• ३० असोज २०८२, बिहिबार

युवा मतदाताकाे सङ्ख्या थपिँदै

blog

मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराउनु हुँदै फतुवा विजयपुर नगरपालिका–७ का २२ वर्षीय अर्चना अधिकारि । तस्बिर : प्रवीण कुमार शर्मा

प्रवीण कुमार शर्मा 

चन्द्रपुर (रौतहट), असोज ३० गते । रौतहटमा दिनहुँ युवा मतदाताको संख्या थपिँदै गएको छ । जिल्ला निर्वाचन कार्यालय रौतहटले मतदाता नामावली सङ्कलन कार्यलाई तीव्रता दिए संगै दिनहुँ सयौंको संख्यामा मतदाता थपिने क्रम जारि रहेको छ । 

फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी जारि मतदाता नामावली सङ्कलनमा युवाहरु बढि चासो लिएको जिल्ला निर्वाचन कार्यालय रौतहटका जिल्ला निर्वाचन अधिकारि छोटेलाल दाशले बताउनुभयो ।

जेनजी पुस्तालाई मतदानमा बढि भन्दा बढी आफ्नो मताधिकार प्रयोग गर्न पाउने गरी सरकारले अध्यादेश ल्याएर मतदाता नामावली सङ्कलन कार्य अघि बढाएको हो । असोज १० गतेदेखि सुरु भएको मतदाता नामावली संकलन कार्य  आगामी कात्तिक ३० गतेसम्म सञ्चालन हुने जिल्ला निर्वाचन अधिकृत दाशले जानकारी दिनुभयो । 

जिल्ला निर्वाचन कार्यालय रौतहटका अनुसार २०७९ सालको निर्वाचनमा रौतहटमा पुरुष मतदाता २ लाख २७ हजार २ सय २९ ,महिला मतदाता १ लाख ८८ हजार २ सय २५ र तेस्रो लिंगी मतदाता एक जना गरि कुल ४ लाख १५ हजार ४ सय ५५ मतदाता रहेको थियो ।

२०८२ फाल्गुन २१ गते निर्वाचनको मिति तोकिँदासम्म रौतहटमा ४ लाख २१ हजार ६ सय ९३ मतदाता भएको थियो । २०७९ को निर्वाचनको समय भन्दा ६ हजार २ सय ३८ वटा मतदाता थपिएको जिल्ला निर्वाचन अधिकारि दाशले बताउनुभयो ।

असोज १० गतेदेखि २९ गतेसम्म ५ सय ३१ पुरुष  मतदाता र २ सय ८५ महिला मतदाता गरि ८ सय १६ मतदाता थपिएको उहाँले जानकारी दिनुभयो । दसैँ बिदाका कारण पुर्ण रुपमा बन्द रहेको मतदाता नामावली संकलन कार्य  बाढिका कारण समेत केहि दिन प्रभावित रहेको थियो । 

१६ वर्ष पूरा भएका र नेपाली नागरिकता प्राप्त गरेका व्यक्तिले मतदाता नामावलीमा नाम दर्ता गराउन सक्ने  जिल्ला निर्वाचन अधिकारी दाशले जानकारी दिनुभयो । 

निर्वाचन आयोगले  जिल्ला निर्वाचन कार्यालयबाट मात्रै मतदाता नामावली दर्ताको व्यवस्था मिलाएको छ । जिल्लाभरका नागरिकलाई मतदाता नामावलीका लागि सदरमुकाम गौरस्थित जिल्ला निर्वाचन कार्यालयमै पुग्नुपर्दा भने सास्ती भएको छ । जिल्ला निर्वाचन कार्यालयसँगै, इलाका प्रशासन कार्यालय र प्रत्येक स्थानिय तह बाट मतदाता नामावली संकलन कार्यको व्यवस्था सरकारले गर्न सके  फागुन २१ गते हुने निर्वाचनमा जेनाजी पुस्ताको उल्लेख्य सहभागिता हुने दुर्गाभगवति –२ का अनिश कुमार महतोले बताउनुभयो  ।