्राविधिक टोली बैतडी नपुग्दै चितुवा मरेकाे  डिभिजन वन कार्यालय बैतडीका अधिकृत श्यामसुन्दर माझीले जानकारी दिनुभयाे ।  

उहाँले भन्नुभयो, “मकैबारीमा बँदेलका लागि थापेको पासोमा चितुवाको पछाडितर्फको भाग च्यापिएकाे थियो । पासोमा परेको चितुवा आत्तिदा फलामको तारले पेट काटिएको छ । धेरै रगत बगेपछि उद्धार गर्ने प्रयास गर्दागर्दै चितुवा मरेकाे हाे ।”

पासोमा परेर ११ चितुवा मरिसके  

पासोमा परेर बैतडीमा अहिलेसम्म ११ वटा चितुवा मरिसकेको डिभिजन वन कार्यालय बैतडीका प्रमुख भीमप्रसाद कँडेलले बताउनुभयो । उहाँका अनुसार बैतडीमा चितुवाको आक्रमणमा परेर २७ जना मानिसको मृत्यु भइसकेको छ । 

उहाँले भन्नुभयो, “बैतडीमा मानव र वन्यजन्तुबीच द्वन्द्व चलिरहेको छ । पासो थापेर मान्छेले बँदेलको शिकार गर्न थालेपछि चितुवाले मान्छे खान थालेको डरलाग्दोक्रम बढेको छ । डिभिजन वन कार्यालयसँग मानव–वन्यजन्तुको द्वन्द्व घटाउने विषयमा कुनै कार्यक्रम छैन ।” 

पासोमा परेको चितुवाको उद्धार गर्न बर्दिया र चितवनलाई गुहार्नु पर्ने अवस्था रहेको डिभिजन वन कार्यालय बैतडीले जनाएको छ ।