• ९ पुस २०८१, मङ्गलबार

साढे दुई लाख क्विन्टल चामल ढुवानी

blog

काठमाडौँ, साउन ३१ गते । सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दुर्गम तथा पहाडी जिल्लाका लागि साढे दुई लाख क्विन्टलभन्दा बढी चामल ढुवानी गरेको छ ।  कम्पनीले आव २०७८/७९ मा २४ दुर्गम तथा पहाडी जिल्लामा तीन लाख आठ हजार क्विन्टल चामल ढुवानी गर्ने लक्ष्य राखेकामा दुई लाख ५४ हजार ६२९ क्विन्टल चामल ढुवानी गरेको हो । गत आर्थिक वर्षका लागि सरकारले दुर्गम र पहाडी जिल्लामा चामल ढुवानी गर्न ४६ करोड रुपियाँ विनियोजन गरेको थियो । 

कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले कतिपय ठाउँमा चामल पुग्न बाँकी रहेको बताउनुभयो । कम्पनीले सडक र हवाई मार्गबाट चामल ढुवानी गर्दै आएको छ । 

कम्पनीका अनुसार कैलालीको धनगढीमा नौ हजार ४८४ क्विन्टल, दाङको तुलसीपुरमा सात हजार ७६१ क्विन्टल, सुर्खेतमा १८ हजार ३७३ क्विन्टल, सोलुखुम्बुमा पाँच हजार ४८९ क्विन्टल र ओखलढुङ्गामा सात सय क्विन्टल चामल ढुवानी भएको कम्पनीले जनाएको छ । 

यसैगरी खोटाङमा एक हजार ९१ क्विन्टल, गोरखामा छ हजार १९५ क्विन्टल, मुस्ताङमा दुई हजार २६८ क्विन्टल, रुकुमपूर्वमा एक हजार ५२६ क्विन्टल र रुकुमपश्चिममा एक हजार ४०७ क्विन्टल भएको कम्पनीले जनाएको छ । रोल्पामा ५१० क्विन्टल, जाजरकोटमा १३ हजार २१९ क्विन्टल, दैलेखमा एक हजार ९१० क्विन्टल, जुम्लामा सात हजार १५६ क्विन्टल, कालीकोटमा तीन हजार २३२ क्विन्टल, मुगुमा १२ हजार ३९८ क्विन्टल र हुम्लामा दुई हजार क्विन्टल चामल ढुवानी भएको छ । 

यस्तै डोल्पामा १३ हजार ५१८ क्विन्टल, बझाङमा छ हजार ९६१ क्विन्टल, बाजुरामा २१ हजार ३०१ क्विन्टल, अछाममा पाँच हजार ७५४ क्विन्टल, दार्चुलामा सात हजार ८०७ र बैतडीमा एक हजार ८२६ क्विन्टल चामल ढुवानी भएको कम्पनीले जनाएको छ ।  

कम्पनीले चामल, दाल, तेल, गेडागुडीलगायतका खाद्यवस्तु बिक्री वितरण गर्दै आएको छ । उपभोक्तालाई राहत दिन बजार मूूल्यभन्दा सस्तोमा बिक्री गर्ने गरेको कम्पनीले जनाएको छ ।