• १२ मंसिर २०८१, बुधबार

संवाद बाली र माटो

blog

किसानको खेतमा गहुँ लह लह पाकेका थिए । गहुँ फलेको भूमिले गहुँसँग आफ्ना मनको भाव प्रकट गर्न थाले भूमिले भने, “तिमीहरूलाई अब किसानले बाला भित्र्याउँछन ।” अब किसानले यो भूमिमा धान रोप्छन, त्यो धान म अघि अघिको भन्दा बढी फलाउने मन छ । गहुँहरूले सोधे, “किन भूमि आमा ? हामीभन्दा धानलाई माया ।” 

भूमिले भनिन्, “तिमीहरूलाई पनि मैले निकै माया गर्छु, पीर नगर । धान भनेको देव पितृलाई अक्षता पनि हुन्छ, धानको पनि काम छ उनलाई धान्यलक्ष्मी पनि भन्छन ।

अरू किसानजस्ता मेरो किसान छैनन् उपकारी र मनकारी छन् उनी । म बसेको भन्दा उत्तरतिर हेर केही पनि नरोपेको चौर छ । त्यहाँको घाँसले किसानका गाईभैँसी हृष्टपुष्ट छन् । किसानले मलाई विकासे मल खाना खान दिँदैनन् । त्यही गाईभैँसीका अर्गानिक मल खान दिन्छन् । मलाई अलि समस्या इन्द्र महाराजले पार्छन् । समयमा कहिलेकाहीँ पानी दिँदैनन् । 

मेरो किसानले हरेक असार १५ मा मेरो छाती अङ्गभरि धान रोप्छन् । रोपाहार (महिलाहरू) अरू किसानको काम छाडेर पनि मलाई हरियाली सजाउन आउँछन्, लाठेले कोदाली ल्याई मेरा वरिपरि छरिएका गाँठागुँठी मिलाउँछन् । रोपाहारलाइ रोप्न माटो नरम होस् भनेर गौमाताका बलिया पुत्रहरू (गोरु)लाई हिडाउँछन् । रोपाहारलाई सजिलो पार्छन् ।

दिनमा खाजा खान अरू किसानले टार्ने पु-याउने लोभ गर्छन् भने मलाई बीउबिजन दिने किसानले मन फुकाएर राम्रा डोला चिउरा र दही अनि थरीथरीका अचार तरकारी ल्याउँछन् । मैले अघि भनेको चौरमा बसेर सबै काम गर्ने खेतालालाई थपी थपी खाजा  खुवाउँछन् । त्यसपछि नरिवल, मिश्री, छोकडा पनि बाँड्छन् ।


मेरा त्यस्ता मनकारी किसानलाई मेरा बल बुँताले भ्याएसम्म धेरै अन्न दिन म लाग्छ । के गर्नु मैले मात्र चाहेर नहुने रहेछ । इन्द्र महाराजले मलाई तिर्खा लाग्दा पानी समयसमयमा दिँदै गए म मेरा किसानलाई धेरैभन्दा धेरै अन्न दिन्थेँ । धान रोप्ने दिन बिहानै सबै  घरपरिवार राम्रा भएर आउँछन् । मेरो अङ्ग अङ्गमा चारैतिर पूजा गर्छन् मलाई । म पनि मक्ख पर्छु,  पानीले भिजेको हिलो मेरो शरीरका माटो सबैले भूमिमाताको प्रसाद भनेर टीका पनि लगाउँछन । यत्तिको भूमिको सम्मान अरू किसानले गर्न जानेका छैनन् । 

काम गर्ने खेतालालाई किसानले महारानी भनेर मान गर्छन् । दिनभरि निहुरिएर खेतमा धान रोप्दा थकाइ त ती महारानीहरूलाइ पनि लाग्छ भन्ने दया गरेर फुका चिउरा नखाओ दही चाहिँ माग भन्छन् । दहीमा घिउको भाग हुन्छ । विशेष रोग नभएकालाइ दहीले  खाना पचाउने काम गर्छ शक्ति पनि दिन्छ । यस्ता दयालु किसानलाई मैले दया नगरे कसले गर्छ ? भूमिका कुरा गहुँले सुनिरहे ।

अहिले पनि असार १५ दही चिउरा खाने चलन छ र खानुअघि आफूले मानी आएका देवी देवतालाई चढाउने पनि गरिन्छ ।