• ८ वैशाख २०८१, शनिबार

सूर्योदयमा सिसाको पुल निर्माण हुँदै

blog

इलामको सूर्योदय नगरपालिकाले नयाँ पर्यटकीय गन्तव्यका रुपमा सिसाको पुल (ग्लास ब्रिज)सहितको साइकल रुट निर्माण हुँदै ।

प्रेम अधिकारी
पशुपतिनगर(इलाम), साउन ३० गते ।
इलामको सूर्योदय नगरपालिकाले नयाँ पर्यटकीय गन्तव्यका रुपमा सिसाको पुल (ग्लास ब्रिज)सहितको साइकल रुट निर्माण गर्ने भएको छ ।

पर्यटकलाई थप आकर्षित गर्नका लागि नगरले शान्तिचोकमा सिसाको पुल निर्माण गरी कन्यामदेखि पूर्णे डाँडासम्म १२ किलोमिटर साइलक रुट निर्माणको काम शुरु गरेको हो । नगरका अनुसार एक वर्ष भित्रमा सञ्चालनमा आउने गरी सिसाको पुल र साइकल रुस निर्माण थालिएको हो ।

पुल र साइकल रुट सञ्चालमा आएपछि देशभरका साइकलयात्रीले इलामको सौन्दर्य हेर्दै नागवेली पथमा यात्रा गर्न पाउनेछन् । पर्यटकलाई नयाँपन दिनका लागि नयाँ योजना सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।

नगरका आर्किटेक इन्जिनियर सिर्जन गदालले सूर्योदय नगरपालिकाको सात करोड ५० लाख, प्रदेश नम्बर १ सरकारको नवप्रवर्धन साझेदारी कोषको एक करोड ५० लाख र वित्तीय हस्तान्तरणअन्तर्गत समपूरक अनुदानको एक करोड गरी काम सम्पन्न गर्दा जम्मा १० करोड रुपियाँ खर्च हुँने जानकारी दिनु भयो ।

सूर्योदय नगरपालिका –६ को कन्याममा रहेको डुँडे गैरादेखि सूर्योदय नगरपालिका –११ को पूर्णेडाँडासम्म साइकल रुट निर्माण हुने इन्जिनियर गदालले बताउनुभयो ।

गत जेठ ११ मा नगरपालिका र नवप्रवर्धन साझेदारी कोषबीच सम्झौता भएपछि मार्गको प्रारम्भिक काम सुरु भएको थियो । परियोजनाको कुल लागत सात करोड ५५ लाख अनुमान गरे पनि सिसाको पुलको लागत बढ्ने भएपछि परियोजनाको लागत १० करोड पुगेको जनाइएको छ । उक्त साइकल रुट निर्माणले स्थानीय चार हजार ८७५ परिवारको आयआर्जनमा सहयोग पुग्ने जनाइएको छ ।

नगर प्रमुख रणबहादुर राईले नगरले पर्यटकलाई थप आकर्षित गर्नका लागि ग्लास ब्रिज र साइकल रुटको काम थालिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘पर्यटकको रोजाइमा रहेको सूर्योदयमा ग्लास ब्रिज र साइकल रुटले देशभरका पर्यटकको ध्यान तान्नेछ ।’’

परियोजनाअन्तर्गत नगरपालिकाको शान्तिचोकमा रहेको मानेडाँडामा १५० मिटर लामो ग्लास ब्रिज निर्माण निर्माण गरिनेछ । त्यस्तैै, लोपोन्मुख लेप्चाजातिको सङ्ग्रहालय स्थापना गरिनेछ । परियोजनाले मन्यूमेन्ट पार्क र हेल्थ पार्कसमेत निर्माण गर्नेछ । उक्त परियोजनाभित्रै कन्याम लगायतका स्थामा चारवटा शौचालय निर्माण गरिनेछ ।

उक्त परियोजनाले पर्यटन क्षेत्रलाई थप व्यावसायिक बनाउनका लागि अर्गानिक उत्पादनसम्बन्धी सचेतना कार्यक्रम, स्थानीय खाद्य परिकार तयारीसम्बन्धी र जैविक मल उत्पादनसम्बन्धी तालिम कार्यक्रम सञ्चालन गर्ने योजना छ । इन्जिनियर गदालले उक्त परियोजना जिल्लामै पर्यटकका लागि ‘नयाँ प्रोडक्ट’ भएको जानकारी दिनुभयो । नगरपालिकाले यस अघि नै कन्याम र अन्तुको ब्युटिफिकेशन गरिसकेको छ ।