• ६ साउन २०८१, आइतबार

बँदेलका लागि थापेको पासोमा चितुवा फस्यो

blog

बँदेलका लागि थापेको पासोमा परेको चितुवा । तस्बिर : गोकर्ण दयाल

गोकर्ण दयाल
बैतडी, भदौ १ गते ।
जङ्गली बँदेलका लागि थापेको पासोमा चितुवा परेको छ । बैतडीको दशरथचन्द नगरपालिका –४ बिनासौं गाउँमा स्थानीयले बँदेलका लागि मकैबारीमा थापेको पासोमा चितुव फसेको हो ।

डिभिजन कार्यालय बैतडीका अधिकृत श्यामसुन्दर माझीले पासोमा फसेको चितुवाको जिवितै उद्धारका लागि बर्दिया राष्ट्रिय निकुञ्जबाट प्राविधिक टोली बैतडी आउँदै गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो,“मकै बारीमा बँदेलका लागि थापेको पासोमा चितुवाको पछाडितर्फको भाग फसेको छ । चितुवा जिवित छ । घटनास्थलमा मान्छेको भीड बढेन थालेपछि चितुवा आत्तिन थालेकाले घटनास्थलमा कसैलाई पनि जान दिइएको छैन ।’’

चितुवाको फोटो खिच्नको भीड बढेपछि सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई तैनाथ गरिएका उहाँले बताउनुभयो । अधिकृत माझीले चितुवालाई डार्टिङ (बेहोस) गरेर बुधबार साँझसम्म उद्धार गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।

पासोमा परेर बैतडीमा ११ चितुवा मरे  
पासोमा परेर बैतडीमा हालसम्म ११ वटा चितुवा मरिसकेको डिभिजन वन कार्यालय बैतडीले जनाएको छ ।

डिभिजनका प्रमुख भीमप्रसाद कँडेलले बैतडीमा हालसम्म ११ वटा चितुवा मरेका छन् भने चितुवाको  आक्रमणबाट २७ जना मानिसको मृत्यु भइसकेको छ ।

उहाँले भन्नुभयो,“बैतडीमा मानव र वन्यजन्तुबीच द्वन्द्व चलिरहेको छ । पासो थापेर मान्छेले बँदेलको शिकार गर्न थालेपछि चितुवाले मान्छे खान थालेको डरलाग्दो क्रम बढेको छ । डिभिजन वन कार्यलयसँग मानव–वन्यजन्तुको द्वन्द्व घटाउने विषयमा कुनै कार्यक्रम छैन ।”

पासोमा परेको चितुवाको उद्धार गर्न पनि बर्दिया र चितवनलाई गुहार्नु पर्ने अवस्था रहेको कार्यालयले जनाएको छ ।