• २१ वैशाख २०८१, शुक्रबार

१३ घण्टा प्रसव व्यथापछि जन्मिए जुम्ल्याहा शिशु

blog

जुम्ल्याहा शिशुका साथ जनपुरा खड्का । तस्बिर : गोरखापत्र

राजन रावत 

हुम्ला, भदौ १ गते । हुम्ला ताँजाकोट गाउँपालिका–१ काँडा गाउँकी जनपुरा खड्काले १३ घण्टा लामो प्रसव व्यथापछि जुम्ल्याहा शिशुको जन्म दिनुभएको छ । खड्काले व्यथा लागेको १३ घण्टापछि मैला स्वास्थ्य चौकीको प्रसूतिगृहमा जुम्ल्याहा बच्चा जन्माउन सफल हुनुभएको हो । 

स्वास्थ्य चौकीका इन्चार्ज धनराज ढकालले निक्कै लामो प्रयासपछि व्यथा लागेकी खड्कालाई सुत्केरी गराउन सफल भएको बताउनुुभयो । व्यथाले छटपटिएको अवस्थामा उहाँलाई स्वास्थ्य चौकीमा ल्याइएको थियो । 

खड्काको उपचारमा प्रसूतिगृहमा तालिमप्राप्त पाँच जना स्वास्थ्यकर्मी खटिनुभएको थियो । ढकालका अनुसार जुम्ल्याहा बच्चा भएको र लामो समय व्यथा लागेकोले सुत्केरी गराउन कठिन भएको हो । ‘यसबीचमा सुर्खेतस्थित गाइनो चिकित्सकसँग पनि परामर्श लिइयो । जिल्ला बाहिर रिफर गर्ने तयारी भइरहेको बेला अचानक बच्चा जन्मियो,’ ढकालले भन्नुभयो ।

हाल आमा र दुवै शिशुको स्वास्थ्य अवस्था सामान्य छ । साउन महिनामा मात्र उक्त स्वास्थ्य चौकीले नौ जना गर्भवतीलाई सकुशल सुत्केरी गराएको जनाएको छ । यसबीचमा एक जनालाई जिल्लाबाहिर रिफर गर्नुपरेको थियो ।