• १० मंसिर २०८१, सोमबार

भारतमा आठ हजार ८१३ जना कोरोना सङ्क्रमित

blog

नयाँदिल्ली, साउन ३१ गते । भारतमा एकै दिनमा आठ हजार ८१३ बढी कोरोना भाइरस सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार सार्वजनिक गरेको छ । भारतमा एक दिन अगाडि १४ हजार ९१७ सङ्क्रमित भएका थिए । 

कोरोना सुरु भएबाट हालसम्म पाँच लाख २७ हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । भारतमा हिजो एक दिनमा १५ हजार ४० जना कोरोनामुक्त भएका छन् । यसैसँगै कुल चार करोड ३६ लाख ३८ हजार आठ सय ४४ जना कोरोनामुक्त भएका छन् ।

दैनिक सङ्क्रमितको सङ्ख्यामा उतारचढाव भइरहेको छ । भारतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख १७ हजार ५०८  छ ।

नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमित घटेका छन् । भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो ।

सो समयबाट हालसम्म दुई अर्ब आठ करोडभन्दा बढी मात्रा खोप लगाइएको छ । भारतमा कोरोना सुरु भएयता हालसमम ८८ करोड ६० भन्दा बढीको कोरोना भाइरस परीक्षण भएको जनाइएको छ ।  रासस/सिन्ह